२०८० असोज १५ गते १८:३९ विकासन्युज
काठमाडौं । दशैंमा विदेशबाट नेपाल फर्कने यात्रुले निश्चित परिमाणमा सुनका गहना, मोबाइल तथा टेलिभिजन ल्याउन पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
कार्यालयले वैदेशिक रोजगारीमा गएका नेपालीले घर फर्कँदा ल्याउन मिल्ने र नमिल्ने वस्तुको सूची निकालेको हो ।
पछिल्लो व्यवस्था अनुसार विदेशबाट नेपाल फर्कने यात्रुले महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी, पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ । गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिकी जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानूनी व्यवस्था रहेको छ ।
यसैगरी मोबाइलको हकमा भने विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ । थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नु पर्ने कार्यालयले जानकारी गराएको छ ।
त्यस्तै, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन् ।
अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको छ । यसैगरी ५ हजार अमेरीकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्दछ । रकम घोषणाको भने कुनै महशुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको छ ।
यात्रुहरुले मापदण्डभन्दा बढि मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तु जफत हुने तथा सो को दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने कार्यालयले बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.
Lutne naya melo chi gatabata pani lutekai cha sharkarle
ani nepal bata bidesh jada nepali nai kinera sath ma lageko mobile feri nepal farkida Tiyo mobile ko pani ganti hunxa ki hudaina hola ?