२०८० असार ११ गते १८:४४ विकासन्युज
काठमाडौं । वाणिज्य बैंकहरुबीच अन्तर कारोबार बन्द नै भएको छ । अहिले वाणिज्य बैंकहरुमा प्रयाप्त तरलता भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिने प्रक्रिया बन्द भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुको अन्तर बैंकदर नै शून्यमा झरेको छ । यसअघि २.६५ प्रतिशत रहेको अन्तर बैंकदर अहिले शून्यमा झरेको हो ।
बैंकहरुले लगानी योग्य पुँजीको अभाव भएपछि एक बैंकले अर्को बैंकसँग सापटी लिएर गर्जो टार्ने गर्छन् । तर, प्रयाप्त रकम भएपछि यो प्रक्रिया रोक्छन् । अहिले बैंकहरुसँग प्रयाप्त मात्रामा पैसा भएपछि अन्तर बैंक कारोबार रोकेका हुन् । अन्तर बैंक कारोबार बढेपछि ब्याजदर पनि लगातार बढ्छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल बैंकहरुसँग कुल ५५ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप छ भने कुल ४८ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुको सीडी रेसियो पनि सहज अवस्थामा देखिएको छ । हाल बैंकहरुको औसत सीडी रेसियो ८४.०१ प्रतिशत कायम भएको छ ।
तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋण पत्रलगायतका सबै उपकरणको ब्याजदर घटेको छ । तरलता बढेपनि बैंकहरुले कर्जा लगानी भने गर्न सकेका छैनन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.