आज १० वर्षयताकै लामो दिन

  २०८० असार २१ गते ८:०३     विकासन्युज

काठमाडौं । आज १० वर्षयताकै सबैभन्दा लामो दिन रहेको छ । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने दिन रहेको बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले बताए । उनका अनुसार पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुन्छ ।

पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर रहेको छ । बिहीबार दुवैबिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुने छ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

डा. शर्माले सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुने बताए । पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने उनको भनाइ छ ।

पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुने गरेको उनले बताए । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जाने र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुने उनले बताए ।

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.