२०८० भदौ २१ गते १०:१४ उर्जाशील दिपक
आज भोलि किन हो किन मलाई विदेश जाउँ जाउँ लाग्न थालेको छ । नेपालमा भविष्य छैन झै लाग्न थालेको छ । दिनमा कैयौ पटक मनमा विदेश जाने भुत सभार भएको छ । आज भोलि मेरो मस्तिष्कले नेपालमा भविष्य छैन छिटो विदेश जा बाहेक भन्दैन । यो मेरो कुविचार हो या समाजमा भइरहेको नैराश्यता प्रति मेरो दिमागले सोचेको सोच हो या भनौ साथीहरुको लैलहीमा आएको विचार । मैले छुट्याउन सकेको छैन तैपनि मलाई विदेश जाउँ लाग्न थालेको छ ।
बिहान कलेजमा पढायो । दिउँसो ठिकठाकैको जागिर । कनिकुथी एमफिल सम्मको पढाई । तन मन दिएर सहयोग गर्ने साथी भाई पाएकै छु । तैपनि विदेशी भुत सभार भएको छ म मा । मेरो दिमागले भनी रहेको छ । विदेशमा पैसाको रुख छ । गएको भोलिपल्ट बाट रुखको पैसा टिप्ने त हो भन्ने सोचाई विकास भइरहेको छ । जुन गलत हो भन्ने पनि था छ । तैपनि विदेश जाने भुत दिनानुदिन बढ्दै गइरहेको छ । विदेशमा गाह्रो छ नेपाल मै केही गर्नु पर्छ भन्ने दिमागको एक पाटोले भन्दा अर्काे पाटोले तँ कायर तँ नामर्द भन्छ र जित चै विदेश जानेकै हुन थालेको छ ।
सँगैका साथीहरु विदेश गएको र नयाँ नयाँ ठाउँ अनि परिवेशहरुमा घुम्दै गरेको फोटो देख्दैमा मेरो विदेश जाने सोचाईमा विकास भएको छ । उनीहरुले पठाउने रेमिटान्समा मेरो मन लोभिएको छ । तर त्यहाँ गर्नु पर्ने संघर्ष अनि गएको दिन देखिको बोझलाई मेरो दिमागले आकलन सम्म गर्न सकेको छैन । तै पनि लही लहीमा विदेश जाउँ जाउँ लाग्न थालेको छ ।
तर मलाई लाग्छ पक्कै पनि मलाई विदेश जाउँ जाउँ भन्ने भावनाको विकास यो समाज प्रतिको नकारात्मक टिप्पणी, राजनीतिक अस्थिरता अनि उदेक लाग्दो देशको आर्थिक अवस्था एक हो । देशमा मंहगीले आकाश छोइसकेको छ । राष्ट्र बैंकले प्रकाशन गर्ने मुद्रा स्फृति ६ देखि ७ प्रतिशतको हाराहारीमा छ तर बजारमा वस्तुको मुल्यले आकाश छाइसकेको छ । सामान्य जिविकोपार्जन गर्न समेत सामान्य रोजगारीले सकिने अवस्था छैन । व्यापारीकरणले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नराम्ररी गाजेको छ । सामान्य रोग लाग्दा उपचार गर्न लाग्ने खर्च अनि सामान्य शिक्षाको लागि तिर्नु पर्ने शुल्क सम्झदा समेत जिउँ जिरिङ्ग हुने गरेको छ ।
समाजमा राजनीति प्रतिको वितृष्ता त्यति कै व्याप्त छ । दैनिक पत्रिकाका शीर्षकहरु यो काण्ड र ऊ काण्ड भनेर आउने गरेको छ । राजनीतिक नेतृत्व आफ्ना कार्यकर्ता जोगाउन मै केन्द्रित रहेका छन् । सत्य तथ्य छानविन गरेर कारवाही गर्नु त कहाँ हो कहाँ कसरी आफ्ना कार्यकर्ता जोगाउन सकिन्छ र अनुसन्धानलाई निष्प्रभाकारी गराउन सकिन्छ भन्ने मै ध्यान केन्द्रित छ । राजनीतिमा पढे लेखेका युवाहरुको आकर्षण छैन । लुटपाट हत्या हिंसा जस्ता कार्यलाई राजनीतिको लागि ठुलो योगदान भन्ने परिपाटी विकास भएको छ ।
समाजमा दैनिक रुपमा हुने यस्तै प्रकारका घटनाहरु एवं सामाजिक समस्याहरुले मेरो दिमागमा विदेश जाने भुत सभार भएको छ । पढे लेखेका युवाहरुमा यस्तो भावना आउनु पक्कै पनि देश अनि समाजको लागि राम्रो होइन । तर राजनीतिक नेतृत्व रोजगारी श्रृजना गर्न एवं दक्ष जनशक्तिलाई देश विकासमा उपभोग गर्नुको साटो उनीहरुले पठाएको दुइ चार हजार रेमिटेन्सलाई आफ्नो उपलब्धि सम्झीरहेको छ ।
समाजमा देशमै केही गर्छु भनेर बसेका युवा युवतिहरुलाई अरु देशले भिषा नदिएर बसेको भन्ने मानसिकता विकास भएको छ । आजको पूस्ता त जिन तिन यही परिपाटीले जिवीकोपार्जन गर्ला तर भोलिको पूस्तालाई पनि यसै गरी चल्ला ? आज दक्ष जनशक्ति डाक्टर पाइलट, इन्जिनियर, चार्टड एकाउण्टेण्टस्को रोजाई अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा छ भन्ने जापान लगायतका अन्य देशमा जाने नेपालीको संख्या पनि बढ्दो छ ।
आज मेरो दिमागमा आएको विदेश जाउँ जाउँ भन्ने भावना हरेक युवाहरुको समस्या हो । दुख सुख गर्दा मलाई त कुनै देशले भिषा देला म त विदेश जाउँला । सबै युवा विदेश जाँदा युवाहरुको भविष्य त सुरक्षित होला तर भोलि देशको दुःखद भविष्यले कसले हेर्ने । युवाहरुमा बढ्दै गइरहेको नैराश्यता भोलिको लागि राज्यको ठूलो समस्या हुनेछ । यसबारे नीति निर्माताले कहिले सोच्ने । म जस्ता युवाहरुमा विदेश जाउँ जाउँ लागेको भावनालाई परिवर्तन गरी नेपाल मै बसौ बसौ लाग्ने बनाउन र विदेशमा रहेका युवाहरुलाई समेत नेपाल फर्किउ फर्किउ भन्ने बनाउन नीति निर्माताले समय मै सोचुन । र मलाई अहिले लाग्न थालेको छ विदेश जाउँ जाउँ लाग्ने मेरो मात्र समस्या हैन समाजको प्रतिनिधि हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.