३६ मध्ये १५ म्युचुअल फण्डले लाभांश दिने, ४ फण्डको मात्रै १५ प्रतिशत बढी

  २०८० असोज ४ गते १३:३२     विकासन्युज

काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर, गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ ।

अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । गत वर्ष भने सेयर बजार घटेको कारण म्युचुअल फण्डको लाभांश घटेको मर्चेन्ट बैंकर्स बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका ३६ म्युचुअल फण्ड सूचीकृत छन् । जसमध्ये हालसम्म १५ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश वितरण प्रस्ताव गरेका म्युचुअल फण्डहरुमध्ये ६ वटा फण्डलको मात्रै डबल अंकमा प्रतिफल रहेको छ । अन्य ९ वटा म्युचुअल फण्डले भने एकल अंकमा मात्रै इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका हुन् ।

गत वर्षको नाफाबाट इकाईधनीहरुलाई सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल वितरण गरेको छ । अघिल्लो वर्षको तुलनामा सो फण्डको प्रतिफल घटेको देखिन्छ । यस फण्डले अघिल्लो वर्ष २२ प्रतिशत र सोभन्दा अघिल्लो वर्ष ३३ प्रतिशतसम्म प्रतिफल वितरण गरेको थियो ।

३०/३० प्रतिशतसम्मप्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको पनि विगतको प्रतिफल घटेको देखिन्छ । अघिल्लो वर्ष समान २१.०५ प्रतिशत प्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले गत वर्षको नाफाबाट भने १५/१५ प्रतिशत मात्रै वितरण गर्ने भएका हुन् । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ६.५ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत प्रतिफल बाँड्ने हुन् ।

एनआईबिएल सहभागित फण्डको प्रतिफल पनि घटेको छ । ५० प्रतिशतसम्म लाभांश बाँडेको यस फण्डले गत वर्षको नाफाबाट भने ४ प्रतिशत मात्रै प्रतिफल वितरण गर्ने भएको हो । अघिल्लो वर्ष भने ७.२० प्रतिशत प्रतिफल वितरण गरेको थियो ।

यस्तै, सनराइज फर्ष्ट म्युचुअल फण्ड, एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड, कुमारी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी र एनआईबिएल प्रगति फण्डले भने गत वर्ष इकाईधनीहरुलाई प्रतिफल बढाएर वितरण गर्ने भएका हुन् ।

सनराइज फर्ष्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई अघिल्लो वर्ष १२ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । त्यस्तै, एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले १० प्रतिशत, कुमारी इक्विटी फण्डले १० प्रतिशत, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत र एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् ।

यस्तै, म्युचुअल फण्ड जारी गरेको पहिलो वर्ष नै कुमारी धनवृद्धि योजना र प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका छन् । कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत र प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत प्रतिशत वितरण गर्ने भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.