२०८० भदौ ५ गते १०:३३ विकासन्युज
काठमाडौं । सामुदायिक स्कुलमा अध्यापन गराउने शिक्षकहरु बिदा स्वीकृत नगराई लामो समयसम्म स्कुलमा उपस्थित नभएमा वा अन्य नियम तथा आचारसंहिता उल्लंघन गरेमा तलब रोक्कादेखि बर्खास्त सम्म गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको छ । केन्द्रले भदौ ४ गते इकाईहरुलाई परिपत्र जारी गदैं सो निर्देशन गरेको हो ।
‘शिक्षा विकास तथा समन्वय इकाईबाट कतिपय शिक्षकहरु बिदा स्वीकृत नगराई लामो अवधिसम्म विद्यालयमा अनुपस्थित रहने, विद्यालय र सम्बन्धित निकायले ताकेता गर्दा समेत जवाफ नदिने, सम्पर्कमा नआउने, लामो अवधिपछि राजीनामा पेस गर्ने एवं सेवा सुविधा प्राप्त गर्नका लागि सिफारिस माग गर्ने गरेको अवस्थामा के गर्ने भन्ने द्विविधा भएको व्यहोरा उल्लेख गरी निर्देशनका लागि यस केन्द्रमा लेखी आएको’ उक्त निर्देशन गरेको हो ।
शिक्षा नियमावलीको नियम १३५ देखि १४३ सम्म नियम विपरित कार्य गर्ने शिक्षकलाई सजाय सम्बन्धी कानुनी व्यवस्था भएको उल्लेख गर्दै केन्द्रले उक्त व्यवस्थाअनुसार कारवाही गर्न निर्देशन गरेको छ । शिक्षकले नियम तथा आचारसंहिता उल्लंघन गरेमा उसलाई नसिहत दिने, बढीमा पाँचवर्षसम्म तलब वृद्धि रोक्का गर्ने, बढीमा दुई वर्षसम्म बढुवा रोक्का गर्ने, भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा शैक्षिक नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट हटाउने व्यवस्था शिक्षा नियमावली नियम १३५ मा व्यवस्था गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.