२०८० साउन १२ गते १४:०५ विकासन्युज
काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले अहिले सहकारीलाई सुत्केरी व्यथा लागेको टिप्पणी गरेका छन् ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले तयार गर्ने प्रतिवेदनमा सुझाव दिनका लागि शुक्रबार आयोजना गरिएको कार्यक्रममा रजिस्ट्रार घिमिरेले सहकारीलाई व्यवस्थित गर्नका लागि कठोर निर्णय लिनुपर्ने बताएका हुन् ।
‘सहकारीलाई सुत्केरी व्यथा लागेको छ, यो प्रशव व्यथा जटिल छ । अपरेशन गर्नुपर्ने अवस्था हुनसक्छ’, घिमिरेले भने ।
सहकारी क्षेत्रमा गम्भीर सुधारको आवश्यकता रहेको र त्यसका लागि कठोर निर्णय गर्नु पर्ने उनले बताए ।
‘सहकारी सापटीको लागि हो, ऋणको लागि हो । सापटीमा धितो हुँदैन र करोडौं ऋण पनि हुँदैन । सहकारीबाट सापटी लिएर गर्जो टार्ने हो व्यवसाय गर्ने होइन’, घिमिरेले भने ।
सहकारीमा अहिलेको जस्तो अवस्था आउनुमा को कति जिम्मेवार छन् ?सञ्चालकबाट के कति गल्ती भयो ? नियामकको के कति कमजोरी भयो ? भन्ने विषयको खोजी गरिनुपर्ने उनले बताए ।
‘सहकारीमा यस्तो अवस्था आउन हुँदैनथ्यो । सहकारीका बचतकर्ता र सञ्चालकबाट पनि आन्दोलन गर्ने अवस्था आउनु हुन्थेन । यसको सिद्धान्तले यस्तो परिकल्पना गरेको पनि छैन । सहकारीलाई कुन भूमिकामा राख्नुपर्छ भन्ने ढंगबाट काम गर्नु पर्नेछ’, घिमिरेले भने ।
सहकारीका नियामकहरु पुनरावलोकनको लागि सोचिरहेको र यस विषयमा सुझाव माग गरिरहेको उनले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.