२०८० असोज ११ गते १८:१६ विकासन्युज
बर्लिन । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ ।
बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनीभरका आफ्नै ब्रान्डका प्लान्टमा असर परेको थियो । भीडब्लू समूहका अन्य ब्रान्डहरू पनि प्रभावित भएका छन् ।
‘फक्सवागन नेटवर्कमा आईटी पूर्वाधारको समस्या रातको समयमा समाधान गरिएको थियो,’ भोक्सवागनले एक बयानमा भनेको छ- ‘विश्वव्यापी उत्पादन सञ्जाल चलिरहेको छ, र उत्पादन योजनाबद्ध रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।’
प्रविधिमा देखिएको गढबढी ‘बाह्य प्रभावका कारण’ भएको भन्ने कुनै सङ्केतहरू फेला नपरेको भोक्सवागनको बयान छ ।
गत महिना जापानी प्रतिद्वन्द्वी टोयोटाले पनि कम्प्युटर प्रणालीमा खराबी आएको भन्दै जापानमा रहेका आफ्ना सबै कारखानामा उत्पादन रोक्न बाध्य भएको थियो ।
अगष्ट २९ मा टोयोटाका १४ वटा घरेलु प्लान्टमा पार्टपुर्जाको उत्पादन केन्द्रहरू बिग्रिएपछि एक दिनका लागि मर्मत सम्भारका लागि कारखाना बन्द गरिएको थियो ।
टोयोटाका अनुसार यो घटना पनि साइबर आक्रमणका कारण भएको कुनै आधार फेला परेको थिएन । रासस/एएफपी
Copyright © 2025 Bikash Media Pvt. Ltd.