आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

  २०८० भदौ १० गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रबद्र्धन गर्न, पर्यटन प्रबद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यवसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।


यसका लागि नेपाली दूतावासहरुले व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजिकरण गर्नुपर्ने उनले बताए ।

भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा संचालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भइकल एग्रीमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसंघले जोड दिएको बताएको छ ।

मन्त्री साउदले परिसंघले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।

छलफलमा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.