४३ कम्पनीमा केदार शर्माको २ करोड कित्ता सेयर, यी हुन् २४ जना व्यवसायिक पार्टनर

  २०८० असार १३ गते १५:४९     सन्तोष रोकाया

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका केदारनाथ शर्माले विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेका हुन् ।

बचतकर्ताको रकम हिनामिनाकै आरोपमा फरार रहेका उनलाई प्रहरीले सोमबार बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको बुझिएको छ । अहिले उनीसहित उनकी श्रीमती गिता शर्मा र सहकारीका सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारी प्रहरीको नियन्त्रणमा छन् ।

शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जमिन र सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५२६ रुपैयाँ र श्री तुलसी बहुमुखी सहकारीबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ हिनामिना गरेका छन् ।

प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको पाइएको हो ।

शिखर अर्गनाईजेशनका सञ्चालक समेत रहेका उनले विभिन्न क्षेत्रका ४३ कम्पनीमा ठूलो रकम लगानी गरेको भेटिएको हो । ती कम्पनीहरुमा अन्य २४ जनाले पनि लगानी गरेका छन् । उनको मुख्य लगानी रहेको कम्पनीहरुमा उनकी श्रीमती गिता शर्मा, शुसिला बानियाँ, तेज बहादुर तामाङ, लिलानाथ गौतम, कमल शाह, अमृता श्रेष्ठ, सुदर्शन कपाली, पुस्कर मल्ल, अनिल आचार्य, सुमन कुमार लुइँटेल, राजु शाखकर्मी, बिक्रम कुवँर र छविलाल बिकको पनि लगानी छ ।

यस्तै, ती कम्पनीहरुमा दिकेन्द्र कुमारी गिरी, सरिता गिरी, जुठे राउत क्षेत्री, अमृत गिरी, सुनिता खड्का, प्रदिप भट्टराई, बालकृष्ण ढकाल, राजकुमार शर्मा, डम्बर बहादुर तामाङ, धन बहादुर तामाङ र दिपक लामाको लगानी देखिएको छ ।

अधिकांश कम्पनीहरुमा उनको एकल लगानी देखिएको छ भने केहीमा उनले साझेदारहरुसँग मिलेर काम गरेको देखिन्छ । उनको १९ वटा कम्पनीमा एकल लगानी देखिएको छ भने ९ वटा कम्पनीमा उनकी श्रीमती गिता शर्माको एकल लगानी छ । अन्य कम्पनीमा भने शर्मा र गितासहित अन्य लगानीकर्ताको संयुक्त स्वामित्व भेटिएको छ । उनी र उनको श्रीमती शर्माको ती कम्पनीहरुमा १ करोड ९१ लाख ३६ हजार कित्ता सेयर स्वामित्व देखिएको छ ।

सिआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनले ती सबै कम्पनीहरुमा सहकारीका बचतकर्ताको बचत प्रयोग गरेको देखिएको छ । सो सहकारीमा एकैजनाको २ करोड रुपैयाँसम्मको बचत छ ।

ती कम्पनीमा उनले ८ अर्ब रुपैयाँ बढी लगानी गरेको देखिएको छ । उनले आफू र आफ्ना परिवारका सदस्यका नाममा घरजग्गा, सवारी साधनलगायत खरिद गरेर समेत सर्वसाधारणको निक्षेपको दुरुपयोग गरेको सीआईबीले जनाएको छ । उनको ती कम्पनीमा साढे डेढ करोड कित्ता सेयर स्वामित्व छ । ती कम्पनीमा ८ अर्ब बढी लगानी गरेको देखिएको सिआईबीको भनाइ छ । अझै पनि उनको सम्पत्तिको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

उनले गोर्खा टि एण्ड कफी इण्डष्ट्रिज, गोर्खा वेभरेज, शिखर मेसेनरी एण्ड अटोमोबाइल्स, नटराज एग्रो, तुलसी मोटर पम्प इण्डष्ट्रि, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट, शिवशिखर इन्भेष्टमेन्ट, उपकार मडिया, उपकार गार्मेन्ट, शिखर मिनरल वाटर एण्ड वेभरेज, उपकार आयल, हिमालयन लायन कन्ष्ट्रक्सन, तुलसी फुड, नटराज फुड, उपकार फाउण्डेसन लगायत कम्पनीमा लगानी गरेका छन् ।

सीआईबीका अनुसार सहकारीको बचत हिनामिना गरेका ६/७ जनालाई प्रहरीले खोजिरहेको छ । यो हालसम्मकै ठूलो सहकारी ठगी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.