आवधिक योजना निर्माणमा जुट्यो योजना आयोग, महत्वकांक्षीभन्दा कार्यान्वयन हुने योजनामा जोड दिने

  २०८० असार १२ गते १७:०२     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोग १६ औं आवधिक योजना निर्माणमा जुटेको छ । यसअघि आयोगका पूर्व उपाध्यक्ष, अर्थविद तथा विषय विज्ञहरुसँग छलफल गरिसकेको आयोगले मंगलबार पत्रकारसँग छलफल गरेको छ ।

छलफलका क्रममा आयोगले १६ औं योजना निर्माणका लागि तीनै तहका सरकार, निजी क्षेत्र, गैर सरकारी क्षेत्र, विकास साझेदार लगायत सम्बन्धीत क्षेत्रका व्यक्ति तथा संस्थासँग समन्वय गरीरहेको छ ।

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग तथा इ–गभर्नेन्सलाई पहिलो प्राथमिकता राखेर १६ औं आवधिक योजना तर्जुमा गरिने बताउँछन् ।

उनले १५ औं योेजना महत्वकांक्षी रहेको भन्दै १६ औं आवधिक योजना कार्यान्वयन हुने गरी ल्याईने दाबी गरे । १५ औं आवधिक योजनाको लक्ष्य कोभिड महामारी, रुस–युक्रेनको युद्ध लगायतका कारणले पूरा हुन नसकेको उनको भनाई छ ।

आयोगले बनाउने आवधिक योजना व्यवहारिकभन्दा बढी प्राज्ञिक शैलीका भएकाले तिनको कार्यान्वयन तथा नतिजा प्राप्तिमा समस्या देखिने गरेको विषयलाई आयोगले गम्भीररुपमा लिएको पनि उनको भनाइ छ ।

नयाँ आवधिक योजना कार्यान्वयनयोग्य बनाउनका लागि अधिकतम प्रयास गरिने उनले बताए । आयोगका कामलाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्याङ्कन ऐन संसद्मा बिचाराधीन रहेको र आयोजना बैंक तथा आयोजना वर्गीकरणसम्बन्धी कार्यविधि बन्ने क्रममा रहेको उनले उलेख्य गरे ।

आयोगका प्रवक्ता सुमन दाहाल १६ औं योजना निर्माणका लागि विभिन्न स्टेक होल्डरलाई समेटेर १ सय जनाको अधिकार सम्पन्न निर्देशन समिति बनाईएको बताउँछन् । उनले सबै क्षेत्रका व्यक्तिलाई समेटेर उक्त निर्देशन समितिले १६ औं योजनाको अवधारणपत्र स्वीकृत गर्नेदेखि पूर्ण दस्तावेज गठनकोे अधिकार रहेको बताए ।

जेठ अन्तिम सातादेखि छलफलमा जुटेको आयोगले आगामी माघ मसान्तसम्मको समय तालिका राखेर छलफल गर्नेछ ।

आयोगले योजना तर्जुमा गर्दा विषय क्षेत्रगत समन्वय, सहयोग र सहजीकरण तथा प्राविधिक विषयका कार्यसम्पादन गर्न महाशाखा प्रमुखको संयोजकत्वमा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरु रहेको प्राविधिक समिति रहेको जनाएको छ ।

यस्तै, योजना तर्जुमाका लागि आयोगका सदस्यको संयोजकत्ववमा सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँग सम्बन्धित प्रतिनिधिहरु रहेको ५ वटा विषय क्षेत्रगत समिति समेत रहेका छन् ।

समावेशी किसिमले आर्थिक, प्राविधिक लगायतका विभिन्न समितिहरु बनाएको र उनीहरुले योजना निर्माणदेखि समन्वयन सम्मको काममा सहजीकरण गर्ने काममा आयोग प्रतिवद्ध रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.