२०८० साउन १८ गते १२:४० विकासन्युज
काठमाडौं । काठमाडौंको किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) शैक्षिक कार्यक्रम सञ्चालनमा साझेदारी गर्ने घोषणा गरेका छन् । कलेज तथा संस्थाले बिहीबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा एआई अन्तर्गत छ महिने कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् ।
कलेज तथा संस्थाको सहकार्यमा एआई सम्बन्धी विभिन्न प्रकारको विशिष्टीकृत पाठ्यक्रम निर्माण गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । सम्झौताअनुसार विभिन्न व्यक्ति तथा संस्थाहरुको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गरिने गरिने छ । पहिलो चरणको कार्यक्रममा सूचना तथा इन्जिनियरिङ क्षेत्रमा रुची राख्ने व्यक्तिहरुलाई लक्षित गरेर एआईको क्षेत्रमा रुची राख्ने जो सुकैलाई सहभागी गराइने जनाइएको छ ।
सम्झौता कार्यक्रममा बोल्दै किङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले पछिल्लो समय विश्वमा मूलधार प्रवृत्तिको रुपमा विकास भइरहेको एआईको क्षेत्रमा नेपालले पनि विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ एआई शैक्षिक कार्यक्रम सञ्चालनको लागि नामीसँग साझेदारी गरिएको बताए । साथै उनले समय सापेक्ष समाजको आवश्यकताअनुसार नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्दै शिक्षामा नवीनतम प्रयोग गर्दै आएको किङ्स कलेजले शिक्षामा एआईको प्रयोगले ल्याउन सक्ने अवसरलाई आत्मसात गर्दै सो कदम चालेको बताए ।
त्यस्तै, नामीका संस्थापक डा. विशेष खनालले एआईलाई प्रयोग गर्ने मात्र नभई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने एआई आधारित सफ्टवेयरहरु बनाउ सक्ने जनशक्ति देशभित्रै तयार गर्ने सो कार्यक्रमको उद्देश्य रहेको बताए । विश्वका उत्कृष्ट प्रयोगशाला र विश्विद्यालयहरुमा अध्यापन तथा अन्वेशण गरिरहेका एआई विज्ञहरुको प्रत्यक्ष संलग्नतामा प्राज्ञिक शिक्षा प्रदान गरिने डा. खनालको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.