२०८० साउन ३० गते १७:५५ विकासन्युज
काठमाडौं । नेपाली कांगेसका नेता तथा मेडिकल कलेज सञ्चालक डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले साउन २५ मा पक्राउ गर्दा देश नै तरङ्गीत बन्यो ।
सत्तारूढ दलको बहालवाला सांसद पक्राउ पर्दा कतिपयले आश्चर्यसमेत व्यक्त गरे । डा. शर्मा पक्राउ परेपछि अरू पाँच जना डाक्टर पनि सोही दिन पक्राउ परेका थिए ।
कांग्रेसको संस्थापन इतर खेमामा रहेका डा. शर्मालाई पक्राउ गर्नकै लागि अन्य डाक्टरलाई समेत पक्राउ गरेको टिप्पणी भएपछि सिआइबीले त्यसको खण्डन गरेको छ ।
डा. शर्माको शैक्षिक प्रमाणपत्र नक्करी रहेको उजुरीको आधारमा उनीमाथि पटक पटक अनुसन्धान भएको छ । गत साउन ५ गते मेडिकल काउन्सिलबाट शर्माको बारेमा थप जानकारी आएपछि सिआईबीले अनुसन्धानको लागि प्रक्राउ गरेको सिआइबीका अधिकारीहरुले बताएका छन् ।
विभिन्न विश्वविद्यालयमा अध्ययन गरेको भनिएका मध्ये ८०९ जना डाक्टरको प्रमाणपत्रमाथि सिआइबीले २०७३ सालमा अनुसन्धान गरेको थियो । जसमध्ये १०९ जनाको सर्टिफिकेटलाई भारतको ‘बिहार इक्जामिनेसन बोर्ड’ले अनभेरिफाइड भनिदिएको थियो । सोही बोर्डबाट प्राप्त अनभेरिफाइडको सूचीमा डा. सुनिल शर्माको नाम समेत उल्लेख छ ।
त्यतिबेला सिआइबीले शुरु गरेको ‘अपरेसन क्वाक’ अन्तर्गत ५९ जना मात्रै पक्राउ परेका थिए । बाँकी ५० जना भने फरार भएका थिए । त्यसबेला पक्राउ पर्ने डरले शर्मा पनि फरार भएका थिए ।
पछि उनी नेपाली कांग्रेसकोतर्फबाट संसदीय राजनीतिमा आए । २०७४ को निर्वाचनमा पराजय भएका शर्मा २०७९ को निर्वाचनबाट भने सांसद बनेर आाए ।
त्यसबेला सिआइबीले पक्राउ परेका विरुद्धमा मात्रै अदालतमा मुद्दा दर्ता गरेको थियो । सिआइबीले अदालतमा मुद्दा दर्ता गरेकामध्ये कतिपय साधारण तारेखमा छुटे भने केहीले २५ लाख रूपैयाँसम्म धरौटी बुझाएर छुटेका थिए ।
मेडिकल काउन्सिलले गत साउन ५ मा डा. सुनिल शर्मासहित १३ जनाको प्रमाणपत्र अनुसन्धान गर्न सिआइबीलाई पत्र पठाएको थियो ।
मेडिकल काउन्सिलको त्यहीँ सूचीमाथि सिआइबीले ‘अपरेसन फस्ट्रोट’ सञ्चालन गरेर १३ जनालाई नै गिरफ्तारको प्रयास गरेको तर, ७ जनालाई मात्रै पक्राउ गर्न सकिएको सीआईबीका एक अधिकारीले बताए । बाँकी ६ जना भने फरार छन् ।
डा. शर्माले रिहा भएपछि सरकारले प्रतिशोध साँध्न गिरफ्तार गरेको बताउँदै आएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.