१६ सहकारी खारेज गर्दै ललितपुर महानगर, ८ करोड अपचलन गर्ने दुई सहकारी प्रहरीको निगरानीमा

  २०८० साउन २ गते ९:११     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाले गत चैत्र २२ मा सहकारीको अद्यावधिक विवरण पेस गर्न भन्दै सूचना जारी गरेको थियो ।

महानगरले विशेषगरी, २६ वटा सहकारीलाई लक्षित गरेर सूचना जारी गरेर ३० दिनमा विवरण अध्यावधिक गर्न भनेको थियो ।

ती सहकारी संस्थाहरूले ५ वर्षभन्दा बढी अवधिदेखि लेखा परीक्षण र साधारण सभाको विवरणसमेत नबुझाएपछि सूचना जारी गरिएको महानगरका सूचना अधिकारी तथा सहकारी विभागका प्रमुख देवप्रसाद गुरागाईले बताए ।

महानगरको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) ले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र साधारण सभा गर्नुपर्ने व्यवस्था गरेको छ । दफा ५३ को उपदफा (१) ले भने आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र संस्थाको कारोबारको लेखा परीक्षण गराउनु पर्ने भनेको छ ।

त्यसरी विवरण अद्यावधिक नगरेका २६ मध्ये सूचना जारी भएपछि १० वटा सहकारीले मात्रै विवरण अद्यावधिक गरेको गुरागाईले बताए । बाँकी १६ सहकारी भने अझै सम्पर्कमा आएका छैनन् ।

सम्पर्कमा नआएका सबै सहकारीलाई एकमुष्टरुपमा खारेजी गर्ने तयारी गरिएको गुरागाईले बताए ।

सम्पर्कमा नआउनेमा गेट बचत तथा ऋण सहकारी, संकल्प बचत तथा ऋण सहकारी, गंगा सागर बचत तथा ऋण सहकारी, रातो मच्छिन्द्र गृहश्रमिक महिला सिपमुलक सहकारी, पासा पुच बचत तथा ऋण सहकारी र रिद्धिसिद्धि बचत तथा ऋण सहकारीलाई खारेज गर्ने प्रक्रिया महानगरले सुरु गरेको छ ।

यस्तै, सनापाताल बचत तथा ऋण सहकारी, पूर्णचण्डी बचत तथा ऋण सहकारी, सिलौटी बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी, जेनिथ बचत तथा ऋण सहकारी, समभाव बचत तथा ऋण सहकारी, ललितपुर वातावरण सफाई सहकारी, खोकना पर्यटन सहकारी र नव जागरण कृषि सहकारी गरी जम्मा १६ वटा संस्थालाई खारेज गर्ने तयारी रहेको महानगरले बताएको छ ।

‘यी सहकारी खारेजी हुन लागेको सूचना केही दिनमा प्रकाशन गर्दै छौं । त्यसपछि खारेजीको प्रक्रियामा जान्छ’, गुरागाईले भने ।

८ करोड अपचलन

ललितपुर महानगरपालिकाले दुई वटा सहकारी संस्थालाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । सहकारीले बचतकर्ताको करोडौं रुपैयाँ रकम हिनामिना गरेको भन्दै महानगरले कानुनी कारबाही गर्न प्रहरीमा पत्र पठाएको हो ।

ओम शान्ति र लभ नेपाल सहकारी संस्थालाई कारबाहीको माग गर्दै महानगरले प्रहरीलाई पत्र पठाएको गुरागाईले बताए । ओम शान्तिले करिब ६ करोड र लभ नेपाल सहरकारीले २ करोड रुपैयाँ रकम हिनामिना गरेको छ ।

बचतकर्ताको रकम लिएर फरार भएका सो सहरकारी वषौंदेखि सम्पर्कमा नआएपछि कारबाहीको प्रक्रियामा जानु परेको गुरागाईले बताए ।

ललितपुर महानगरमा ३१९ वटा सहरकारी दर्ता भएका छन् ।

गत वर्ष नै खारेज भए १० सहकारी खारेज

ललितपुर महानगरले गत वर्ष १० वटा सहकारीलाई खारेज गरेको छ । लामो समयदेखि विवरण अद्यावधिक नगरेका र सम्पर्कमा नआएका सहकारी खारेज गरेको गुरागाईले बताए ।

महानगरले २०७९ माघ २९ को निर्णयबाट सहकारी खारेज गरेको थियो ।

महिला सीप विकास, बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारषीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडिबुटि सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी खारेज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.