दुर्गा प्रसाईंको २ अर्ब लगानी डुब्यो, मेडिकल व्यवसायपछि कृषिमा पनि असफल

  २०८० असार २७ गते ११:००     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले निकै तामझामका साथ सुरु गरेको सुर्यविनायक हरित कृषि थोक बजार पनि संकटमा परेको छ । व्यवसायी प्रसाईंले ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नती’ नारा दिएर सुरु गरेको सो कृषि बजार सञ्चालनमा आएको एक वर्षमै बन्द हुने अवस्था सिर्जना भएको हो ।

सुर्यविनायक हरित कृषि थोक बजार अपेक्षाकृत ढंगले सञ्चालन हुन नसकेपछि लगानी नै डुब्ने खतरा बढेको छ । मेडिकल व्यवसायीका रुपले चर्चित प्रसाईंले २०७८ चैतमा सो कृषि बजारको उद्घाटन गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट कृषि बजारको उद्घाटन गराएका प्रसाईंले यो परियोजनालाई ‘माइलस्टोन’ परियोजनाका रुपमा चित्रण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका नेता ओलीलाई स्कटिङसहित रेड कार्पेटले स्वागत गरेका थिए । ओलीले पनि अब कृषि क्रान्ति नै हुने धारणा कार्यक्रममा राखेका थिए ।

भक्तपुरको सुर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजार देशकै ठूलो भएको प्रसाईंको दावी थियो । उद्घाटन कार्यक्रममा प्रसाईंले भनेका थिए, ‘यो परियोजनाले बिचौलियाको अन्त्य हुनेछ, किसानको उत्पादनले उचित मूल्य पाउने छ, हजारौंले रोजगारी पाउने छन्, यसको स्थापनाले १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्नेछ, यो देशले नै गर्व गर्न लायक परियोजना हो ।’

३५ रोपनी क्षेत्रफलमा फैलिएको तरकारी बजार अहिले वेवारिसे सरह छ । बजारले क्षमता अनुरुपको काम पाइरहेको छैन । एक हजार बढी स्टल रहेको उक्त बजारमा अहिले २ सय हाराहारीका स्टल मात्रै प्रयोगमा छन् । अन्य स्टलहरु बन्द छन् ।

व्यवसायी दुर्गा प्रसाईंले कृषि बजार सोचे अनुरुप सञ्चालन नभएको स्वीकार गरे । उनले केही माफियाहरुले आफुलाई सञ्चालन गर्न नदिएको आरोप लगाए । ‘यस्तै रहेछ, सोचे अनुरुप काम नहुने रहेछ, मलाई कसैको साथ मिलेन, नेपालमा गरिखान समस्या नै छ, जुन सोचका साथ सुरु गरेको थिएँ, त्यो हिसाबले कृषि बजार सञ्चालन हुन सकेन,’ निराश हुँदै उनले भने ।

उनले कृषि कर्जा बैंकका सञ्चालकले मात्र चलाएको र खास किसानहरु रोजगारीका लागि खाडी जानु परेको आरोप पनि लगाउँदै आएका छन् । उनी आफुलाई बैंक तथा वित्तीय संस्थाले साथ नदिएको पनि गुनासो गरिरहेका छन् ।

नगरपालिका भन्छ : समन्वय गर्दा गर्दै पनि सकिएन

व्यवसायी प्रसाईंले भक्तपुरको सुर्यविनायक नगरपालिकाको आदर्श चोक नजिकै कृषि बजारको स्थापना गरेका छन् । आफ्नो क्षेत्राधिकारभित्र भएकोले पनि नगरपालिकाले प्रसाईंलाई धेरै सहयोग गरेको सुर्यविनायाक नगरपालिकाका सूचना अधिकारी अनिरुद्र नेपाल बताउँछन् ।

सूचना अधिकारी नेपालका अनुसार नगरपालिकामार्फत् हुन सक्ने सहयोग गरिए पनि तरकारी बजारले प्रगति गर्न सकेको छैन । ‘दुर्गा प्रसाईंले तरकारी बजारमा धेरै लगानी गर्नु भएको छ, उहाँको लगानी देखेर हामीलाई पनि डर लाग्छ, लगानी अनुसारको प्रतिफल पाइरहनु भएको छैन, बजार चलेकै छैन, ग्राहकको उपस्थिती न्यून छ, स्टलहरु खाली छन्, हामीले समन्वय गर्दा गर्दै पनि काम हुन सकेको छैन,’ नेपालले विकासन्युजसँग भने ।

उनका अनुसार एक हजार बढी स्टल रहेको तरकारी बजारमा करिब दुई सय स्टल मात्रै सञ्चालनमा छन् । बाँकी सबै स्टलहरु बन्द अवस्थामा छन् । प्रसाईंलाई सघाउ पुगोस् र मार्केटिङ पनि होस् भन्ने उद्देश्यले केही समयअघि नगरपालिकाले सोही ठाउँमा ३ दिने कृषि मेलाको आयोजना पनि गरेको बताउँदै त्यसले पनि खासै ठूलो प्रभाव नपारेको उनको भनाइ छ ।

व्यापारीहरुले सो बजारमा बस्न नमानेपछि एक वर्षमा तीन महिनाको भाडा नलिने स्कीम पनि प्रसाईंले दिएका छन् । नगरपालिकाले फुटपाथका व्यापारीहरुलाई सो बजारमा राख्ने योजनाका साथ प्रसाईंसँग सम्झौता गरेको थियो । तर, त्यो स्कीमले पनि व्यापारीहरुलाई तान्न नसकेको नगरपालिका बताउँछ ।

३५ रोपनी क्षेत्रफलमा फैलिएको सो तरकारी बजारको आधा जग्गा प्रसाईंकै भएको बुझिएको छ भने आधा जग्गा भाडामा हो । हाल सो तरकारी बजारको व्यवस्थापनको जिम्मेवारी दुर्गा प्रसाईंका भाई राकेश प्रसाईंले सम्हालिरहेका छन् ।

स्वाथ्यपछि कृषिमा पनि असफल

मेडिकल व्यवसायीका रुपले चर्चित दुर्गा प्रसाईंले बिएण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा पनि लगानी गरेका छन् । मेडिकल कलेज र क्यान्सर अस्पतालपछि उनको यो ठूलो परियोजना हो ।

सुरुमा सानो-तिनो कृषि गरेर उदाएका प्रसाईंले पछि स्वास्थ्य क्षेत्रमा हात हाले । मेडिकल कलेज र क्यान्सर अस्पताल स्थापना गरेपछि उनको व्यवसायिक जीवन उज्वल हुन सक्ने र उनले स्वास्थ्य क्षेत्रमा राज गर्न सक्ने अनुमान धेरैले गरेका थिए । तर, त्यो अनुमानले फेल खाएको छ । उनी मेडिकल व्यवसायमा असफल भइरहेका छन् ।

विशेष गरेर सरकारले बि एण्ड सी मेडिकल कलेजलाई अनुमति नदिएपछि उनको स्वास्थ्य क्षेत्रको लगानीले ठक्कर खाएको हो । त्यसपछि बैंकहरुले पनि उनलाई पत्याउन छाडे । अन्ततः उनी बैंक तथा वित्तीय संस्था र सरकार विरुद्द अभियान नै चलाएर सडकमा उत्रिए । बैंक तथा वित्तीय संस्थाहरुले उनले लिएको साढे ५ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरिरहेका छन् ।

स्वास्थ्य क्षेत्रपछि उनले कृषिमा हात हाले । धेरैले उनको तयारी देखेर अब प्रसाईंले कृषिमा क्रान्ति नै गर्ने प्रक्षेपण गरेका थिए । उनले नारा नै ‘कृषिमा क्रान्ति, नेपाल र नेपालीको उन्नती’ राखेका थिए । धेरैले एउटा माइलस्टोन परियोजनाका रुपमा यसलाई लिएका थिए । तर, उनको यो कृषि व्यापार पनि नचलेपछि उनी समस्यामा परेका हुन् । उनले कृषि क्षेत्रमा पनि ठक्कर खाएका हुन् । यो परियोजनामा गरेको उनको २ अर्ब लगानी डुब्ने खतरा छ ।

सम्बन्धित सामग्री : अर्बमा ठगी, करोडमा दान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.