महानगरले श्रम बैंकमा आवद्ध सबैको बीमा गरिदिने, यसरी समाधान गर्दैछ बेरोजगारको समस्या

  २०८० असोज २१ गते १८:१२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको बेरोजगारको समस्यालाई ३ वर्षभित्र समाधान गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र साहले ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ नामक योजना सार्वजनिक गर्दै उक्त योजना मार्फत बेरोजगारको समस्या हल गर्ने बताएका हुन् ।

उनका अनुसार यो योजनाअन्तर्गत हरेक वर्ष कम्तिमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तिमा पाँच हजारलाई नयाँ रोजगारी सृजना गर्ने महानगरको लक्ष्य छ ।

साथै, महानगरले श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको मेयर बालेनले बताए । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना संचालनमा ल्याइएको मेयर बालेन बताउँछन् ।

महानगरले ल्याएको श्रम बैंकमा महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आवद्ध हुन सक्नेछन् ।

यस्तो छ महानगरको उद्देश्य

श्रम बैंकमा आवद्ध भएका दक्ष कामदारहरुलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई क्षमता अभिवृद्धिका लागि तालिम दिई काममा लगाउने, अदक्ष कामदारहरुलाई रोजगारी र आयवृद्धि काठमाडौंको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने रहेको छ ।

श्रम बैंकमा आवद्ध जनशक्तिलाई महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन, महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु, महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबको रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुनसुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताए ।

सबै किसिमका कामदारहरुलाई काम गर्दाका अनिवार्य बीमा गरिने उनले बताए ।

गौरबको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरि बाह्रै महिना बिहानदेखि साँझसम्म नियमित तालिम संचालन गर्ने महानगरको योजना छ । सोका लागि महानगरले बजार मुखी सिलेबल निर्माणको समेत काम गरिरहेको छ मेयर बालेनले जानकारी गराए ।

निजी क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र, उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवश्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्रको आवश्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था महानगरले मिलाइएको छ।

श्रम बैंकमा आबद्ध हुनका लागि मेयर बालेनले लिंक तथा क्युआर उपलब्ध गराएका छन् । इच्छुकले उक्त लिंक वा क्युआरमा क्लिक गरि फारम भरि आवेदन दिन सक्नेछन् ।

साथै, महानगर भित्र सञ्चालित विभिन्न जब एजेन्सीहरु र तालिम प्रदायक संस्थाहरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिने छ । महानगरले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित ह्याडिम्यान जस्तै श्रम बैंक एपको ओपन एपीआई हाल सञ्चालनमा रहेका अन्य निजी कम्पनीका सोहि प्रकृतिका एपहरुलाई निशुल्क उपलब्ध गराइने जानरकारी समेत मेयर बालेनले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.