बेलायतमा नै ‘ए लेभल’ प्रतिस्थापन हुने, नेपालमा कस्तो पर्ला प्रभाव ?

  २०८० कार्तिक १ गते ११:२४     विकासन्युज

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषी सुनकले ‘ए लेभल’ र पछिल्लो समयमा ल्याइएको ‘टी लेभल’ खारेज गर्ने घोषणा गरेका छन् । उनले कन्जरभेटिभ पार्टीको कार्यक्रममा युवाहरुलाई ‘न्यू एड्भान्स ब्रिटिस स्टान्डर्ड’ अध्ययन गर्न आग्रह समेत गरे ।

सुनकले ए लेभल र टि लेभललाई प्रतिस्थापन गरेर १६ देखि १९ वर्ष उमेर समूहका लागि एउटै विषयले प्रतिस्थापन गर्न चाहन्छन् । ‘न्यू एड्भान्स ब्रिटिस स्टान्डर्ड’ अन्तर्गत अंग्रेजी भाषा र गणित सहित केही पाँच विषयहरु अध्ययन गरे पुग्नेगरी प्रस्ताव गरिएको द कन्भरसेसनले उल्लेख गरेको छ ।

ए लेभल शैक्षिक र प्राविधिक ज्ञान सहितको नयाँ शैक्षिक समुच्च प्रणालीद्वारा विस्थापित गराइने छ । ‘द एड्भान्स ब्रिटिस स्टान्डर्ड सबै विद्यार्थीमा पूर्ण रुपमा लागू हुन एक दशक लाग्ने बताइएको छ ।

द डिपार्टमेन्ट अफ एजुकेसनले १६ देखि १९ वर्षका विद्यार्थीहरुलाई १५ प्रतिशत पढाउने समय बढाउने र शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने जनाएको छ । सरकारले योजनाको विषयमा आवश्यक परामर्श गरेर अर्को वर्ष स्वेतपत्र जारी गर्ने टेलिग्राफमा उल्लेख गरिएको छ ।

नयाँ एकीकृत शैक्षिक प्रणालीमा पढाउने समय बढाइने भएकाले थप खर्चभार पनि बढ्न जान्छ । सरकारले शैक्षिक क्षेत्रलाई प्राथमिकता राखि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने जनाएको छ ।

शैक्षिक क्षेत्रमा गरिने रुपान्तरणले प्रतिस्पर्धात्मक तथा गतिशील अर्थव्यवस्थालाई आवश्यक पर्ने ज्ञान र प्रविधिमा आधारित सिप सहित वर्तमान र भविष्यमा सहयोग पुर्याउने द डिपार्टमेन्ट अफ एजुकेसनले दाबी गरेको छ ।

विश्वका १६० भन्दा बढी स्कुल तथा कलेजमा पढाइ हुने ए लेभल मार्फत् क्याम्ब्रिज विश्वविद्यालयले पनि विश्वमा आफ्नो राम्रो ब्राण्डिङ र आम्दानी गर्ने गरेको छ । बेलायतले लिने नयाँ शैक्षिक नीतिले शिक्षाको माध्यमबाट विश्वभर बेलायतको पहुँच घट्छ वा बढ्छ त्यो भने आगामी शैक्षिक कार्यक्रमले नै निर्धारण गर्नेछ ।

‘ए लेभल’ हट्दा नेपालमा कस्तो प्रभाव पर्ला ?

नेपालमा एक दर्जन बढी स्कुल तथा कलेजहरुले ‘ए लेभल’ पढाउने गर्छन् । जसमध्ये कतिपय स्कुल तथा कलेजले ए लेभल मात्रै पढाउने गर्छन भने कतिपय स्कुल तथा कलेजले ए लेभल सहित नेपाली शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छन् । ए लेभल पूर्ण रुपमा फेज आउट हुँदा सो विषयमा आकर्षित भएर स्कुल तथा कलेज आउने विद्यार्थीहरु घट्ने र त्यसले शैक्षिक वातावरण नै प्रभावित हुने देखिन्छ भने ए लेभल मात्रै सञ्चालन हुने स्कुल वा कलेजको कार्यक्रम नै बन्द हुन सक्छन् ।

शिक्षा मन्त्रालयले केही वर्षदेखि नयाँ स्कुल तथा कलेजलाई माध्यमिक तहमा विदेशी कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिएको छैन । ए लेभल फेज आउट भयो भने विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने स्कुल तथा कलेजहरुलाई पुनः नयाँ कार्यक्रमको सम्बन्धन लिएर सञ्चालन गर्न गाह्रो पर्ने देखिन्छ । किनकी नेपाली समाजको एउटा पक्षले नेपाली शिक्षामा विदेशी कार्यक्रमको विरोध पनि गर्दै आएको छ । शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका प्रमुख श्री भट्टराईले ए लेभलको कार्यक्रम स्वीचिङ पनि हुन नसक्ने र माध्यमिक तहमा नयाँ स्कुल तथा कलेजलाई नयाँ सम्बन्धन दिने काम पनि नभएको बताए ।

ट्रिनिटी कलेज ए लेभलका को–अर्डिनेटर सौरभ बस्नेतले पछिल्लो समयमा ए लेभल पढ्ने विद्यार्थीको संख्या बढ्दै गएकोमा सो विषय फेज आउट हुने कुरामा चिन्ता प्रकट गरे । उनले ए लेभल फेज आउट हुँदा शैक्षिक क्षेत्रमा केही न केही फरक पर्ने बताए ।

‘ए लेभल पढ्ने विद्यार्थी पछिल्लो समयमा बढ्दै गएका छन्, हामीले वर्षेनी सेक्सन थपेर पढाइ रहेका छौं, मेरो विचारमा यसको समय अझै बढ्नुपर्ने, त्यस्तो नगर्नुपर्ने’, उनले भने, ‘ए लेभल मात्रै चलाउनेलाई पक्कै धेरै फरक पर्छ तर, ११/१२ सहित कक्षा सञ्चालन गरेकालाई धेरै फरक नपर्ला, कतिपयले सोही विषयको लागि पूर्वाधार लगायतका विषयमा ठूलो लगानी गरेका छन् ।’

बस्नेतले भनेजस्तै केही स्कुल तथा कलेजहरुले ए लेभलकै लागि वर्षेनी हजारौं विद्यार्थी भर्ना गरेर पढाउँदै आएका छन् । ती स्कुल तथा कलेजको शैक्षिक व्यवसायमा बेलायती प्रधानमन्त्री सुनकले गरेको निर्णयले अवस्यपनि नकारात्मक असर गर्ने देखिन्छ भने नेपालबाट वर्षेनी ए लेभलको लागि बाहिरिने लाखौं रकम पनि जोगिन्छ । नेपालको शैक्षिक क्षेत्रमा भने अहिले यो विषय गहनतम् रुपमा छलफलको विषय बनिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.