राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !

  २०८० भदौ २० गते १६:०८     सीआर भण्डारी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट गत असार ४ गते मिर्मिरे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष टेकबहादुर बोहरालाई एउटा पत्र आयो । पत्रमा भनिएको थियो, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (ग) बमोजिम तपाईंलाई ५ लाख रुपैयाँ जरिवाना किन नगर्ने ? यस विषयमा स्पष्टिकरण पेश गर्नु होला ।’

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक रेवति प्रसाद नेपालले पठाएको सो पत्र देखेर अध्यक्ष बोहरा चकित बने । पत्रमा थप व्याख्या गरिएको थियो, ‘तपाईंको वित्तीय स्वार्थ रहेको सौगात ट्रेड एण्ड सप्लायर्सबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनका लागि त्यस संस्थाले तोकेको सीमाभन्दा बढी हुने गरी सदस्य ऋणीहरुलाई एग्रो इक्विपमेन्ट लोन स्वीकृत तथा प्रवाह गरी संस्थाको अध्यक्षको हैसियतमा एकिकृत निर्देशन २०७८ को निर्देशन नं ६ को बुँदा नं १ को २ (क) र (ख) मा भएको व्यवस्था क्रमशः संस्थाको हित विपरितको कार्य तथा वित्तीय स्वार्थ हुने कार्यमा संलग्न देखिएको र बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा २३ को उपदफा (१) र (५) मा भएको व्यवस्थाहरुको समेत उल्लंघन हुने गरी संस्थाको कामको शिलसिलामा व्यक्तिगत लाभ लिने कार्य गरे गरेको ।’

अध्यक्ष बोहराले स्वार्थ बाँझिने गरी लघुवित्तबाट कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामाग्री खरिद गराएको राष्ट्र बैंकको पत्रको आशय छ । राष्ट्र बैंकले बोहरालाई उक्त पत्रको स्पष्टिकरण १५ दिनभित्र पेश गर्न निर्देशन दियो ।

लघुवित्तका अध्यक्ष बोहराले पनि राष्ट्र बैंक समक्ष स्पष्टिकरण दिए । उनले सात पेजको स्पष्टिकरण पठाउँदै आफुले गल्ति नगरेको, सो कम्पनी आफ्नो श्रीमतिको नाममा रहेको र आफ्नो गल्ति भए कारवाही भोग्न तयार भएको समेत स्पष्टिकरणमार्फत् जानकारी गराए ।

त्यो बिचमा उनी पटक-पटक राष्ट्र बैंक पुगेर लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपालसँग छलफल पनि गरे । तर, उनको स्पष्टिकरणप्रति चित्त नबुझेपछि राष्ट्र बैंकले उनलाई कारवाही गर्यो । उनलाई ५ लाख रुपैयाँ नगद मात्रै जरिवाना गराएन ५ वर्षका लागि लघुवित्त संस्थाको अध्यक्ष बन्ने बाटो पनि बन्द गरिदियो । राष्ट्र बैंकले कारवाही गरेपश्चात् बोहरा सञ्चालक समितिको अध्यक्षबाट स्वतः हटेका छन् । अहिले अध्यक्षको रुपमा सञ्जय श्रेष्ठले काम गरिरहेका छन् ।

बोहरामाथि राष्ट्र बैंकको निर्देशन तथा तोकिएको सिमा विपरित वित्तीय स्वार्थ रहेको फर्मबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनको लागि संस्थाका सदस्य ऋणीहरूलाई कर्जा स्वीकृत गरेको आरोप छ । साथै, संस्थाको हित विपरित तथा वित्तीय स्वार्थ हुने कार्यमा संलग्न रहेको देखिएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २३ को व्यवस्थाको समेत उल्लंघन गरेको राष्ट्र बैंकको ठम्याइ छ ।

राष्ट्र बैंकको सो कदमप्रति बोहरा असन्तुष्ट बनेका छन् । आफु संस्थाको अध्यक्ष भइसकेपछि संस्थाको राम्रो ग्रोथ भएको, हरेक वित्तीय सूचकहरु सन्तोषजनक भएपनि केही राष्ट्र बैंकका केही व्यक्तिले व्यक्तिगत इगोका कारण आफुलाई कारवाही गरेको आरोप बोहराको छ । आफ्नै संस्थाको प्रमुख कार्यकारी अधिकृत र कार्यकारी निर्देशक नेपालको मिलेमतोमा आफुलाई कारवाही भएको उनको आरोप छ ।

‘राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालज्यूले नियतवश मलाई हटाउनु भएको हो, उहाँको इच्छा मलाई संस्थाको अध्यक्षबाट राजीनामा गराउनु थियो तर, मैले मानिन, पटक-पटक दबाव पनि दिनु भयो,’ उनले गुनासो गर्दै भने, ‘मेरो गल्ति कमजोरी केही छ भने कारवाही गर्नुहोस्, सिधैं राजीनामा गर भन्नु राम्रो होइन, गल्ति नगरी दुःख गरेर संस्थालाई उचाइमा पुर्याएको ब्यक्तिलाई कसरी छोड भन्नु हुन्छ ? भनेर राजीमामा दिइनँ, मैले राजीनामा दिन नमानेपछि नियतवश कारवाही भोग्नु पर्यो ।’

आफूलाई कारवाही गरेको विषयमा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुबीच पनि मतभेद भएको उनको भनाइ छ । ‘कार्यकारी प्रमुखले गर्ने काम सञ्चालक वा अध्यक्षले गर्दैन, उहाँलाई कुन आधारमा कारवाही गर्दै हुनु हुन्छ भनेर राष्ट्र बैंकमा समेत केही कार्यकारी निर्देशकले भन्नुभएको थियो,’ राष्ट्र बैंकमा भएको छलफलमा भएको कुरालाई उदृत गर्दै बोहराले भने, ‘तर कार्यकारी निर्देशक नेपालले व्यक्तिगत इगोको कारण मलाई कारवाही गर्नु भएको हो ।’

नेपाल र जोशीबीच साँठगाँठ !

मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्करराज जोशी कार्यरत छन् । सीईओ जोशी उनै कार्यकारी निर्देशक नेपालको घरमा ८ वर्ष भाडामा समेत बसे । त्यसैले दुवै जनाबीच राष्ट्र बैंक र लघुवित्त संस्थाले गर्ने विभिन्न गतिविधि तथा निर्णयहरु साटफेर भइराख्ने गरेको आरोप बोहराको छ ।

उसो त सीईओ जोशीलाई बोहराले नै सीईओका रुपमा भित्र्याएका हुन् । तर, आफुले योग्य भनेर ल्याएको मान्छे गलत प्रचार गरेर आफुविरुद्द लागेको उनको गुनासो छ ।

‘पुस्करजी विगत ८ वर्ष रेवती नेपालको घरमा भाडामा बस्नु भयो, उहाँहरुको राम्रो सम्बन्ध छ, मर्जरपछि पनि जोशीजीलाई सीईओ कायम गर्न हो की वा अन्य कुनै प्रयोजनको लागि मलाई संस्थाबाट बाहिर राख्ने रणनीति बनाए, उहाँले मेरो विषयमा राष्ट्र बैंक समक्ष नभएको कुरा लगाएर कारवाही गर्न लगाउनु भयो,’ बोहराले भने ।

राष्ट्र बैंकले कारवाही गर्नु अघि बोहरालाई राजीनामा दिएर विषय साम्य पार्न भनिएको थियो । तर, आफुले राजीनामा दिन अटेरी गरेपछि कारवाही गरेको उनको भनाइ छ । ‘राजीनामा गरेको भए जरिवाना वा कारवाही हुन्थेन, मैले गल्ति केही पनि गरेको थिइनँ, राजीनामा दिन अटेरी गरेपछि कारवाही नै गर्नु भयो,’ उनले भने ।

सीईओ भन्छन् : कमजोरी सबै पक्षको हो

मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीईओ) पुष्करराज जोशीले कमजोरी सबै पक्षको भएका बताए । उनले राष्ट्र बैंकले गल्ति देखेर नै कारवाही गर्ने बताउँदै यसमा केही गल्ति भएको स्वीकार गरे ।

कमजोरी सबै पक्षको छ, तर त्यसलाई कुन रुपमा लिने भन्ने हो, हाम्रो (लघुवित्त क्षेत्र) कमजोरी नभएको भए अहिले विरोध आउँथेन होला, गलत भएर नै यस्तो भएको हुन सक्छ,’ सीईओ जोशीले भने ।

नियामकले कमजोरी थाहा पाएपछि कारवाही हुने उनको भनाइ छ । संस्थाको अध्यक्षलाई राष्ट्र बैंकको कार्यकारी निर्देशकले मात्रै कारवाही गरेर नहुने बताउँदै त्यो निर्णय राष्ट्र बैंकको बोर्डले नै गरेको उनको भनाइ छ । आफुलाई पनि राष्ट्र बैंकले स्पष्टिकरण सोधेको उनको भनाइ छ ।

विषय के हो ?

बोहराकी श्रीमती जननी केसीको नाममा कैलालीमा सौगात ट्रेड एण्ड सप्लायर्स सञ्चालनमा छ । केसीको कम्पनीले भारतबाट ट्याक्टर आयात गरेर बिक्री गर्दै आएको छ । विगतमा भारतीय एस्कर्ट ब्राण्डका ट्याक्टरको सुदूरपश्चिम प्रदेशको आधिकारिक प्रमुख आयातकर्ताको रुपमा कार्य गर्दै आएको थियो । पछि उक्त कम्पनीसँगको सम्झौताको समाप्त भएपश्चात् हाल भारतीय प्रित ब्राण्डको कम्पनीसँग सुदूरपश्चिम प्रदेशको आधिकारिक आयातकर्ताको रुपमा काम गर्दै आएको छ ।

लघुवित्तका ३६ जना ऋणी सदस्यहरुले लघुवित्तबाट कर्जा लिएर सोही कम्पनीबाट ट्याक्टर खरिद गरेका थिए । बोहराका अनुसार २ वटा कर्जा चुक्ता भइसकेका छन् । १० वटा सौगात ट्रेडले आयात गर्ने कम्पनीका ट्र्याक्टर नभएको, ५ वटा ऋणीको सुदूरपश्चिम क्षेत्र बाहेक मधेश, कोशी, लुम्बिनी प्रदेशका रहेका छन् । बाँकी १९ वटा कर्जामध्ये १७ वटा कर्जा राष्ट्र बैंकको निर्देशन बमोजिम तोकेको सीमाभित्र आइसकेका छन् भने २ वटा आउन बाँकी रहेको बोहरा बताउँछन् ।

‘मेरो श्रीमतीको नाममा ट्याक्टर फर्म छ, वार्षिक १/२ सय ट्याक्टर बिक्री गर्छाै, केही सदस्यहरुले संस्थाबाट ऋण लिएर ट्याक्टर खरिद गर्नु भएछ, कसलाई ऋण दिने भनेर स्वीकृत गर्ने अधिकार हामी सञ्चालकलाई हुँदैन, कर्जा स्वीकृत गर्ने जिम्मा कर्मचारीको हो,’ उनले भने, ‘सञ्चालकलाई लगानी गर्ने कुनै अधिकारी नभएकाले सबै जिम्मा व्यवस्थापन समूहले लिनु पर्छ, तर, कार्यकारी प्रमुखलाई एक पटक पनि स्पष्टिकरण नसोधी सबै स्पष्टिकरण मलाई सोधिएको छ ।’

कर्जा प्रवाह गर्ने काम व्यवस्थापनको भएपनि व्यवस्थापनलाई कुनै कुरा नसोधी आफुलाई कारवाही गरेको उनको गुनासो छ ।

यस विषयमा कार्यकारी निर्देशक नेपालसँग बुझ्दा उनले आफुलाई कुनै जानकारी नभएको धारणा राखे । ‘यो विषय मलाई थाहा छैन, अध्यक्ष किन हट्नु भयो संस्थालाई नै सोध्नुहोस्, अध्यक्षले गल्ति नै गरेको हुनाले कारवाही भएको हुन सक्छ,’ उनले विकासन्युजसँग भने ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट सुपरिवेक्षण विभागले कुनै खोट भेट्यो भने कारवाही गर्ने गरेको बताउँछन् । बोहराले भनजस्तै व्यक्तिगत इगो साँध्नका लागि कारवाही गरेको भने आफूलाई जानकारी नहुने उनको भनाइ छ ।

‘सुपरपरिवेक्षण विभागले निर्देशन दिन सक्छ, कतिपय अवस्थामा जरिवाना लगाउन सक्छ, सुपरिवेक्षणको क्रममा कैफियत देखिएमा राष्ट्र बैंकले हटाउन र जरिवाना पनि लगाउन सक्छ, जरिवाना भयो भने पद रहँदैन,’ उनले भने ।

राष्ट्र बैंकले बोहरालाई कारवाही गरेपछि लघुवित्तको सञ्चालक रहेका संजय श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । लघुवित्तका कम्पनी सचिव तुलसी राम पाठकका अनुसार राष्ट्र बैंकको निर्देशन बमोजिम संचालक समितिको अध्यक्ष पद रिक्त भएको थियो । रिक्त रहेको पदमा सञ्चालक श्रेष्ठलाई अध्यक्षमा चयन गरिएको हो ।

अदालत जाँदै बोहरा

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षबाट हटाएपछि टेक बहादुर बोहराले अदालत जाने तयारी गरिरहेका छन् । उनले आफुले गल्ति नगरे पनि राष्ट्र बैंकले सञ्चालक समेत नरहने गरी पाँच वर्षका लागि रोक लगाएर अन्याय गरेकोले अब न्यायका लागि अदालत जाने बताए ।

उनका अनुसार उनी राष्ट्र बैंकको कारवाही फिर्ताको मागसहित अदालत जाने तयारी भइरहेको छ । व्यक्तिगत कारणले संस्थागत रुपमै व्यक्तिको चरित्रहत्या गर्न नहुने उनको तर्क छ । उनले बिहीबार अदालत जाने तयारी भइरहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.