को हुन् अलिबाबाका मालिक ज्याक मा ? यस्ता छन् व्यवसाय सफल पार्ने उनका टिप्स

  २०८० असार १२ गते १८:३२     विकासन्युज

काठमाडौं । विशाल चिनियाँ इ–कमर्स कम्पनी अलिबाबाका मालिक ज्याक मा १५ दिनको पर्यटक भिसा लिएर मंगलबार नेपाल आएका छन् । विशाल ई–कमर्स प्लेटफर्मका मालिक ज्याक मा विश्वभर नै चर्चित व्यक्ति हुन् । चिनीयाँ खर्बपति नेपाल आएसँगै उनीप्रति धेरैको चासो बढेको छ ।

सन् १९६४ मा चीनको सिजियाङ प्रान्तको होङझाओमा जन्मिएका ज्याक मा निकै ठूलो संघर्ष पश्चात् वर्तमान पहिचान बनाउन सफल भएका हुन् । ज्याकमाले १२ वर्षको उमेरमा नै खल्तीमा राख्ने रेडियो किनेर अंग्रजी रेडियो सुन्ने गर्दथे ।

युवा अवस्थामा ज्याक मा ले अंग्रेजी भाषामा अभ्यास गरेर आफूलाई निकै पोख्त बनाए । अंग्रेजी भाषा राम्रो भएका कारणले उनले केही समय अंग्रेजी स्पीकरको रुपमा होङझाओको एक होटलमा काम समेत गरे ।

माध्यमिक तहसम्मको अध्ययनको क्रममा उनी गणित विषयमा निकै कमजोर थिए । उनले चिनियाँ स्कुलको प्रवेश परीक्षामा गणित विषयमा जम्मा ३१ नम्बर ल्याए । सन् १९८२ मा राष्ट्रिय रुपमा भएको चाइनिज कलेज प्रवेश परीक्षामा ज्याक मा ले गणितमा जम्मा १ नम्बर ल्याएर फेल भएका थिए ।

त्यसपछि उनले होटलमा वेटर काम गर्नको लागि आफन्तसँगै आवदेन गरेकोमा उनी अस्वीकृत भए । उनले कलेज पढ्नको लागि दोस्रो पटकको प्रवेश परीक्षामा १९ नम्बर मात्रै ल्याएपछि उनलाई उनको परिवारले उच्च शिक्षा नपढेर फरक बाटो अपनाउन दबाब दियाे । तर, ज्याक माले तेस्रो पटक परीक्षा दिँदा गणितमा ८९ नम्बर ल्याउन सफल भए ।

त्यसपछि उनी कलेज पढ्दै जाँदा होङझाओ साधारण विश्वविद्यालयको पाचौँ उत्कृष्ट विद्यार्थी बन्न सफल भए । साथै उनी विद्यार्थी युनियनको अध्यक्षमा चुनिए । उनी होङझाओको विद्यार्थी फेडेरेसनको दुई कार्यकालसम्म नेतृत्वमा आउन सफल भए ।

बाल्याव्स्थामा ज्याक मा ।

ज्याक माले सन् १९८८ मा अंग्रेजी विषयबाट स्नातकोत्तर तहको अध्ययन पूरा परे । त्यसपछि उनले होङझाओको डिनाझी विश्वविद्यालयमा पढाउन पनि शुरु गरे भने सो सँगै हावर्ड बिजनेस स्कुलमा १० पटकसम्म आवेदन गरेपनि उनी अस्वीकृत भए ।

ज्याक माको व्यवसायिक जीवन

ज्याक माले स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि विभिन्न ३१ वटा प्रवेश तहको रोजगारीमा आवेदन गरे । तर, उनले ती सबै ठाउँबाट असफलता मात्रै हात पार्नु परेको थियो । उनले त्यतिबेला नै विश्वको चर्चित फ्रेन्चाइज कम्पनी केएफसीमा पनि आवेदन दिए । सो कम्पनीले पनि उनलाई अयोग्य भनेर अस्वीकृत गर्याे ।

सोही समयमा चीनमा देङ स्याओ पिङको आर्थिक क्रान्तिको अभियान सञ्चालन भएको थियो । सन् १९९४ मा आफ्नै एउटा इन्टरनेटसँग सम्बन्धित अनलाईन चाइनिज भाषानुवाद एजेन्सी पहिलो कम्पनीको रुपमा शुरुवात गरे ।

सन् १९९५ मा उनी पहिलोपटक अमेरिका गए । सो क्रममा उनले आफ्ना साथीमार्फत इन्टरनेटको विषयमा थाहा पाए । सोही वर्ष उनी एकजना साथीसँग मिलेर दोस्रो कम्पनी दर्ता गरे । उनले चाइनापेजेज डटकम भन्ने वेबसाइट अमेरिकामा दर्ता गरेर वेबसाइट बनाए । सन् १९९८ देखि १९९९ सम्म आउँदा उनले चाइना इन्टरनेशनल इलेक्ट्रोनिक कमर्स सेन्टर र मिनिस्ट्री अफ फरिन ट्रेड इकोनोमिक को–अप्रेसन विभागको नेतृत्व गरिसकेका थिए । सन् १९९९ मा उनी आफ्नै जन्मभूमी होङझाओ फर्किएर १८ जना साथीसँग मिलेर अलिबाबाको स्थापना गरे ।

सन् १९९९ को अक्टोबरबाट सन् २००१ को जनवरीसम्म आउँदा अलिबाबाले अमेरिकन इन्भेस्टमेन्ट बैंक, गोल्डम्यान सच र जापानीज इन्भेस्टमेन्ट म्यानेजमेन्ट कङलोमिरेट सफ्ट बैंकबाट २५ मिलियन डलर पुँजी प्राप्त गर्न सफल भएको थियो ।

सन् २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य बन्यो । ज्याक मा ले अलिबाबालाई विश्वको इ–कमर्स प्लेटफर्मको रुपमा विकास गर्न खोजे । सन् २००३ बाट उनले टोबाको मार्केटप्लेस, अलिपे, अलि मा जस्ता कम्पनीहरुको पनि स्थापना गरे । उनका कम्पनीहरुलाई अमेरिकन कम्पनीहरुले महंगो मूल्यमा खरिद गर्ने प्रस्ताव गरेका थिए, तर मा ले सो प्रस्तावलाई स्वीकार गरेनन् ।

अलिबाबा अहिले चीनको मात्रै नभएर विश्वकै ठूलो इ–कमर्स होल्डिङ कम्पनीको रुपमा स्थापित भएको छ । जोसँग टोबाको मार्केटप्लेस, टीमाल, इटाओ, अलिबाबा क्लाउड कम्प्युटिङ, झुहुसुआन, सिक्सटिनएटीएट, अलिएक्सप्रेस र अलीपे छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ज्याक मा ।

सन् २०१२ सम्म आइपुग्दा अलिबाबाको अनलाईन कारोबार एक ट्रिलियन युआन पुग्न सफल भएको थियो । रिपोर्टहरुका अनुसार सन् २०१६ मा अलिबाबाले न्युयोर्क स्टक एक्सचेन्ज मार्फत आइपिओको माध्यमबाट २५ बिलियन अमेरिकन उठाउन अफर गरेको थियो । सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० लाख रोजगारी सिर्जना गर्ने विषयमा ज्याक मासँग भेटघाट गरेर छलफल गरेका थिए ।

सन २०१८ मा ज्याक माले अर्को वर्षमा अलिबाबा होल्डिङको कार्यकारी अध्यक्ष छोड्ने र फाउन्डेसन मार्फत् परोपकारमा लाग्न चाहेको बताएका थिए । त्यसपछि उनले सन् २०२० अक्टोबर १ मा अलिबाबामा रहेको आफ्नो पदीय जिम्मेवारीबाट बाहिरिए ।

अलिबाबा होल्डिङ्सले अहिले वर्षेनी रुपमा आफ्ना विभिन्न कम्पनीहरुको माध्यमबाट खरबौं रुपैयाँ आम्दानी गर्ने गरेको छ भने लाखौं मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगार दिएको छ । तर, सन् २०२० देखि अलिबाबाका मालिक ज्याक मा भने सार्वजनिक रुपमा लामो समयसम्म देखिएनन् ।

पछिल्लो समयमा भने उनी विश्वका विभिन्न ठाउँमा विभिन्न सन्दर्भमा देखिने गरेका छन् । ज्याक माले अलिबाबा स्थापनादेखि त्यसको विकासमा देखाएको जस्तो प्रत्यक्ष सक्रिय भूमिका नभएर अप्रत्यक्ष रुपमा सक्रिय भइरहेको विभिन्न सञ्चारमाध्यम र विश्लेषकहरुले उल्लेख गरेका छन् ।

सामान्य परिवारमा जन्मिएर धेरै असफलताबाट पाठ सिक्दै विश्वकै ठूलो इ–कमर्स प्लेटफर्मका मालिक बन्न सफल भएका ज्याक मा धेरै मानिसहरुका लागि उत्प्रेरणाको स्रोत समेत बनेका छन् ।

ज्याकका अनुसार कुनै व्यवसाय सुरु गर्दाको सबैभन्दा राम्रो प्लान भनेकै कुनै पनि प्लान नै नहुनु हो । अहिले बसेर सोँच्नका लागि कुनै फुर्सद नै हुँदैन । उनले व्यवसायमा हरेष खान नहुने सल्लाह दिन्छन् । व्यवसायमा सफल हुनका लागि सबैसँग अवसर हुने बताउँदै उनले बिचमै हरेष खान नहुने धारणा राख्छन् । व्यवसायमा सही मान्छेको छनोट गरेर अगाडि बढ्नु पर्ने उनको सुझाव दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.