२०८० असार १३ गते १८:५१ सन्तोष रोकाया
काठमाडौं । नेपाली व्यवसायीहरु माझ छोटो समयमै मनग्य कमाएर अर्बपतिको लाइनमा आउने व्यक्ति मध्येका व्यवसायी हुन् मीनबहादुर गुरुङ । देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनी सञ्चालन गरेर आफुलाई स्थापित मात्रै होइन, सुपर मार्केटको क्षेत्रमा पायोनियर व्यवसायीका रुपमा परिचित उनलाई पछिल्लो समय पछ्याउनेको जमात ठूलो छ ।
आम सर्वसाधारणले मात्रै होइन उनको व्यवसायको सिको अरू व्यवसायीहरुले पनि गरिरहेका छन् । सपिङ सेन्टरमा आफुलाई सफल व्यवसायीको रुपमा सावित गरेका गुरुङको मंगलबारको घटनाले भने उनलाई हेर्ने धेरैको नजर फेरियो । उनी मंगलरबार पक्राउ परे । ललिता निवास जग्गा प्रकरणमा मुझिएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार बिहानै नियन्त्रणमा लियो । जसले निजी क्षेत्रमात्रै होइन, बैंक तथा वित्तीय क्षेत्र र उनीसँग निकट भएर काम गरिरहेका व्यवसायीहरु माझ पनि ठूलै तरंग मच्चियो ।
ललिता निवास प्रकरणमा यसअघि पनि हिरासतमा बसिकेका गुरुङ पुनः पक्राउ परे । उनीसँगै प्रहरीले मंगलबार ७ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की छन् । उनीहरुलाई सात दिन हिरासतमै राख्न अदालतले आदेश दिइसकेको छ ।
२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ललिता निवासको १ सय १३ रोपनी जग्गा हिनामिना भएको भन्दै मुद्दा दायर गरेको थियो । त्यतिखेर अख्तियारले माघ २२ गते गुरुङसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । पछि उनी हिरासतमा पनि पुगे । विशेष अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दियो र उनी हिरासतमुक्त भए ।
अहिले उनी पुनः पक्राउ पर्नुले धेरैले गम्भिरताका साथ लिएका छन् । यसपटक सरकारले ललिता निवास प्रकरणमा मुछिएकाहरुमाथि गम्भीर रुपमा अनुसन्धान गरेर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने योजनाका साथ काम गरिरहेको बुझिएको छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठ छन् । उसो त गुरुङलाई धेरैले माओवादी केन्द्रसँग निकट व्यवसायीका रुपमा चिन्छन् । तर, गृहमन्त्री श्रेष्ठको एक्सनले त्यो संकेत गरेन । मंगलबार पक्राउ परेकाहरुमध्ये पहिलो निशाना श्रेष्ठले गुरुङमाथि नै लगाए । अर्थात् सुरुमै गुरुङको हातमा हतगडी लाग्यो ।
के होला भाटभटेनीको साम्राज्य ?
विशेष गरेर व्यवसायको कमाण्डरको अनुपस्थितिमा व्यापार खस्किने गरेका उदाहरणहरु नेपालमा प्रशस्त छन् । कुनै बेला नेपाली व्यवसाय क्षेत्रमा राज गरेका व्यवसायी इच्छाराज तामाङको हिरासत बसाईंले उनको व्यवसायिक जीवन नै लगभग समाप्त पार्यो । उनका दर्जनौं कम्पनीहरु अहिले समस्यामा छन् भने कतिपय व्यवसायहरु बन्द नै भएका छन् ।
छोटो समयमै हिरासत बसाईंले पनि अधिकांश व्यवसायीको व्यवसायिक जीवन खलबलिएका उदाहरणहरु प्रशस्त छन् । ती सबै ‘वान म्यान आर्मी’ बन्दाको कारण हो । भाटभटेनीका सञ्चालक गुरुङ पनि आफ्नो व्यवसायका ‘वान म्यान आर्मी’ हुन् ।
स्रोतका अनुसार कम्पनीमा स–सानो निर्णय लिँदा पनि उनको उपस्थिति अत्यावश्यक हुन्थ्यो । सानाे सानाे रकम भुक्तानीमा पनि उनकाे सहमति अनिवार्य गरिएकाे छ । अर्थात् व्यवस्थापन समूहले उनको अनुपस्थितमा स–साना निर्णय पनि गर्न नपाउने नियम उनले कम्पनीभित्र लगाएका थिए ।
उनले भाटभटेनी डिपार्टमेन्ट स्टाेरकाे नाममा विभिन्न बैंकबाट बैंक तथा वित्तीय संस्थामा १० अर्ब रूपैयाँ भन्दा बढी ऋण लिएका भेटिएकाे छ । गुरूङ लामाे समय जेलमा पर्दा उनले लिएकाे कर्जाले धेरै बैंक तथा वित्तीय संस्थालाई पिराेल्ने जानकारहरू बताउँछन् । व्यवसायको मुख्य नायकको अनुपस्थितमा व्यवसायमा नकरात्मक प्रभाव पर्ने देखिएमा बैंकहरुले पनि ऋण असुलीमा ध्यान दिन्छन् र सम्पत्ति लिलामको प्रक्रिया अगाडि बढाउँछन् । गुरुङको हिरासत बसाईं लम्बिएमा बैंकहरुले अवश्य नै यो प्रक्रिया अगाडि बढाउने छन् र उनको सम्पत्ति लिलामीमा चढ्नेछ ।
यसको निर्धारण भने उनको हिरासत बसाईंले गर्नेछ । उसो त भाटभटेनी पछिल्लो समय नेपालमा बलियो ब्राण्ड बनेर स्थापित भएको छ । भाटभटेनीको आफ्नै पूर्वाधार र बलियो अपरेशन प्रणाली छ । यस कारण पनि उनको छोटो समयको हिरासत बसाईंले कम्पनीमा खासै प्रभाव पार्ने छैन । तर, हिरासतमा उनको बसाईं लम्बियो भने उनको व्यवसायिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने उनी निकट स्रोत बताउँछ ।
३५ हजार रुपैयाँमा व्यवसायिक जीवनको सुरुवात गरेका गुरुङ अहिले अर्बौं सम्पत्तिका मालिक छन् भने देशभर भाटभटेनीका २३ वटा स्टोरहरु सञ्चालन गरिरहेका छन् , थप २ स्टाेर सञ्चालनकाे अन्तिम तयारीमा छन् । करिब ५ हजार कर्मचारीलाई रोजगारी दिएका छन् । देशका मुख्य शहर र ठाउँहरुमा भाटभटेनीका स्टोरहरु छन् । उनले प्रत्येक वर्ष नयाँ–नयाँ ठाउँमा स्टोर सञ्चालन गरिरहेका छन् । गत वर्ष भाटभटेनीमा करिब २५ अर्ब रूपैयाँ भन्दा बढीको काराेबार भएकाे छ ।
सुपर मार्केट व्यवसायमा उनी सफल भएपनि उनलाई आर्थिक रुपमा सवल र छिट्टै धनी बनाउने क्षेत्र भने घरजग्गा भएको गुरुङ निकटस्थ स्रोत बताउँछ । उनी घरजग्गा व्यवसायी पनि हुन् । घरजग्गा व्यवसायी भएकै कारण उनी ललिता निवास प्रकरणमा जोडिन पुगे ।
बालुवाटारको सयौं रोपनी जग्गा ब्यक्तिका नाममा गराउने मुख्य भूमिका गुरुङले नै खेलेको विषय यसअघि अख्तियारले दायर गरेको अभियोग पत्रमा पनि उल्लेख थियो । सार्वजनिक जग्गा गैरकानुनी रुपमा आफूसमेतको नाममा सट्टाभर्ना गरेर आफूलाई लाभ र सरकारलाई हानी पुर्याउने काम गरेको अभियोग गुरुङमाथि लगाइएको थियो । त्यसबाट पनि उनले ठूलो लाभ लिएको बुझिएको छ । ललिता निवास क्षेत्रमा हडपीएकाे ११३ राेपनी जग्गा मध्ये २९ राेपनी अहिले पनि गुरुङकाे नाममा रहेकाे नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूराेले जनाएकाे छ ।
कसले सम्हाल्छ व्यवसाय ?
कम्पनीमा आफ्नो अनुपस्थितमा कुनै महत्वपूर्ण निर्णय गराउन रोक लगाएका गुरुङको भाटभटेनीको व्यवसाय अब कसरी अगाडि बढ्ला ? कसले व्यवसायको नेतृत्व गर्ला ? भन्ने विषय पनि चासोका साथ हेरिएको छ । उसो त उनकी श्रीमती सावित्री गुरुङ, छोरा कल्याण गुरुङ, भाई पहलमान गुरुङ र छोरी कामनाले पनि उनको व्यवसाय हेर्ने गरेका छन् । सावित्री भाटभटेनीको सञ्चालक समितिमै छिन् । तर, कल्याण, पहलमान, छोरी कामना र भाइबुहारी सरलाको नाम पनि ललिता निवासको जग्गा किर्तेमा जोडिएको छ ।
उसो त भाटभटेनी ग्रुप व्यवस्थापनमा अब्बल छ । व्यवस्थापन समूहमा अब्बल, अनुभवी र व्यवसायिक पृष्ठभूमीका व्यक्तिहरु छन् । अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा अन्य ८ जनाको टोली छ । सञ्चालनमा आएका सबै आउटलेटको व्यवस्थापनलाई व्यवस्थित बनाउन सबैको उत्तिकै भूमिका महत्वपूर्ण देखिन्छ ।
भाटभटेनीको व्यवसाय विकासको कार्यकारी निर्देशकमा पहलमान गुरुङ र आपूर्ति श्रृंखला व्यवस्थापनको कार्यकारी निर्देशकमा कल्याण गुरुङ रहेका छन् । चिफ अपरेटिङ अफिसर (सीओओ) मा पानु पौडेल छन् । चिफ एडमिनमा डीबी राई, चार्टर्ड एकाउन्टेन्टमा अनिल खरेल, आन्तरिक लेखापरीक्षणको प्रमुखमा सुनिश्चित मोक्तान र वरिष्ठ कार्यकारी मानव संसाधनमा मनोज अधिकारी रहेका छन् । यी सबै व्यवसायमा कुशल छन् । हिरासतमा गुरुङको बसाईं छोटो भएमा भाटभटेनीको व्यवसायमा खासै प्रभाव पर्ने छैन । तर, लम्बियो भने भाटभटेनीको दुरदशा सुरु हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.