सुदूरपश्चिमकै प्रमुख नाका गड्डाचौकीको यात्रु शाखामा स्थापना भएको मेसिन जिर्ण अवस्थामा छ । कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले मेसिनको सफ्टवेयरमा खराबी आउँदा मेसिन बन्द भएको बताउनुभयो । एक करोडको लागतमा भन्सार विभागले खरिद गरी कञ्चनपुर भन्सार कार्यालयमा पाँच वर्षअघि जडान गरिएको थियो ।
गड्डाचौकी भन्सार भएर सर्वसाधारण भारतको राजधानी नयाँ दिल्ली, बैंग्लोर, सिमला, देहरादुन, मुम्बै, हरिद्धारलगायतका ठाउँमा जाने गरेका छन् । पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका भन्सारमध्ये पहिलोपटक जडान भएको मेसिन सञ्चालनमा ल्याउन भन्सार कार्यालयकै बेवास्ता देखिएको छ ।
‘मेसिन बनाउन इन्जिनियरसहितको प्राविधिक टोली चाहिन्छ’, भन्सार अधिकृत रावलले भने, ‘मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति पनि भएन ।’ एक्सरे मेसिन सञ्चालनमा नआउँदा भन्सार नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारी आउने सामान हातले छामेर जाँच गर्ने गरेका छन् ।
‘मेसिन सञ्चालनका लागि विभागमा पहल गरेका छौँ’, रावलले भने, ‘प्राविधिक टोलीले मेसिन मर्मत गरेपछि पुनः सञ्चालनमा आउँछ ।’