जीतबहादुर र लक्ष्मीबहादुरलाई माथ खुवाउँदै दुर्गा प्रसाईं

  २०८० असार २९ गते १७:२३     टिप्पणी

काठमाडौं । वि.स. २०५० सालदेखि २०६० सालसम्म जीत बहादुर श्रेष्ठ र लक्ष्मी बहादुर श्रेष्ठको व्यवसाय विस्तार मोहन गोपाल खेतान र विनोद चौधरीलाई पनि दबाव सिर्जना गर्ने तहको थियो । खासा व्यापारबाट व्यवसायमा प्रवेश गरेका श्रेष्ठ दाजुभाईले वि.स. २०४६ सालको परिवर्तनसँगै आर्थिक उदारीकरणको लाभ लिए । राजनीतिक नेतृत्वसँगको पहुँचको आधारमा सरकारले गरेको निजीकरणको लाभ लिँदै हरिसिद्धीको सम्पत्ति कब्जा गरे । सरकारसँगको पहुँचबाट लाभ लिँदै तत्कालीन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, श्रीलंकन मर्चेण्ड बैकिङ एण्ड फाइनान्स, नेपाल बंगलादेश इन्स्योरेन्सको लाईसेन्स लिन सफल भए । उनले त्यतिबेला नै जलविद्युत कम्पनीको पनि लाइसेन्स पाए, लगानी गरे । होटल रेष्टुरेन्टमा पनि हात हाले ।

वि.स. २०६० को दशकपछि उनी व्यापारभित्र धोकाधढीको अभ्यासमा लागे । व्यवसायमा साझेदारी गर्नेलाई फसाउने र उनीहरुको सम्पत्ति आफ्नो हातमा पार्ने खेलमा लागे । आफैले खोलेको बैंकबाट अर्बौ रुपैयाँ कर्जा लिने र नतिर्ने, आफ्नो बीमा कम्पनीमा बीमा गराउने तर बीमितले तिरेको प्रिमियम खल्तीमा हालेर नक्कली बीमा पोलिसी जारी गराउनेसम्मको अभ्यासमा उनी लागे । अदालतलाई कसरी प्रभावित पार्ने र आफ्नो पक्षमा सके अन्तिम फैसला गराउने, नसके अन्तरिम आदेश आफ्नो पक्षमा ल्याउने भन्नेमा उनी अब्बल नै सावित भए । जीत बहादुर, लक्ष्मीबहादुरसँग मुद्दा लडेर सकिँदैन भन्ने सन्देश समेत व्यवसायिक जगतमा छोड्न सफल भए ।

जालसाझी, धोकाधडी, कपटपूर्ण व्यवहार दिगो हुँदैन । कुनै पनि व्यवसायी सारभूत रुपमा नै जालसाझी र धकापूर्ण व्यवहारमा उत्रिन थालेपछि बजारमा विश्वास गुमाउँदै जानु स्वभाविक हो । लक्ष्मीबहादुर र जीत बहादुर श्रेष्ठको हकमा पनि यस्तै भयो । वि।स। २०७०को दशकसम्म आइपुग्दा जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले बजारमा विश्वास गुमाउन थाले । उनले ऋण नतिरेकै कारण तत्कालीन वल्र्ड मर्चेण्ट फाइनान्स डुब्यो । जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठलाई विश्वास गरेर सहकार्य गर्ने कयौं व्यवसायीले व्यवसायबाट हात धुनु पर्यो ।

यति हुँदा हुँदै पनि जीतबहादुर र लक्ष्मीबहादुरको जीत भएन । उनीहरु पराजित भए । उनीहरुले खोलेका सबै कम्पनी बन्द भए । कतिपय विलय भए । उनको स्वामित्वमा रहेको कुनै पनि कम्पनी अहिले अस्थित्वमा छैनन् । मर्ज हुँदै गर्दा नबिल बैंक र कुमारी बैंकमा उनको केही संस्थापक सेयर छ । तर, ती बैंकमा उनलाई कसैले गन्दैनन्, भाउ दिँदैनन्, इज्जत दिँदैनन् । जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठका परिवारका सबै सदस्य कर्जा सूचना केन्द्रको कालोसूचिमा सूचिकृत छन् । उनीहरुले नयाँ व्यवसाय गर्न चाहे पनि बैंकले पत्याउँदैनन् । उनीहरुले न बैंकबाट ऋण पाउने अवस्था छ नत व्यवसायिक साझेदार नै पाउने अवस्था छ ।

पछिल्लो सयम जीतबहादुर, लक्ष्मीबहादुरलाई समेत माथ खुवाउँदै दुर्गा प्रसाईँ अगाडि बढेका छन् । उनले विभिन्न ८ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब ५ अर्ब ५० करोड रुपैयाँ कर्जा लिएर हस्पिटल, मेडिकल कलेज, होटल, रियलस्टेट, तरकारी तथा फलफूल बजार, चिया बगानमा लगानी गरेका छन् ।

वि.स. २०७० को दशकमा उनी उदाउँदा व्यवसायीका रुपमा कहलिए । उनी सत्ता शक्तिसँग निकै नजिक रहे । राजनीतिक तहको उच्च नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीलाई घरमा ल्याएर मार्सी चामलको भात खुवाएपछि प्रसाईंको उपनाम नै मार्सी चामल रहन गयो । पछि उनले मार्सी वियर उद्योग नै खोले । केही समयपछि त्यो उद्योग बेचे ।

दुर्गा प्रसाईं प्रचण्डको अछ्यानसम्म पुगे । ओलीको फेर समाएर एमालेको केन्द्रीय सदस्य समेत बने । उनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग मञ्च सेयर गरेर आफू राजाबादी र राष्ट्रबादी भएको भाषणा गर्न पनि भ्याए । दुवईका राजकुमार शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमसँग सुनको लौरो उपहार पाउने तहसम्मको सम्बन्ध पनि बनाए ।

वि.स. २०८० को दशकको प्रारम्भसँगै दुर्गा प्रसाईंको व्यवसायिक यात्रा ओरालो लागेको छ । उनी बैंकहरुलाई कर्जा नतिर्ने अभियानमा लागेका छन् । बैंकहरु विरुद्ध उनले अदालतहरुमा सिलसिलेबार मुद्दा हालिरहेका  छन् । अदालतले गरेका अल्पकालीन फैसालाहरु पनि प्रसाईंका पक्षमा छन् । गत मंगलबार मात्र उच्च अदालत विराटनगरले व्यवसायी दुर्गा प्रसाईंसँग तत्काल ऋण नउठाउन कुमारी बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रसाईंले कुमारी बैंकबाट एक अर्ब रुपैयाँ ऋण लिएका छन् । उच्च अदालतका न्यायाधीशहरु लोहितचन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले प्रसाईंको पक्षमा आदेश दिएको छ ।

प्रसाईंले कुनै बैंकविरुद्ध झापा जिल्ला अदालतमा पनि मुद्दा हालेका छन् । कुनै बैंकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेका छन् । उनले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । यी सबैं बैंकमा किस्ता तिर्न प्रसाईंले अटेर गरेका छन् ।

उनले बैंकबाट लिएको कर्जा आफूले मात्र तिर्न अटेर गरेका छैनन्, सर्वसाधारणलाई पनि उस्काएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका छन् । प्रसाईंले सावाँ ब्याज नतिरेपछि धितो राखेको सम्पत्ति बैंकले लिलाम गर्न खोजिरहेका छन् । कतिपय बैंकहरुले लिलामीको लागि अन्तिम पत्र पनि पठाइसकेको बुझिएको छ । त्यसको त्रासमा उनी अदालत पुगेका हुन् । उनी छिट्टै बैंकको कालोसूचीमा पर्ने सम्भावना छ । त्यसपछि उनको व्यवसायिक यात्रा समाप्ततिर जाने निश्चित छ ।

बैंकको कर्जा नतिरेर कोही पनि ठूलो व्यवसायी बनेको उदाहरण छैन । कुनै बेला नेपालबाट सबैभन्दा बढी निर्यात गरेर राज्यबाट धेरै वर्ष सम्मानित भएका चण्डिराज ढकाल बैंकको कर्जा तिर्न ल्याङल्याङ गरेकै कारण उनी असफल व्यवसायीका रुपमा स्थापित भए । कुनै बेला नेपालको टप फाइभमा पर्ने पीयुस बहादुर अमात्यको कथा पनि त्यस्तै छ । दीव्यराज राजभण्डारीको कथा पनि त्यस्तै छ । र, ऋण नतिर्ने अभियानले बैंकलाई भन्दा बढी दुर्गा प्रसाईलाई नै क्षति हुने पनि निश्चित नै छ । नेपालको कानुनले पनि ऋणिलाई भन्दा बैंकलाई नै बढी अधिकार दिएकोले तत्कालका लागि दुर्गा प्रसाईंले लाभ पाए पनि अन्तिममा बैंकहरु नै माथि पर्ने निश्चित छ । त्यति बेलासम्म उनी धेरै थाकिसकेका हुनेछन् ।

सम्बन्धित सामग्री :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.