२०८० जेठ ३१ गते १५:२६ सन्तोष रोकाया
काठमाडौं । ‘म सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाको २०६७ सालदेखि हालसम्मको अध्यक्ष हुँ, आर्थिक कारोबार इच्छाराज तामाङले हेर्नुहुन्छ भने प्राविधिक कार्य मात्र मैले हेर्ने गरेको छु, तामाङ सिभिल बैंकको अध्यक्ष भएपछि मलाई अध्यक्ष बनाइएको हो, म सिभिल सहकारीमा नाम मात्रको अध्यक्षको रुपमा बसेको हुँ,’ यो सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठको बयान हो ।
सिभिल सहकारीका बचतकर्ताको बचत ठगेको आरोपमा प्रहरीले पक्राउ गरेपछि श्रेष्ठले दिएको बयान हो यो । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित अध्यक्ष श्रेष्ठ, तामाङकी श्रीमती सिर्जना तामाङ अहिले हिरासतमा छन् । उनीहरुमाथि बचतकर्ताको पौने ६ अर्ब रकम ठगेको आरोप छ ।
बचतकर्ताको रकम हिनामिना गरेपछि तामाङले आफ्नो नजिकको पात्र केशवलाई अध्यक्ष बनाए । तर, आर्थिक कारोबार आफैले हेरे । अध्यक्ष बन्न पाएँ भनेर हौसिएका केशवलाल अन्ततः हिरासतमा पुगे ।
यस्तै, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष केदार शर्माको कहानी पनि त्यस्तै छ । सँगै दुई सहकारी सञ्चालन गरिरहेका शर्माले विराटनगरमा तुलसी बहुमुखी सहकारी संस्था सञ्चालन गर्छन् । जसको अध्यक्ष उनी आफै छन् । तर, दुइटै संस्थाको अध्यक्ष बन्न नपाइने भएपछि उनले शिवशिखरको अध्यक्षको जिम्मेवारी सुशिल बानियाँलाई दिए । बानियाँ सहकारीको कर्मचारी थिए । उनलाई अध्यक्षको जिम्मेवारी दिइयो ।
शर्माले शिवशिखर सहकारीको आर्थिक कारोबारको साँचो भने आफ्नै हातमा राखे । सहकारीका बचतकर्ताको बचत मनलाग्दी किसिमले आफ्नो तीन दर्जन बढी कम्पनीहरुमा लगानी गरे । बचतकर्ताको १४ अर्ब बचत घरजग्गा र व्यक्तिगत कम्पनीमा गरेपछि अन्ततः त्यो क्षेत्रमा समस्या सिर्जना भयो । र, त्यसको असर सहकारीमा पर्यो ।
बचतकर्ताले बचत फिर्ताको लागि आग्रह गरेपनि सहकारीले फिर्ता गर्न सकेन । एकपछि अर्को बचतकर्ताहरु सहकारीमा पुग्न थालेपछि धमाधम सेवा केन्द्रहरु बन्द भए । बचत फिर्ता गर्न नसकेपछि उनी भाग्न विवश भए ।
अहिले शिवशिखर बहुउद्धेश्यिय सहकारीको बचतकर्ता ठगीको विषयमा केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान गरिरहेको छ । सिआईबीका अनुसार सहकारीका सञ्चालकहरुले बचतकर्ताको १४ अर्ब बढी रुपैयाँ हिनामिना गरेका छन् ।
‘हामीले शिवशिखरको घटनालाई चरणवद्ध रुपमा अनुसन्धान गरिरहेका छौं, पहिलो चरणमा भक्तपुरको निक्षेपकर्ताको मात्रै जाहेरी दर्ता गरेर अनुसन्धान गर्यौं, त्यो अनुसन्धानबाट साढे ६६ करोड रुपैयाँ बिगो दाबीसहित सरकारी वकिल कार्यालयमा बुझाएका छौँ, अझैं पनि अनुसन्धान भइरहेको छ,’ सिआईबीका प्रवक्ता संजयसिंह थापाले भने ।
केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिवशिखर बहुउद्धेश्यिय सहकारीका सञ्चालक केदार शर्माकी श्रीमती गीता शर्मासहित सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पक्राउ गरिसकेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
यस्तै, नियत भएको नेतृत्व गतिशील बचत तथा ऋण सहकारी संस्थामा पनि छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षबाट बाहिरिएर डा. बलराम पाठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए विकास थापालाई ।
अहिले उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुन् । बैंकको अध्यक्ष बनेपनि उनले सहकारीको अध्यक्ष भने छोडेका छैनन् । सहकारीको साँचो आफ्नो हातमा राखेर उनले आफ्नो स्वार्थको निर्णय सहकारीमा गराउँदा गतिशिल अहिले अगतिशिल सहकारी बनेको छ ।
पाठकले बचतकर्ताको रकम दुरुपयोग गरेर सहकारी समस्यामा परेको बचकर्ताहरुको आरोप छ । उनले बचकर्ताको सबै रकम घरजग्गामा लगानी गरेको बुझिएको छ । समस्याबाट उम्किन उनले सहकारी छोडेर बैंकमा सिफ्ट भएको बताइन्छ ।
यस्तै, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा पनि रमिता नै छ । सहकारीको सबै काम गर्ने व्यक्ति सुरेन्द्र भण्डारी प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेका छन् । उनले अमरदास श्रेष्ठलाई अध्यक्ष बनाएका छन् । तर, सहकारीको सम्पूर्ण आर्थिक कारोबारको काम भने भण्डारीले नै गर्ने गरेको बुझिएको छ ।
यस्तै, समस्या सिर्जना भएको अर्को सहकारी हो सुमेरु बचत तथा ऋण सहकारी संस्था । जसको अध्यक्ष थिए भरत महर्जन । उनले बचतकर्ताको रकम दुरुपयोग गरेर बचत फिर्ता दिन सक्ने अवस्था नभएपछि महासचिव हेमराज दाहाललाई अध्यक्ष बनाएका छन् । हाल महर्जन विदेशमा रहेको बुझिएको छ । महर्जनले सहकारीबाट उठेको बचत हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी गरेको बुझिएको छ ।
यी सबै सहकारी क्षेत्रका चर्चित पात्रहरु हुन् । सहकारीका बचतकर्ताको रकम घरजग्गा तथा आफ्नो निजी कम्पनीमा लगानी गरेर अहिले ती क्षेत्रमा समस्या आएपछि सहकारीका सञ्चालकहरुले बचत फिर्ता दिन सकेका छैनन् । यस्ता सहकारी सयौं छन् । अहिले अधिकांश सहकारीमा समस्या सिर्जना भएपछि समस्याबाट भाग्ने जुक्ति गर्दै निकट व्यक्तिलाई अध्यक्ष बनाएर पन्छिन खोजेको देखिन्छ ।
यस्तै, अभ्यास बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा पनि देखियो । सहकारीको बचत हिनामिना गरेपछि संस्थाका अध्यक्ष देवकुमार नेपालीले कार्यवाहक अध्यक्षको जिम्मेवारी डोरबहादुर परियारलाई दिए । ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका उनले बचतकर्ताको अर्बौं रकम हिनामिना गरेपछि अहिले उनी सम्पर्कविहीन छन् । धेरैले उनलाई अर्बपति मेयर भनेर पनि चिन्छन् । सहकारीको बचत मनोमानी ढंगले दुरुपयोग गरेको आरोप उनीमाथि छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीविरुद्ध बचतकर्ताहरूको अर्बाैँ रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरूविरुद्ध उजुरी लिन र अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई पत्राचार गरिसकेको छ ।
सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर रातारात अर्बपति भएका सञ्चालकहरु अहिले धमाधम कानुनी कठघरामा आइरहेका छन् । अधिकांश सञ्चालकहरु फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
सहकारी विभागका एक जना पूर्व रजिष्ट्रारले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘सहकारीहरु यसको मूल्य मान्यता र सिद्धान्त अनुरुप सञ्चालन भएको देखिँदैन, जसले धेरै कमाएर अर्बपति बन्छु, घरघडेर जोड्छु भनेर योजना बनाउँछ, उसले सहकारीमा लगानी गरेको देखिन्छ, जबसम्म त्यस्ता मानसिकताका मान्छेहरु यो क्षेत्रबाट बाहिरिँदैनन्, तबसम्म सहकारी क्षेत्रमा सुधार हुन गाह्रो छ, केही सहकारीहरुले राम्रो काम गरेको भएपनि अधिकांश भने कसरी कमाउने भन्ने तर्फ जोड दिइरहेको देखिन्छ ।’
सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले अध्यक्षले नियतवस रुपमा जिम्मेवारी दिएपनि अध्यक्ष बन्न चाहने मान्छेले भने त्यो विषय बुझ्नु पर्ने बताए । उनले गल्ति पूर्व अध्यक्षले गरेको भएपनि त्यसको भागेदार वर्तमान अध्यक्ष पनि हुने धारणा राखे ।
‘हामीले अहिले सहकारीलाई कारवाही गर्ने, नियमन गर्ने काम बढाइरहेका छौं, सहकारीमा समस्या आयो भने उनीहरु सञ्चालकबाट बाहिरिएर फरार हुने, सम्पर्कमा नआउने प्रवृति बढ्दो छ, उनीहरु सम्पर्कमा नआएपछि हामीले सिआईवीमार्फत् मुद्दा चलाउँछौ, बचतकर्ताले ढिलो चाँडो बचत फिर्ता पाउँछन्,’ उनले भने ।
उनले अधिकांश सहकारीमा अध्यक्षहरुको नियत नै गलत देखिएको बताए । उनका अनुसार अध्यक्षले अन्य सञ्चालकलाई गुमराहमा राखेर बचतको रकम हिनामिना गर्ने गरेको बताए ।
सहकारी ऐनको दफा ४१ को उपदफा ७ को ‘क’मा सञ्चालक समितिको अवधि चार वर्ष हुने उल्लेख भएपनि एउटै व्यक्तिले वर्षौं वर्षसम्म अध्यक्ष बनेको पनि देखिन्छ । सहकारी ऐनको दफा ४५ मा सञ्चालकबाट हटाउन सक्ने प्रावधान छ । तर, सहकारीका अध्यक्षलाई पदबाट हटाउने ल्याकत सदस्यहरुले राख्दैनन् । सोही दफाको उपदफा १ को ‘क’ मा आर्थिक हिनामिना गरी सम्बन्धि संस्थामा हानी पुर्याएमा हटाउन सक्ने व्यवस्था छ । तर, अध्यक्षहरुले सहकारीलाई समस्यामा पारेर आफ्नो निकटको र आफुले भनेको व्यक्तिलाई अध्यक्ष बनाएर आफु बाहिरिने प्रवृति बढ्दो छ ।
सम्बन्धित सामग्री : जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो
Copyright © 2024 Bikash Media Pvt. Ltd.