२०८० भदौ २४ गते १४:२८ सीआर भण्डारी
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष टेक बहादुर बोहराले नेपाल राष्ट्र बैंक विरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन् । राष्ट्र बैंकले गरेको जरिवाना तथा कारवाही कार्यान्वयन नगरियोस् भन्दै निवर्तमान अध्यक्ष बोहराले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको जानकारी दिए ।
लघुवित्त संस्थाले कर्जा प्रवाह गर्दा सञ्चालकको भूमिका नरहने र आफूलाई गरिएको जरिवानाको निर्णय कार्यान्वन नगर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको उनले बताए । उनका अनुसार भदौ २१ गते मुद्दा दर्ता गराएका हुन् । सो मुद्दाको तारिक असोज २२ गते तोकिएको उनले बताए ।
साथै, उनले आज पनि राष्ट्र बैंकविरुद्ध अर्काे मुद्दा दर्ताको तयारी भइरहेको बताए । अघिल्लो पटक जरिवाना नतिर्ने भन्दै मुद्दा दर्ता गराएको भएपनि आज आइतबार २४ भदौमा अध्यक्ष पदमा कायमै राख्न अन्तरिम आदेशको मागसहित मुद्दा दर्ता गराएको उनले बताए ।
राष्ट्र बैंकले गरेको कारवाही गैरकानुनी रहेको भन्दै अध्यक्ष पदमा कायम राख्नु पर्ने उनको माग छ । ‘आफूलाई अध्यक्ष पदबाट हटाउने राष्ट्र बैंकको निर्णय गलत छ, अध्यक्ष पदमा कायम रहनु पर्ने भन्दै अन्तरिम आदेशका लागि आज मुद्दा दर्ता गरेको हुँ,’ उनले भने ।
उनका तर्फबाट वरिष्ठ अधिवक्ता डिल्लीराज भण्डारीले मुद्दा दर्ता गराएका हुन् । साथै, राष्ट्र बैंकले आफ्नो मानहानी गरेको आरोप उनको छ । राष्ट्र बैंकले वित्तीय स्वार्थ रहेको सौगात ट्रेड एण्ड सप्लायर्सबाट ट्याक्टर बिक्री गर्ने प्रयोजनका लागि लघुवित्तबाट सीमाभन्दा बढी कर्जा प्रवाह गरेको आरोपमा ५ लाख रुपैयाँ जरिवाना र अध्यक्ष पदबाट हटाएको थियो । अध्यक्ष बोहराले स्वार्थ बाँझिने गरी लघुवित्तबाट कर्जा स्वीकृत गरी आफ्नै कम्पनीबाट ऋणी सदस्यलाई सामाग्री खरिद गराएको राष्ट्र बैंकको आरोप छ ।
बोहराले सो कर्जा प्रवाहमा आफ्नो कुनै स्वार्थ नरहेको र कारवाही फिर्ता हुनु पर्ने माग गर्दै आएका छन् । व्यक्तिगत कारणले संस्थागत रुपमै व्यक्तिको चरित्रहत्या गर्न नहुने उनको तर्क छ ।
सम्बन्धित सामाग्री : राष्ट्र बैंकको ईडी र सीईओको साँठगाँठले अध्यक्ष पद खोसियो !
Copyright © 2025 Bikash Media Pvt. Ltd.