२०८० असोज ४ गते १०:३७ विकासन्युज
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक/एक छात्रछात्रालाई एक लाख रुपैयाँका दरले पुरस्कार वितरण गरिएको हो ।
थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई एक लाख रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिए ।
गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ ।
गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन् । उनलाई दश हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.