२०८० असोज १६ गते १८:१६ विकासन्युज
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागीय प्रमुखले संयुक्त रुपमा पत्र लेखी विभागहरु सञ्चालनको जिम्मेवारी स्ववियु सभापतिलाई सुम्पिएको जानकारी गराएका छन् । मंगलबार विभागका प्रमुखहरुले क्याम्पसको नाममा संयुक्त पत्र लेखेर पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरुले ‘अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खर निर्वाचित स्ववियुले लिने’ भन्ने विषय उल्लेख गरिएको विज्ञप्तिमा समर्थन जनाउँदै विभाग सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएको जनाएका छन् ।
विभागका प्रमुखहरुले पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियुका सभापतिहरुले असोज १२ गते जारी गरेको संयुक्त विज्ञप्तिमा आह्वान गरिएको विषयको गाम्भिर्यलाई महसुस गरी विभागका सम्पूर्ण जिम्मेवारी सुम्पिएको पत्रमा उल्लेख गरेका छन् । साथै सो निर्णयमा प्राध्यापक संघ र कर्मचारी संघको समेत समर्थन रहेको पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा स्ववियुलाई एक ढंगले कटाक्ष प्रहार गर्दै ‘अहिलेको शुल्क समायोजनको परिप्रेक्षमा इ.अ.स. बाहिरका विद्यार्थी नेताहरुका साथसाथै निजी शिक्षामा लगानी गरेका ठूला–ठूला मिडिया र व्यापारिक संस्थाहरुको समेत स्वार्थ मिसिइंदै जाँदा ओझेलमा परेको’ उल्लेख गरिएको छ । साथै पत्रमा महत्वपूर्ण मुद्दा भनेको आगामी सेमेस्टर सञ्चालन गर्नु रहेको र त्यसको लागि चाहिने विकेन्द्रिकरणको नियम/कार्यविधि, आर्थिक स्रोतको सुनिश्चितता एवम थप आवश्यक शिक्षक तथा कर्मचारीहरुको समेत व्यवस्था गरी कक्षा तालिक समयमै बनाई गुणस्तर वृद्धिका साथ कक्षा सञ्चालन भएको आफूहरुले हेर्न चाहेको उल्लेख गरिएको छ ।
विभागका प्रमुखहरुले पत्र क्याम्पस सहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थानका डिन र पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरुलाई बोधार्थको रुपमा समेत दिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.