तनहुँमा उद्योग दर्तामा कमी, एक वर्षमा ६०३ उद्योग दर्ता

  २०८० साउन ३ गते १६:३७     विकासन्युज

दमौली । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ ।

देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । गत वर्षभन्दा यो वर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा सबैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएका छन् । उक्त अवधिमा कृषि तथा वन पैदावरतर्फ तीन सय १८ उद्योग दर्ता भएका छन् ।

कृषि उद्योगतर्फ युवाहरुको आकर्षण बढेकाले यसतर्फ धेरै उद्योग दर्ता भएको उनको भनाइ छ । उनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

यो अवधिमा उत्पादनमूलकतर्फ ५०, कृषि तथा वन पैदावरतर्फ तीन सय १८, पर्यटनतर्फ एक सय १९, सेवातर्फ एक सय दश, पूर्वाधारतर्फ तीन र सूचना तथा सञ्चार प्रविधिमा आधारित तीन उद्योग दर्ता भएको कार्यालयले जनाएको छ । तनहुँमा थपिएका उद्योगको कूल पुँजी एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब २० करोड ४४ लाख १४ हजार एक रूपैयाँ रहेको छ । थपिएका उद्योगमा छ सय २८ जनाले रोजगारी पाएका छन् ।

गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । त्यसमध्ये उत्पादनमूलक एक सय छ, कृषि तथा वन पैदावरमा आधारित आठ सय दश, पर्यटनतर्फ दुई सय ५६, सेवातर्फ दुई सय ३८ र सूचना प्रविधिमा आधारित चार उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा दुई हजार एक उद्योग दर्ता भएका थिए। त्यस्तै आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा तीन हजार पाँच सय १५ उद्योग थपिएका थिए ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा वाणिज्यतर्फ नौ सय ९८ फर्म दर्ता भएका छन् । त्यस्तै एक हजार ७२ नवीकरण, २५ नामसारी, छ ठाउँसारी, एक सय ६४ को पुँजीवृद्धि, २२ को नाम परिवर्तन, ६३ को उद्देश्य थप भएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.