२०८० असार २४ गते १८:२२ सन्तोष रोकाया
काठमाडौं । अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा छन् ।
कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल ग्रुपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई-खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पार्थ्यो । तामाङले आफ्नो कार्यालयलाई पनि सोही किसिमले ‘डेकोरेट’ गरेका हुन्थे । उनी निकट भएर काम गरेकाहरु भन्छन्, ‘इच्छाराज तामाङलाई भेट्न जाने जोकोहीलाई पनि उनी खुशी बनाएर पठाउँथे ।’
तर, त्यो दिन धेरै टिकेन । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमा छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब रहेको बैंकरहरु बताउँछन् ।
तामाङको सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकमा रहेको बुझिएको छ । त्यससँगै सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि उनको कर्जा रहेको बैंकरहरु बताउँछन् । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारी भने तामाङको नाममा सिटिजन्स बैंकमा रहेको ऋण राफसाफ भइसकेको बताउँछन् । तामाङले अन्य बैंकको ऋण भने तिर्न सकेका छैनन् ।
इच्छाराज जस्तै अहिले सहकारीको रकम हिनामिना गरेर प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी हुन् केदार शर्मा । केदारको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक रहेका उनले दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको हो ।
अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् ।
यस्तै, सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । तर, सहकारीको रकम हिनामिना गरेर उनी विदेश पलायन भइसकेका छन् ।
सुमेरु सहकारीको जिम्मेवारी पूर्व कर्मचारी हेमराज दाहाललाई दिएर उनी बेलायत फरार भएको बुझिएको छ । जसको कारणले बैंकहरुलाई पनि पैसा उठाउन ठूलो सकस परेको बुझिएको छ । स्रोतका अनुसार उनले विभिन्न बैंकबाट दुई अर्ब कर्जा लिएका छन् । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स-सानो रकममा ऋण रहेको स्रोतको दाबी छ ।
कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालले महर्जनले गत पुससम्म नियमित किस्ता दिर्दै आएको भएपनि त्यसयता भने नतिरेको बताए । ‘पहिले नियमित तिर्दै आउनु भएको थियो, पछिल्लो समय तिर्नु भएको छैन, सम्पर्कमा पनि हुनुहुन्न,’ डीसीईओ खनालले भने ।
सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको बुझिएको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ ।
चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी ऋण लिएको बुझिएको छ । उनले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको स्रोतको दाबी छ ।
बैंकहरुको सो रकम ठूलो जोखिममा रहेको स्रोतको भनाइ छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका छन् । प्रभु बैंकले पटक-पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको छ ।
यस्तै, सहकारीभन्दा फरक पृष्ठभूमिका व्यवसायी हुन् दुर्गाप्रसाद प्रसाईं । प्रसाईं पनि पछिल्लो समय आफु ठूलो संकटमा परेको बताइरहेका छन् । उनले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सकेका छैनन् भने बैंकहरुले उनलाई थप कर्जा प्रवाह नगर्ने सहमति नै गरिसकेका छन् ।
प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् । प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियो । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए ।
उनले बैंक तथा वित्तीय संस्थाको चौतर्फी रुपमा विरोध गरेर बैंकरलाई कालोमोसो दल्ने अभियान अगाडि बढाएपछि बैंकरहरु उनीप्रति कठोर बनेका हुन् । परिणामस्वरुप उनलाई थप कर्जा प्रवाह नगर्ने र लगानी भएको ऋण पनि उठाउने प्रयासमा बैंकर लागेका हुन् । तर, उनले ऋण नतिरेर अदालत धाउन थालेका छन् ।
प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् ।
झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरि परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे । उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । एकपछि अर्को व्यवसायमा हात हालेपछि उनी समाजमा चिनिन थाले । तर, उनलाई सम्पत्तिको मात लागेपछि उनले भने अरुलाई चिन्न छाडे र तथानाम गाली बेइज्जतमा उत्रिए । जसको बलमा ठूला प्रोजेक्टहरु निर्माण गरेका थिए उनकै विरोधमा उत्रिएपछि अहिले उनी संकटमा परेका हुन् । उनी संकटमा पर्दा उनीमाथि कर्जा लगानी गरेका बैंकहरु पनि समस्यामा परेका हुन् ।
अहिले ठूला ऋणीहरुले बैंकको सावाँ ब्याज नतिर्दा बैंकलाई ऋण असुलीमा समस्या भइरहेको बताइरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा राम्रो रिकभरि गरेर बैंकको वित्तीय विवरण बलियो देखाउने रणनीतिमा रहेका बैंकरहरुलाई ठूला व्यवसायीले ऋण नतिर्दा वित्तीय विवरणमै ठूलो असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्ने आँकलन बैंकरले गरेका छन् भने २२ अर्ब बढी कर्जा डिफल्ट हुने जोखिम छ ।
सम्बन्धित सामग्री :
Copyright © 2024 Bikash Media Pvt. Ltd.