२०८० असार २९ गते १९:११ विकासन्युज
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का पदाधिकारीले विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेका छन् ।
सिएनआईका पदाधिकारीले शुक्रबार उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर पीपीए खुलाउन भनेका हुन् ।
प्रधानमन्त्रीले केही समयअघि गरेको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरेकाले जलविद्युत आयोजनाको पीपीए पूर्णरुपमा खुला गर्नुपर्ने सीएनआईका अध्यक्ष राजेश अग्रवालले बताए ।
सिंहदरबारमा भएको मन्त्री बस्नेतसँगको भेटमा नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाईन निर्माण तथा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन पनि सिएनआईका पदाधिकारीले आग्रह गरेको सिएनआईले विज्ञप्ति जारी गरेर बताएको छ ।
पछिल्ला दिनमा उद्योगहरुले सहजरुपमा विद्युत नपाउँदा उद्योगको उत्पादन लागत बढेको र त्यसमा आवश्यक समन्वय गरिदिन उर्जा मन्त्रीलाई आग्रह गरेका छन् ।
उद्योगीहरुसँगको भेटमा मन्त्री बस्नेतले समग्र उर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्धता व्यक्त गरेको सिएनआईले बताएको छ ।
१० हजार मेगावाट विद्युत उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उर्जा मन्त्री बस्नेतले बताएका छन् । उर्जा क्षेत्रको विकासका लागि ‘उर्जा दशक’ घोषणा गरी अगाडि बढ्न गृहकार्य गरिरहेको मन्त्री बस्नेतले बताए ।
मन्त्री बस्नेतसँगको छलफलमा सिएनआईका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे र अमित मोर पनि सहभागी थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.