२०८० असार १९ गते १८:४१ विकासन्युज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाखमा भारतमा गरिएको उपचार खर्च आफैले बेहोर्ने भनेर गरेको सार्वजनिक प्रतिवद्धता विपरित परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाको लागि ताकेता गरेका छन् ।
गत बैशाखमा पेटमा समस्या देखिएको भन्दै राष्ट्रपति पौडेल उपचारको लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) पुगेका थिए ।
पौडेल बैशाख ६ गते उपचारका लागि दिल्ली गएर बैशाख १७ मा फर्किएका थिए । उनी स्वदेश फर्किएपछि राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बैशाख १९ गते विज्ञप्ति प्रकाशन गरेर ‘भारतमा गरिएको उपचार खर्च राष्ट्रपति आफैले बेहोर्न चाहेको’ बताएका थिए ।
तर, त्यसको विपरित परराष्ट्र मन्त्रालयले भने अर्थमन्त्रालयमा जहाज चार्टर्ड गरेर दिल्ली गएको र नेपाल फर्किएको जहाजको भाडा तिर्न भन्दै अर्थ मन्त्रालयसँग पैसा मागेर पत्र पठाएको छ ।
परराष्ट्र मन्त्रालयले असार १८ गते अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखालाई पत्र पठाएर राष्ट्रपति दिल्ली गएर फर्कदा लागेको खर्चको बिल भुक्तानीको लागि ५५ लाख दुई हजार दुई सय उनासी रुपैयाँ माग गरिएको छ ।
राष्ट्रपति पौडेल बैशाख ६ मा श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्समा दिल्ली गएका थिए भने बैशाख १७ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएका थिए ।
अर्थ मन्त्रालयले असार ११ गतेको निर्णयबाट स्वास्थ्य उपचार खर्चको लागि रकम निकासा गर्न सहमति दिएको पनि परराष्ट्र मन्त्रालयको पत्रमा उल्लेख छ ।
राष्ट्रपति पौडेलसँग उनका परिवारका ४ जनासदस्य सहित ११ जना दिल्ली गएर फर्किएका थिए । उनीहरु सबैको हवाई भाडा सरकारसँग मागिएको हो ।
राष्ट्रपति पौडेल भारतमा उपचार गरेर फर्किएपछि उपचार खर्च सरकारको कोषमाबाट खर्चिन नहुने भन्दै चौतर्फी आवाज उठेको थियो ।
त्यसैको सम्बोधनको लागि राष्ट्रपतिका प्रेस संयोजकले विज्ञप्ति प्रकाशन गरेर उपचार खर्च राष्ट्रपति आफैले बेहोर्न चाहेको उल्लेख गरेका थिए ।
भारतमा उपचार गर्दा अस्पतालमा लागेको खर्च भने अहिलेसम्म सार्वजनिक भएको छैन् । परराष्ट्र मन्त्रालयमार्फत हवाई भाडा मात्रै अर्थ मन्त्रालयमा माग गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
KING OF NEPAL NOW