२०८० भदौ २७ गते १६:३२ विकासन्युज
काठमाडौं । ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ संसदमा दर्ता भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन् ।
नयाँ विधेयकमा विद्यालयका शिक्षकलाई विभिन्न प्रदर्शन तथा हड्ताल गर्न निषेध, शिक्षण बाहेक अन्य व्यापार व्यवसाय गर्न नपाउने, दान उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुनेदेखि बहुविवाह गर्न नहुनेसम्मका व्यवस्थाहरु राखिएको छ ।
उक्त विद्येयकको दफा ७३ मा शिक्षकहरुलाई राजनीतिक क्रियाकलापमा संग्लन हुनमा रोक लगाइएको छ ।
‘शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमिा भाग लिन, राजनीतिक पदको लागि हुने निर्वाचनामा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलापमा संलग्न हुन नहुने तर आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ’, उक्त दफामा भनिएकोे छ ।
विद्यालयको काम र विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पार्न सक्ने गरी कुनै शिक्षकले स्थानीय तहको पूर्व स्वीकृति विना आफूुले वा आफ्नो परिवारको कुनै सदस्यद्धारा कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा विद्यार्थी र तिनका अभिभावकसँग सापटी वा सहयोग लिन नहुने व्यवस्था यस दफामा गरिएको छ ।
यस्तै, शिक्षकले स्थानीय तहको पूर्व स्वीकृति बिना कुनै बैंक, कम्पनी वा सहकारी संस्थथा स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानून बमोजिम दर्ता गराउनु पर्ने कुरै व्यापार वा व्यवसाय गर्न नहुने व्यवस्था गरिएको छ । यसबाट शिक्षकको अन्यत्रको संलग्नताको कारण शिक्षण सिकाइलाई असर पुर्याउने अवस्था आउन हुँदैन ।
शिक्षकले आफ्नो विद्यालयको काममा बाहेक अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नमा रोक लगाईएको छ । उक्त कार्यमा रोक लगाएपनि राष्ट्रिय जनगणना, निर्वाचन, विपद् कार्यमा उद्धार वा यस्तै प्रकारका नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले तोकेको अन्य कुनै काममा संलग्न हुन पाउने व्यवस्था दफामा राखिएको छ ।
प्रदर्शन र हड्तालमा प्रतिबन्ध
उक्त विद्येयकले शिक्षकलाई विभिन्न प्रदर्शन तथा हट्ताल गर्न रोक लगाएको छ ।
शिक्षकले प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, घेराउ गर्न, दबाब दिन, पठनपाठन बन्द गर्न वा अन्य कुनै तरिकाबाट बालबालिकाको पढ्ने अधिकारमा बाधा पु–याउन वा सो कार्य गर्ने उद्देश्यले अरुलाई उक्साउन समेत नपाउने व्यवस्था गरिएको छ ।
यस्तैगरी शिक्षकलाई बहुविवाहमा समेत रोक लगाईएको छ । बहुबिवाह प्रचलित कानून बमोजिम दण्डनीय भएकोले यस्तो कार्य गर्ने शिक्षकलाई विशेष सजाय हुने व्यवस्था ऐनमा गरिएको छ ।
शिक्षकले विद्यार्थी र अरू कसैप्रति यौनजन्य दुर्व्यवहार गर्नु हुँदैन भनेर यस्ता कार्यलाई आचरणमा समावेश गरिएको छ । कुनै पनि शिक्षकले छात्रछात्रा माथि लैङ्गिक हिंसा र दुर्व्यवहार जस्तो कार्य नगरुन भनेर नै प्रचलित कानून बमोजिम सजाय हुने विषयसमेत आचरणमा समावेश गरिएको छ ।
शिक्षकले विद्यार्थीलाई कुटपिट गर्न र कसैलाई पनि शारीरिक वा मानसिक यातना दिनु हुँदैन । अध्यापन सम्बन्धी कार्य गर्दा सिकाइलाई प्रभावकारी बनाउन यातना रहीत बालमैत्री वातावरणमा सिकाउनु पर्ने हुन्छ । त्यसैले यातना सम्बन्धी विषयलाई आचरणमा समावेश गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.