सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी बिच्छेद

  २०८० साउन २२ गते १०:४५     सन्तोष रोकाया

काठमाडौं । यदि तपाईं कुनै सहकारीको सदस्य हुनुहुन्छ र तपाईंको पैसा सहकारीमा फसेको छ भने श्रीमती वा श्रीमानसँग तपाईंको सम्बन्ध कस्तो छ ? राम्रो, सन्तोषजनक वा चिन्ताजनक ? पछिल्लो समय सहकारीमा देखिएको सकस र त्यसले सदस्यहरुमा पारेको पीरले अधिकांश सहकारीका सदस्यहरुको दम्पतीच राम्रो सम्बन्ध नभएको विभिन्न घटनाक्रमहरुले देखाएको छ ।

सहकारीमा बचत गरेको ठूलो रकम सञ्चालकहरुले झ्वाम पारेपछि सदस्यहरुको बिचल्ली भएको र त्यसले घर झगडा, कलह र अन्त्यमा सम्बन्ध बिच्छेदसम्मका घटना हुने गरेका उदाहरणहरु व्याप्त सुनिन्छन् ।

सुरुमा बहस गरौं सहकारीका सदस्यको बचत ठग्ने सञ्चालकहरुको । कानुनका छिद्रहरु प्रयोग गरेर पीर पार लगाउने अनेक जुक्तीहरु हुन्छन् हुनेखानेहरुसँग । उनीहरुले आफ्नो टाउको माथिको बोझ हटाउन यतिसम्मको घृणित काम गर्छन् भन्ने सोच्न धेरै टाढा जानु पर्दैन । उनीहरुले विभिन्न उपायहरु अपनाएर समस्याबाट भाग्ने प्रयत्न गर्छन् । तर, अन्तिममा आफ्नो निर्णय नै उनीहरुका लागि महँगो सावित हुन हुन्छ । र, विडम्वना बास जेलको हुन्छ ।

कुनै मान्छे चाँडै धनी बन्ने सपना राख्छ भने उसले सहकारी खोल्ने प्रवृति र अभ्यास थियो कुनै बेला । त्यो नीति निर्माता होस्, सरकारी कर्मचारी वा कुनै व्यवसायी नै किन नहोस् । सहकारी खोलेर मनग्य कमाउने धन्दामा लाग्थे उनीहरु । कुनै पनि क्षेत्रमा काम गर्न नसकेको व्यक्ति, आफन्त वा नजिकको मान्छे छ भने त्यसलाई नीति निर्माता र सरकारी उच्च तहका कर्मचारीले पनि सहकारी खोलेर खाउ भन्ने गरेको विषयको बहस र छलफल विभिन्न अनौपचारिक फोरमहरुमा पनि नहुने गरेका होइनन् ।

त्यो धन्दा अन्तिममा सम्बन्ध विच्छेदको बाटोमा पुग्छ र त्यो प्रवृति प्रयोग गरेका पात्रहरु पछि प्रक्राउ पर्छन् । यस्तै धन्दामा थिए सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पनि । सामान्य व्यवसायी घरजग्गा र सहकारीको बचतकर्ताकै पैसा प्रयोग गरेर अर्बपतिको लाइनमा आए । तर, पछि तिनै सहकारीका बचतकर्ताको पैसा तिर्न नसकेर उनी अहिले जेलमा छन् ।

त्यो बिचमा उनले त्यो सकसबाट उम्कन अनेक प्रयत्न गरे । यतिसम्मकी श्रीमती सिर्जना शाक्य तामाङसँग सम्बन्ध बिच्छेदसम्मको कागज बनाए । सदस्यहरुबाट ठगेको पैसाले जाडेको सम्पत्ति जोगाउनकै लागि उनले श्रीमती शाक्यसँग मिलेमतो गरेर सम्बन्ध बिच्छेद गरेको हौवा बजारमा फैलाए ।

उनले श्रीमतीसँग डिभोर्स गरेर नै तत्कालीन सिभिल बैंकको संस्थापक सेयर बिक्री गरेका थिए । श्रीमान बैंकको अध्यक्ष भएका बेला श्रीमतीले सेयर बेच्न नपाउने कानुनी व्यवस्था भएपनि उनले सम्बन्ध बिच्छेद गरेर सो सेयर बिक्री गरेका थिए भने सदस्यहरुबाट ठगेको पैसा सम्बन्ध बिच्छेद भइसकेको श्रीमतीको नाममा राखेका थिए । तर, अन्ततः कानुनको कठघरामा भने आउनै पर्छ, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले इच्छाराज र सिर्जनालाई पक्राउ गर्यो ।

यस्तै, सदस्यहरुबाट उठाएको पैसा फिर्ता नगर्ने नियतका साथ श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्ने सहकारीका सञ्चालक हुन् सुधिर बस्नेत । ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत पनि महत्वांकाक्षी व्यवसायी थिए । सहकारीका सदस्यबाट पैसा उठाएर उनी घरजग्गामा लगाउँथे । पछि घरजग्गामा मन्दी आएपछि उनी समस्यामा परे । र, श्रीमतीसँग सम्बन्ध बिच्छेदको नाटक गरे ।

बचतकर्ताको रकम हिनामिना गरेको अभियोग बस्नेत माथि पनि लाग्यो । सदस्यहरुको पैसा फिर्ता गर्न नसकेपछि उनले श्रीमती नितु थापा बस्नेतसँग सम्बन्ध बिच्छेद गरे । त्यसको पुष्टि उनकै श्रीमती नितुले गरेकी थिइन् । नितुले सुधिरसँग सम्बन्ध विच्छेद भएको भन्दै आफ्नो नाममा रहेको सेयर फुकुवा गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा निवेदन पनि दिएकी थिइन् ।

बस्नेत केही समय हिरासतमा पनि बसे । अहिले उनी बचतकर्ताको रकम फिर्ताको अभियानमा लागेका छन् । तर, उनको त्यो सम्बन्ध बिच्छेद पनि नाटक थियो । अदालतमाथि भद्दा मजाक थियो र एउटा समधुर सम्बन्ध भएको दम्पत्तिमाथिको सांकेतिक खेलवाड थियो ।

यस्तै, खेलवाड गरे भरत महर्जनले पनि । जुन खेलवाडमा खलनायकको भूमिकामा रहिन् उनकी श्रीमती राजमाया महर्जन । सुमेरु सहकारीका सदस्यहरुको पैसा ठगेको आरोप उनीमाथि छ । दुई दशकअघिसम्म सामान्य मान्छे व्यवसायी रहेका उनी पछिल्लो समय अर्बपति नै भेर चिनिन्थे । उनले असाधारण व्यवसायिक साम्राज्य खडा गरेका थिए । तर, कालोधनले कसको मन पो सेता हुन्छ होला र ।

सहकारी सकसको ठूलो जञ्जालमा उनी पनि परे । र, सदस्यहरुबाट जोगिन देश नै छाड्नु पर्यो । अहिले उनले सहकारीका बचतकर्ताबाट असुलेको पैसाले जोडेको सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको खुलेको छ । उनी निकट व्यवसायीहरुका अनुसार उनले दुई वर्ष अगाडि नै श्रीमति राजमायासँग सम्बन्ध बिच्छेद गरेका थिए । उनले सम्बन्ध बिच्छेद गरेर अंशबण्डा समेत गरिसकेको बुझिएको छ । हाल उनी स–परिवार बेलायत पुगेको स्रोतको दावी छ ।

यी केही उदाहरण मात्रै हुन् । सहकारीका सदस्यहरुको बचत ठगेर त्यो पैसालाई बचाउत श्रीमतीसँग नक्कली डिभोर्स गर्नेहरुको संख्या बढ्दो छ । तर, ती घटनाहरु भने बाहिर आउन सकेका छैनन् ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार बचतकर्ताको पैसा ठगेको आरोप लागेर अनुसन्धान भइरहेको अधिकांश केसहरुमा यस्ता घटनाहरु देखिएका छन् । सिआईबीका प्रवक्ता सञ्जय सिंह थापाका अनुसार समस्या परेर भन्दा पनि नियमवस् र मिलेमतोमै दम्पत्तिहरुले सम्बन्ध बिच्छेद गर्ने गरेको अनुसन्धानको क्रममा खुल्छ ।

सदस्य दम्पत्तिको सम्बन्ध पनि सकसपूर्ण

रुपन्देहीका बिक्रम पौडेलको जिन्दगाी सहकारीमा बचत गर्नु अघि सामान्य चल्दै थियो । उनले घरसल्लाहमै ललितपुरको देउराली सहकारी र बुटवलको हिमपात बचत तथा ऋण सहकारी संस्थामा बचत गर्ने भए । सुरुमा उनले बचत फिर्ता पनि पाउँथे । तर, जब सहकारीमा समस्या आयो उनलाई पनि सकस पर्यो । उनले आफ्नो बचत फिर्ता पाउन सकेनन् । परिणामस्वरुप उनको पीडा श्रीमतीको सम्बन्धसँग ठोक्कियो ।

आफुले पेटमा लात हानेर सहकारीमा जम्मा गरेको ३५ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेपछि घरमा दिनरात कलह हुन थाल्यो । विदेशमा कमाएको पैसा उनले सुरुमा त बैंकमा जम्मा गरेका थिए । तर, पछि बढी ब्याजको लोभले घरसल्लाहमै सहकारीमा राखे । विडम्वना, उनको त्यो सावाँ ब्याज पनि गुम्यो र जीवन संगिनी पनि सदाका लागि घरबाट बाहिरिन् ।

केही दिन अघि सहकारीको पीडितहरुले गरेको आन्दोलनमा माइतीघरमा आइपुगेका उनले निराश हुँदै भने, ‘त्यही पैसाले मेरो डिभोर्स गरायो, सहकारीमा पैसा जम्मा गरेर ब्याज आएपछि अष्ट्रेलिया जाने योजना थियो, सबै योजना चकनाचुर भयो, घर बिग्रियो, सम्बन्ध बिग्रियो ।’

माइतीघरकै आन्दोलनमा देखिएकी काठमाडौं धापासीकी रञ्जना लामाले पनि सहकारीमा राखेको पैसाले नै श्रीमानसँग सम्बन्ध बिच्छेदको अवस्था आइलागेको गुनासो गरिन् ।

गाडी चालक रहेका श्रीमानबाट आएको पैसा उनले सहकारीमा जम्मा गर्थिन् । तर, अहिले सो पैसा फिर्ता नआएपछि उनी समस्यामा परेकी छिन् । उनको श्रीमानलाई सहकारीमा पैसा जम्मा भएको थाहा थिएन । अहिले थाहा पाएपछि उनलाई घर बस्न सक्ने अवस्था छैन ।

सुरुमा उल्लेख भए अनुसार सहकारीमा पैसा जम्मा गरेका हरेक श्रीमान–श्रीमतीबीच अहिले दरार सिर्जना भएको छ । श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई सराप्दै बस्नुपर्ने बाध्यतामा हरेक दम्पत्ति छन् ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहाल आर्थिक बिचलनका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध बिच्छेद हुने घटना बढेको बताउँछन् । उनका अनुसार सहकारीमा राखेको बचतको कारण सम्बन्ध बिच्छेद भनेर आफुहरुलाई जानकारी हुने नभएपनि आर्थिक बिचलनका समस्याले नै डिभोर्सका निवेदनहरु बढ्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.