२०८० असार २० गते ११:२५ विकासन्युज
काठमाडौं । दूरसञ्चार सेवा सम्बन्धी पुर्वाधार निर्माण गर्ने कम्पनी भागेपछि एनसेल आजियाटा लिमिटेडको अप्टिकल फाइबरदेखि टावर निर्माण कार्य बन्द भएको छ । दूरसञ्चार सेवा सञ्चालन सम्बन्धी पुर्वाधार निर्माण गर्ने कम्पनी इन्टरनेशनल जेनिसिस टेक्नोलोजी नेपाल प्रा.लि. (साविकको जीटीएल नेपाल प्रा.लि.) गत जेठ १९ गतेदेखि सम्पर्क विहीन भएपछि ३ दिनभित्र सम्कर्पमा आउन एनसेलले दोस्रो पटक आग्रह गरेको हो ।
इन्टरनेशनल जेनिसिसले एनसेलका टावर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, तार तान्ने, दूरसञ्चार उपकरण जडान गर्ने देशको विभिन्न स्थानमा स्थापना गरेको डाटा सेन्टरमा अनसाइट सम्बन्धी काम गर्ने गरेको थियो । तर, कम्पनीले सम्झौता बमोजिमका कामहरु एक्कासी छाडी गत जेठ १९ गतेदेखि सम्पर्क विहीन भएकाे एनसेलले बताएको छ ।
एनसेलले यसअघि गत असार ९ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी ३ दिनभित्र सम्पर्कमा आउन भनेको थियो । तर, पटकपटक फोन, इमेल र रजिष्टर्ड कार्यालयमा पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि पुनः सूचना जारी गर्दै ३ दिनभित्र सम्पर्कमा आएर उपकरणहरु फिर्ता गर्न आग्रह गरेको हो ।
साथै, एनसेलबाट विभिन्न स्थानहरुमा जिम्मा लिएका कार्य सम्पन्न नगरेको र विभिन्न प्रोजेक्टहरुका लागि कम्पनीबाट जिम्मा लिएका दूरसञ्चार उपकरण, अप्टिकल फाईबर तार लगायतका उपकरण एंव सामाग्री इन्टरनेशनल जेनिसिससँग रहेकाले ३ दिनभित्र फिर्ता बुझाउन आग्रह गरेको छ । जसले गर्दा कम्पनीको दूरसञ्चार नेटवर्क विस्तारमा बाधा पुगेको एनसेलले बताएको छ ।
एनसेलका अनुसार अनौपचारिक सूचनाको आधारमा इन्टरनेशनल जेनिसिसले देशका विभिन्न स्थानहरुमा उपकरणहरु संग्रह गरि राखेको बुझिन आएकोले फिर्ता नगरी हिनामिना, नष्ट वा दूरुपयोग भएमा रेडियो ऐन, २०१४ एंव प्रचलित कानून बमोजिम कारवाही गरिने भएको हो ।
साथै कसैले उपकरण कब्जामा लिएर नष्ट वा दूरुप्रयोग गरेमा कानून बमोजिम सजायको भागिदार हुने कम्पनीले चेतावनी दिएको छ । इन्टरनेशनल जेनिसिस कम्पनीको रजिष्टर्ड केबीडी कम्पलेक्स ललितपुरमा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.