२०८० जेठ ३२ गते १७:०७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले विदेशी सामानले भरिएका सटर बन्द हुँदा केही फरक नपर्ने बताएका छन् । बिहीबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै, बैंक तथा वित्तीय संस्थाहरुमा अझै मर्जर आवश्यक रहेको उनले बताए । अर्थतन्त्र समस्यामा परेका बेला राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।
‘पछिल्लो समय धमाधम सटर बन्द भइरहेका छन्, स्वदेशी वस्तु उत्पादन भएका सटर बन्द हुँदा चिन्ताको विषय हो तर, हङकङको सामानले भरिएको सटर बन्द भए केही फरक पर्दैन, नेपाली भोकै बस्नु भएन, उत्पादनमुलक व्यवसायलाई सपोर्ट गर्नु पर्छ,’ उनले भने, ‘अर्थतन्त्र ध्वस्त भएको बेला कसिलो मौद्रिक नीति ल्याउँदा सुधार पनि भयो, अब आन्तरिक उत्पादन बढाउने मौद्रिक नीति ल्याउनु पर्छ ।’
उनका अनसार कसिलो मौद्रिक नीतिले सहज भएको छ । सरकारले ल्याएको बजेटले सकारात्मक नभएको उनको भनाइ छ । साथै, सरकारले दिँदै आएको सहुलियत पनि हटाउनु पर्ने उनले बताए । १०÷१२ वटा मात्रै बैंक भए पुग्ने भएकाले थप मर्जरमा जानु पर्ने उनको भनाइ छ ।
‘यो देशमा कति बैंक चाहिने हो ? त्यो अध्ययन हुनु पर्छ, बैंकहरु अझै मर्ज गर्नु पर्छ, १०÷१२ बैंक मात्रै आवश्यक छन्, लागत घटाउन तर्फ जोड दिनु पर्छ,’ उनले भने, ‘ब्याजदर निर्धारण राष्ट्र बैंकले गर्ने हो की नेपाल बैकर्स संघले ? यसमा स्पष्ट हुनु पर्छ, कमसल र व्यापारमा कर्जा गइरहेको हुँदा कडाइ गर्नु पर्छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.