२०८० असार २५ गते १७:५२ विकासन्युज
काठमाडौं । लुम्बिनीमा करीब ३ अर्ब लागतमा पोड–वे बनाउने प्रस्ताव अघि बढाइएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोड–वे बनाउन गरिएको प्रस्तावमा योजना आयोगले छलफल गरिरहेको छ ।
पोड–वे मास ट्रान्सपोटेसनको क्षेत्रमा नयाँ प्रविधि हो । यो २ देखि ४२ सीट हुने इलेक्ट्रिक सवारी हो । विकसित मुलुकहरूमा यातायातको नयाँ प्रविधिकोरूपमा पोड–वेको प्रयोग हुने गरेको छ ।
लुम्बिनीमा पोड–वे बनाउने गरी योजना आयोग र पुरातत्व विभागमा प्रस्ताव पेस गरिएको काठमाडौं पोड–वे कम्पनी प्रालिका उपाध्यक्ष निल भट्टराईले जानकारी दिए ।
कम्पनीले आगामी आर्थिक वर्षबाट लुम्बिनीमा पोड–वे बनाउने योजनासहित पूर्व तयारीको काम गरिरहेको उनले बताए ।
युरोपियन स्ट्याण्डर्डमा पोड–वे बनाउँदा प्रति किलोमिटर करीब ४० देखि ५० करोड खर्च लाग्ने भट्टराईले बताए ।
आन्तरिक र बाह्य पर्यटकहरुलाई लुम्बिनी अवलोकनमा सहज बनाउने गरी ६ किलोमिटर पोड–वे बनाउने प्रस्ताव योजना आयोगमा पेस गरिएको भट्टराईले बताए ।
लुम्बिनी गुरू योजना क्षेत्रभित्रको मनास्ट्री र साँस्कृतिक क्षेत्रको अवलोकन गर्न सहज बनाउने गरी पोड–वे निर्माणको प्रस्ताव गरिएको भट्टराईले बताए ।
निर्माणको काम सुरु गर्नको लागि योजना आयोगको स्वीकृति चाहिने भएकाले अहिले आयोगको अनुमति पर्खिरहेको उनले बताए । योजना आयोगबाट नीतिगत सम्बोधन भएपछि लगानी बोर्डमार्फत योजना अगाडि बढाइने उनले बताए ।
‘योजना आयोगबाट छिट्टै नीतिगत सम्बोधन हुने र आगामी आर्थिक वर्षबाट पोड–वे बनाउने लक्ष्य लिएका छौं,’ उनले भने । लुम्बिनीमा पोड–वे बनाउनको लागि पुरात्व विभागको पनि स्वीकृति चाहिने भएकाले दुवै निकायमा एकै पटक अनुमतिका लागि आवेदन गरिएको उनले बताए ।
असार भित्रमै सम्बन्धित निकायहरुबाट अनुमति आउने अपेक्षासहित योजना आयोग र पुरातत्व विभागमा छलफल भइरहेको उनले जानकारी दिए ।
आयोगबाट स्वीकृति पाएसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने भट्टराईको भनाई छ ।
मास ट्रान्सपोर्टेशनमा पोड–वे नयाँ प्रविधि भएको र यसका लागि आवश्यक नीति नभएकाले काम गर्ने अनुमति पाउन समय लागेको उनले बताए ।
सरकारी निकायले निर्माण स्वीकृति दिए देशव्यापीरुपमा पोड–वे बनाउँदै जाने योजना रहेको भट्टराईले बताए ।
सम्बन्धित समाचार
नेपालमा पोड वे : भाडा र सामान ढुवानी सस्तो, बिजुली खपत भएर पेट्रोल र डिजलको पनि विस्थापन
१० वर्षभित्र हजार किलोमिटर पोड वे बनाउँछौं, हजारौंलाई रोजगारी दिन्छौं : निल भट्टराई
Copyright © 2024 Bikash Media Pvt. Ltd.