२०८० साउन १६ गते १४:१३ विकासन्युज
काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका अध्यक्ष हुन् भक्तसिंह ठेकरे बोहरा । सुदुरपश्चिम प्रदेशकै दुर्गममध्येमा पर्ने उक्त गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन प्रवर्द्धनमा लागेका छन् उनी । त्यसबाहेक, गाउँपालिकामा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नमुना काम गर्न लागिएको अध्यक्ष बोहराले बर्ताका छन् । उनै अध्यक्ष बोहरासँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको करिब डेढ वर्ष हुन लाग्यो, निर्वाचित भए पश्चात् पालिकामा उल्लेख्य के काम गर्नुभयो ?
हामी निर्वाचित भएर आइसकेपछि पालिकाभित्र उल्लेखनीय काम भएका छन् । हाम्रो पालिका सुदूरपश्चिम प्रदेशकै विकट तथा दुर्गम क्षेत्रमा पर्छ । पूर्वाधार विकासका काम न्यून मात्रामा भएका थिए । हामीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन आदि क्षेत्रलाई प्राथमिकता दिएर काम अगाडि बढाएका छौं । पालिकामा आकर्षक पर्यटकीय गन्तव्य छन् । ती स्थानहरूको पहिचान गर्दै प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक पालिकामा ल्याइरहेका छौं । यसले यहाँका नागरिकहरूको जीविकोपार्जन सहयोग पुगेको छ ।
यहाँका नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । शिक्षा क्षेत्रमा सुधार र परिवर्तन गर्नुपर्छ भनेर सबै विद्यालय भौतिक पूर्वाधार निर्माणसहित शैक्षिक गुणस्तरका कार्यक्रमहरू सञ्चालन गरेका छौं । हामीले योजनाबद्ध तरिकाले विकासको काम अघि बढाएका छौं ।
गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षलाई भ्रमण वर्षकोरूपमा मनाउने योजना बनाएको छ, यस वर्ष कति पर्यटक भित्र्याउने तपाईंहरुको लक्ष्य हो ?
हामीले चालु आर्थिक वर्ष २०८०/८१ लाई अपिहिमाल भ्रमण वर्षकोरूपमा मनाउने घोषण गरेका छौं । गत वर्ष हामीले अपिहिमाललगायत पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारको लागि अपिहिमाल वेस क्याम्प भ्रमण सप्ताह कार्यक्रमको आयोजना गरेका थियौं । भ्रमण सप्ताह कार्यक्रम सञ्चालन गर्दा यहाँ पर्यटकको उपस्थिति एकदमै राम्रो थियो ।
गाउँपालिकाको पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार र पर्यटन विकासमा यो कार्यक्रम कोशेढुङ्गाकोरूपमा सावित हुने अपेक्षा राखेका छौं । हाम्रो यस वर्ष तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याने उद्देश्य हो । हाम्रो कार्यकालमा गाउँपालिकाभित्र १० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेका छौं । गाउँपालिकाले पर्यटन प्रवद्र्धन तथा विकासका लागि आवश्यक गृहकार्य गरिरहेको छ ।
तपाईंहरुले के विषयलाई प्राथमिकता थिएर पर्यटन प्रवर्द्धनको काम गरिहनुभएको छ ?
सुदूरपश्चिमका अधिकांश पर्यटकीय स्थलहरू भर्जिन छन् । पूर्वी भेगका धेरै ठाउँहरू आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिसकेका छन् । सुदूरपश्चिम पर्यटकको लागि नौलो ठाउँ हो । त्यसमध्ये पनि हाम्रो गाउँपालिकामा प्रदेशकै अग्लो अपिहिमाल छ । त्यसैले यहाँ हिमाल आरोहण तथा ट्रेकिङका पारखीहरू पनि आउन सक्ने भए । गाउँपालिकामा सुन्दर रमणीय स्थानको कमी छैन । जसले गर्दा पर्यटनलाई यहाँको प्राकृतिक सुन्दरताले लोभ्याउँछ । धार्मिक पर्यटकहरू पनि आउँन सक्ने भए । यहाँ ऐतिहासिक तथा धार्मिक क्षेत्रहरु पनि प्रसस्त छन् । पर्यटकीय क्षेत्रहरूलाई सफा राख्नको लागि प्लास्टिक निषेधको घोषणा गरेका छौं । पर्यटकलाई लक्षित गर्दै ग्रामीण बस्तीहरूका होमस्टेहरू सञ्चालनमा ल्याएका छौं । त्यी होमस्टेहरूले मौलिक खानेकुरा पस्कन्छन् । यहाँको टिपिकल स्वादसँगै अवलोकन गर्न पर्यटकहरू आउन सक्ने भए ।
युवालाई विदेशिन रोकेर गाउँमै रोजगार बनाउन स्थानीय तहको ठूलो भूमिका रहन्छ । तपाईंले गाउँपालिकामा युवा लक्षित रोजगारीको लागि कस्तो नीति बनाउनुभएको छ ?
गाउँपालिकाले युवालाई कृषि र पर्यटकीय क्षेत्रमा जोड्नको लागि पहल गरिरहेको छ । गाउँपालिकालाई पर्यटकीय हब बनाएपछि यहाँ प्रशस्त पर्यटक भित्रिन्छन् । पर्यटनको आवागमन बढ्यो भने यहाँ उत्पादन भएको सामाग्री पनि सहजै बिक्री गर्न सकिन्छ भनेर गाउँपालिकाले युवालाई यस क्षेत्रमा जोड्न खोजेको हो ।
त्यसका लागि गाउँपालिकाले युवालाई टुरिस्ट गाइड, लघु उद्यम, होटल व्यवसाय आदिको तालिम पनि दिँदै आएको छ । हामीले यस वर्षदेखि उद्यम गर्न चाहने युवाहरूको लागि न्यून ब्याजदरमा बिना धिता दुई लाखसम्म व्यवसायिक ऋण उपलब्ध गराउने छौं । युवालाई उक्त कर्जा युवा स्वरोजगार संघको सहकार्यमा दिने योजना बनाएका छौं । गाउँपालिकाले यस कार्यक्रमलाई छिट्टै कार्यान्वयन गरी युवालाई सहुलियत तरिकाले कर्जा प्रवाह गर्ने छौं । करिब ४०/५० जना युवालाई कर्जा दिने कोष पनि खडा गरेका छौं । युवालाई स्वदेशमै टिकाउन र व्यवसायमा आबद्ध गर्नका लागि विभिन्न कार्यक्रमहरू पालिकाले गरिरहेको छ ।
स्थानीय उत्पादनमा जोड दिँदै औद्योगिक क्षेत्रको विकासमा कस्ता रणनीतिहरू अपनाउनुभएको छ ?
हामीले लघु उद्यम मार्फत स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्नुपर्छ भनेर लागेका छौं । गाउँपालिकाले युवालाई बेलाबखत व्यवसायिक तालिम दिँदै आएको छ । गाउँपालिकाले युवाहरूलाई घरेलु उद्योगबाट बिस्कुट, ऊनका कपडा, टमाटरको सस्, सिलाई कटाइ आदीको तालिम दिएका छौं । जसले युवालाई उद्यमी बन्न र घरेलु उद्योग सञ्चालन गर्नमा मद्दत र प्रोत्साहन गर्ने छ ।
शैक्षिक गुणतर तथा विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने काममा पालिका कसरी काम गरेको छ ?
गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्नुपर्ने छ । किनभने समाजको मेरुदण्ड नै शिक्षा हो । त्यसैले यस क्षेत्रलाई गाउँपालिकाले पहिलो प्राथमिकताकोरूपमा लिएको छ । निर्वाचित भए पश्चात् सुविधा सम्पन्न भौतिक संरचनामा पठन पाठन सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले काम गर्यौं । हाल करिब ७० प्रतिशत विद्यालयका भौतिक पूर्वाधारको काम सम्पन्न गरेका छौं । हामीले हाम्रो कार्यकालभित्र सम्पूर्ण विद्यालयको भौतिक संरचना निर्माणको काम सम्पन्न गर्ने छौं । कक्षा तथा विषयगत शिक्षकको व्यवस्थापन सबै विद्यालयमा गरेका छौं ।
गत आर्थिक वर्षबाट शिक्षकलाई तालिम दिने कामको सुरुवात गरेका छौं । त्यसले शैक्षिक गुणस्तर अभिवृद्धीमा सहयोग पुग्ने नै छ । गाउँपालिकाले यस वर्षदेखि शैक्षिक क्यालेन्डर पनि लागु गरेको छ । कुन समयमा के काम गर्ने भनेर पहिला नै तयारी गरेका छौं । विद्यार्थीलाई सिक्दै कमाउँदै, पढ्दै कमाउँदै गर्ने कार्यक्रम जोडेमा छौं । प्राविधिक धार भएका विद्यालयलाई हाल सो कार्यक्रममा जोडेका हौं । विद्यार्थीले विद्यालयमै च्याउ उत्पादन, मौरी पालन, फलफूल खेतीको सुरुवात गरेका छन् ।
हप्ताको एक पटक अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूको सहभागिता गराउनु पर्ने व्यवस्था मिलाएका छौं । त्यसले पनि विद्यार्थीको मानसिक तथा बौद्धिक विकास गर्ने छ ।
‘सिक्दै कमाउँदै’ भन्ने कार्यक्रम कसरी कार्यान्वयन गरिराख्नु भएको छ, यो कार्यक्रम गाउँपालिकाका कति वटा विद्यालयमा लागू भएको छ ?
हाम्रो गाउँपालिकाको एउटा विद्यालयमा मात्रै यो कार्यक्रम लागू भएको छ । जहाँ प्राविधिक धारतर्फको बाली विज्ञान शिक्षा पढाइ भइरहेको छ । यसलाई क्रमागतरूपमा अन्य विद्यालयमा पनि लागू गर्दै जान्छौं । पालिकाले यस कार्यक्रमलाई गत वर्षदेखि लागु गरेको हो । यस वर्ष सिकाइ केन्द्र बनाएर किसानहरूलाई पनि विद्यालयसँग जोड्ने कार्यक्रम रहेको छ ।
गाउँपालिकाबासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति कसरी दिलाउनुभएको छ ?
हाम्रो गाउँपालिका विटक क्षेत्रमा पर्छ । जसले गर्दा यस क्षेत्रमा थुप्रै समस्याहरू छन् । स्वास्थ्यका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने जमर्को गरिरहेका छौं । तथापि स्वास्थ्य क्षेत्रको काम प्रभावकारी हुन सकिरहेको छैन । स्वास्थ्यका कार्यक्रम प्रभावकारी कसरी बनाउने भन्ने कुरामा गाउँपालिको ध्यान केन्द्रित नै छ । जेष्ठ तथा असहाय नागरिकको लागि घरमै गएर स्वास्थ्यका सेवा दिँदै आएका छौं । यसका साथै गाउँपालिकाभित्रै स्वास्थ्यका शिविरहरू सञ्चालन गर्दै आइरहेका छौं । यसपटक भने जटिल बिरामीहरूको उपचारको लागि बजेट पनि छुट्याएका छौं । विशेषज्ञहरूसँग हाम्रो स्वास्थ्यकर्मीलाई जोडेर त्यसको रोकथामका उपायहरू सुरूवात गर्ने लागेका छौं ।
गाउँपालिकाले ‘एक घर, एक घारा’को नीति गाउँपालिकाले लिएको धेरै समय भइसक्यो तथापि अझै पनि प्रत्येक घरमा पानी पुर्याउँन सकस पर्याे नि किन ?
एक घर एक घाराको नीति लिएता पनि बजेट अभाव भएका कारण सबै ठाउँमा पानीको धारा पुर्याउन गाह्रो परेको हो । हामी निर्वाचित हुनुभन्दा अघि झन्डै ७५ प्रतिशत घरधुरीमा यस कार्यक्रम अन्तर्गत पानी पुर्याइसकिएको थियो ।
हामी आइसकेपछि गाउँपालिकाकै लगानीमा ५ वटा खानेपानीको आयोजनाको काम सम्पन्न भएका छन् । हाल ९२ प्रतिशत खानेपानी आयोजनाको काम सम्पन्न भएको छ । अब ८ प्रतिशत मात्र काम हुन बाँकी छ । चालु आर्थिक वर्षमा २ वटा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने योजना बनाएका छौं । यसै वर्ष एक घर एक धारा कार्यक्रम सम्पन्न गर्ने छौं ।
बजेट कार्यान्वयनको तयारी के छ ?
हामीले बजेट कार्यन्वयनलाई प्रमुख प्राथमिकता दिएका छौं । गत आर्थिक वर्षमा दार्चुला जिल्लाको सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने पालिकामध्ये हाम्रो पालिकाको नाम आउँछ । हामीले ९० प्रतिशत पुँजीगत खर्च गरेका थियौं । ८७ प्रतिशत जति चालु खर्च गरेका छौं । यद्यपि संघीय सरकारको बजेट कटौति गर्दा केही कार्यक्रमहरू गर्न सकेनौं । सोही कारण केही आयोजनाहरु सम्पन्न हुन सकेनन् । यस पटक पनि छिटोभन्दा छिटो बजेटको कार्यान्वयन गरी योजनाहरू अगाडी बढाउने तयारी गरिरहेका छौं ।
अन्त्यमा, तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ?
हामीले ५ वर्षभित्रमा धेरै काम गर्ने सोच बनाएका छौं । हाम्रो कार्यकालमै सदरमुकामसम्म सडक पुर्याउँने र वडा कार्यालयसम्म सडक सञ्जालले जोड्ने योजना छ । ती कुरामा हामी फोकस छौं । हाम्रो गाउँपालिका जलविद्युतको हब पनि हो । यहाँ सानादेखि ठूला जलविद्युत आयोजनाहरु निर्माण गर्न सकिन्छ । यहाँ राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण भएको छैन । हामीले करिब २ वर्षभित्र गाउँपालिकाका सबै घरमा विद्युतिकरण गर्ने गरी तयारी गरेका छौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
GOOD MR BORA JEE.