२०८० साउन २५ गते १७:१३ विकासन्युज
काठमाडौं । मन्त्रीपरिषदले संघीय संसदमा पेस गर्ने निर्णय गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गोप्य रुपमा उल्ट्याउने काम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा भएको सरकारको गत आवको वार्षिक समिक्षा तथा चालु आवको कार्यसम्पादन सम्झौतामा बोल्दै संसदमा पेस गर्न पास गरिएको शिक्षा विधेयक गोप्य रुपमा उल्ट्याइएको र उल्ट्याउने व्यक्तिको खोजी गर्ने बताएका हुन् ।
मन्त्रीपरिषदले संसदमा पेस गर्न भनेर पास गरेको विधेयक उल्टिएर आएपछि त्यसलाई संसदमा पेस गर्न नसकिएको उनले बताएका छन् । ‘संघीय शिक्षा ऐन शुरुमा जस्तो थियो त्यो बनेर आउँदा त बिल्कुल उल्टो बनेर झन नेगेटिभ भएर आयो भन्ने देखियो र हामीले सदनमा पठाइहाल्न खोजेको ऐनलाई पनि रोक्यौं’, प्रधानमन्त्रीले भने ।
साथै उनले उल्टिएर आएको विधेयकलाई सुधार नगरीकन संसदमा पेस गर्न नहुने समेत बताए । साथै उनले कसले विधेयकको ड्राफ्ट उल्ट्याएको हो भन्ने विषयमा पनि खोजी गर्ने बताएका छन् । उनले भने, ‘यसलाई त सुधार नगरिकन पठाउन हुँदैन भन्यौं । हामी त्यसको खोजिमा छौं, कसले यसो गर्यो, कहाँबाट कुन ठाउँबाट यो भयो भन्ने कुरा ।’
क्याबिनेटमा राम्रोसँग अध्ययन समेत गर्न नपाएको विधेयकको ड्राफ्ट बजारमा गएर बहस भइरहकोमा पनि प्रधानमन्त्री दाहालले आश्चर्य व्यक्त गरेका छन् । ‘अर्कोतिर क्याबिनेटमा हामीले राम्रोसँग हेर्न पाएकै छैनौ मिडिया र बजारमा यो गलत र सही भन्ने आउने स्थिति कसरी भयो ? या त त्यो विषयमा कि त त्यो विषयमा पार्टनरहरुको पहिल्यै नै सल्लाह गरेर छलफल गरेर राय सल्लाह लिने हुन पर्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘टुंगिएको विषय बजारमा सरकारको हातमा भन्दा पहिले कसरी पुग्यो भन्ने कुरा पनि अल्लि गम्भिर नै देखिएको छ ।’
अर्को प्रसंगमा मन्त्री तथा सचिवहरुलाई लक्षित गरेर बोल्दै प्रधानमन्त्री प्रचण्डले क्याबिनेटले गरेका निर्णयहरु कार्यान्वयन गर्न कठिनाइ भएको समेत बताए । ‘कैयौं निर्णय क्याबिनेटले गर्छ, क्याबिनेटको निर्णय लागू हुन अप्ठयारो भएको स्थिति बडो अनौठो स्थिति एकआध देखा पर्यो ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.