लाइभ कन्सर्टबाट उठेको रकम परोपकारी काममा खर्च गर्छौं : अध्यक्ष बस्नेत

  २०८० कार्तिक १४ गते १४:०६     विकासन्युज

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन चार्टर्डले यही कात्तिक १८ गते ‘यम बराल : हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने र सामाजिक सेवाका लागि आर्थिक संकलनका लागि आयोजना गर्न लागिएको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने तयारीमा आयोजक जुटेको छ । गायक यम बरालको प्रस्तुति रहने उक्त लाइभ कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले महत्वपूर्ण भूमिका खेल्ने क्लबकी अध्यक्ष कल्पना बस्नेत बताउँछिन् । लायन्स क्लब स्थापना उद्देश्य, कार्यक्रमको उद्देश्यलगायत विषयमा केन्द्रित रहेर विकासन्युजले अध्यक्ष बस्नेतसँग गरेको कुराकानी :

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन भर्खरै स्थापना भएको छ । क्लब र तपाईं दुवै नयाँ हुुनुहुन्छ । दुवैलाई कसरी चिनाउनुहुन्छ ?

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन सन् २०२३ सेप्टेम्बर पहिलो साता स्थापना भएको हो । यस संस्थामा आबद्ध हुनुअघि म भ्वाइस अफ चिल्ड्रेनमा पछिल्लो १६ वर्षदेखि म्यानेजरका रूपमा काम गर्दै आइरहेकी थिएँ । सन् २०१४ देखि ब्रिलियन्ट एजुकेसन एन्ड करियर सर्भिसेस प्रालि सञ्चालनमा ल्याई त्यसको डाइरेक्टर भएर काम गर्दै आइरहेकी छु । त्यसलगायत अन्य सामाजिक संस्थामा आबद्ध भएर काम गरिरहेकी छु । मलाई समाजका लागि केही गरौं भन्ने हुटहुटी छ । दुई–चार जनालाई सहयोग गरेर उनीहरूको अनुहारमा खुसी ल्याउन सकुँ भन्ने लागिरहन्छ, त्यसैले म सामाजिक कार्यमा पनि सक्रिय छु ।

समाजका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले मैले यो क्लबलाई रोजेकी हुँ । भाग्य भन्नुपर्छ म यो क्लबको चार्टर प्रेसिडेन्ट छु । यो क्लबको आफ्नै लक्ष्य र उद्देश्य छ । लायन्स क्लब एउटा वृहत अन्तराष्ट्रिय संस्था हो । यो मेलभिन जोन्सद्वारा अमेरिकाको सिकागो इलिनोइसमा सन् १९१७ मा स्थापित अन्तर्राष्ट्रिय संगठन हो । टेक्सासमा मुख्यालय रहेको यस क्लब १४ लाख सदस्य (युवा विङ लियोसहित) २ सयभन्दा बढी देशमा फैलिएको छ ।

यो क्लब ३२५ आईअन्तर्गत यही सेप्टेम्बरमा काठमाडौंमा दर्ता भएको छ । विशुद्ध सामाजिक कार्य गर्ने मनसायले यो संस्था दर्ता गरिएको हो । यो संस्थामा हामी २८ जना महिलाहरु आबद्ध छौं । उद्योग, व्यवसाय, सञ्चारमाध्यम, शिक्षा, प्रहरी सेवालगायत कार्यक्षेत्रमा आबद्ध रहनुभएका महिला साथीलाई हामीले समेटेका छौं । संस्था स्थापना भएदेखि हामीले विभिन्न सामाजिक काम गर्दै आइरहेका छौं । यो संस्थाले विशुद्ध सामाजिक कार्य नै गर्छ ।

तपाईं लायन्स क्लबको नेतृत्वमा हुनुहुन्छ । यसबाट तपाईंले कस्तो योगदान गर्न खोज्दै हुनुहुन्छ ?

पक्कै पनि नेतृत्वदायी भूमिकामा रहँदा जिम्मेवारी बोध बढी नै हुन्छ । संस्थाको आफ्नै उद्देश्य र कार्यशैली छ । यो एक समुदायमा आधारित संस्था भएकाले यसले नेपाली कला, संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै आएको छ । यसै सन्दर्भमा क्लबले कात्तिक १८ गते ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्दैछ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ । यो कार्यक्रम पनि सामाजिक सेवा गर्नकै लागि आयोजना गर्न लागिएको हो । यस कार्यक्रमबाट भएको सहयोग हामीले धादिङ गजुरी गाउँपालिका–५ पिडास्थित डोल भञ्ज्याङ माविमा सहयोग गर्ने उद्देश्य राखेका छौं ।

उक्त विद्यालयमा चेपाङ समुदायका १ सय ९६, तामाङ समुदायका २ सयसहित ५ सय ४१ विद्यार्थी अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा छ । कार्यक्रमबाट संकलन रकम सोही विद्यालयको भौतिक संरचना मर्मत गर्न हस्तान्तरण गर्ने योजना छ । साथै, केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका बिमला राई र तुलसादेवी फाउन्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने योजना छ ।

भूकम्प, कोरोना महामारीलगायत अन्य कारण अहिलेको अवस्थामा धेरै लाइभ कन्सर्ट हुन सकेका छैनन् । मानिसहरू मनोरञ्जनात्मक कार्यका लागि सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटक बढी रोज्छन् । तपाईंले फिजिकल नै किन रोज्नुभयो ?

हाम्रो संस्थाको आफ्नै भिजन छ । सामाजिक, सांस्कृतिक परिवर्तन र सहयोगका लागि हामीले कार्यक्रम आयोजना गर्न लागेका हौं । अहिले आर्थिक मन्दी र मानिसमा तनावको स्थिति सिर्जना भएको छ । अधिकांशले मनोरञ्जनका लागि डिजिटल प्लेटर्फम प्रयोग गर्ने गरेका छन् । अहिले मानिसहरू तनाव भुलाउन विभिन्न ठाउँहरू भांैतारिरहेको देख्न सकिन्छ । तर, यो लाइभ कन्सर्ट त्यसका लागि पनि उपयोगी माध्यम बन्न सक्छ । हामीले यसरी लाइभ कन्सर्ट आयोजना गर्दै गर्दा सामाजिक सञ्जालमा समय बिताउनेकोे त्यस दिनको दुई घन्टा समय परिवारसँग बितोस् भन्ने चाहना हो । र, त्यहाँ आउनुभएका सहयोगी हातहरूका कारण सामाजिक सेवा पनि गर्न पाइयोस् भन्ने अपेक्षा हाम्रो छ ।

कार्यक्रमका लागि खर्चको जोहो कसरी गर्नुहुन्छ ?

२५ वर्षपछि ‘यम बराल ः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना हुँदैछ । यस्तो कार्यक्रमका लागि खर्च ठूलो नै हुन्छ । खर्चका हिसाबले कुरा गर्नुपर्दा एकदमै महँगो कार्यक्रम हो यो । यो कार्यक्रम सफल बनाउनका लागि हामीले विभिन्न व्यावसायिक संघसंस्थाहरूसँग सहयोग मागेका छौं । उहाँहरूले हाम्रो भिजन र मिसन मन पराएर सहयोगको हात अगाडि बढाउनुभएको छ । उहाँहरूको साथ र सहयोगले यो कार्यक्रम सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं । हामीले एउटा टिकटको १ हजार रुपैयाँ तोकेका छौं । तर, तपाईंले तिरेको त्यो हजार रुपैयाँले परिवारका साथमा मनोरञ्जन प्राप्त गर्न सकिन्छ र विशुद्ध समाजसेवा पनि गर्न सकिन्छ भने त्यो हामी सबैलाई लाभदायी विषय नै हो ।

मन्दीको समयमा मनोरञ्जनात्मक कार्यक्रमका लागि खर्च जुटाउन सजिलो भयो कि गाह्रो ?

यो मनोरञ्जनात्मक कार्यक्रम भए पनि हाम्रो उद्देश्य समाज सेवामा केन्द्रित भएको हुँदा धेरैले हामीलाई सकारात्मक प्रतिक्रिया दिनुभयो । सहयोगका साथसाथै उत्साह र हौसला पनि दिनुभयो । त्यसैले गर्दा धेरै गाह्रो भयो जस्तो लागेन । म यहीँबाट पनि सबैलाई कार्यक्रममा उपस्थित भएर हौसला बढाइदिन अनुरोध गर्छु ।

नेपालमा अरू पनि धेरै चर्चित गायक–गायिका हुनुहुन्छ । क्लबले यम बराल नै किन रोज्यो ?

संगीतको आधुनिक क्षेत्रमा स्वरसम्राट नारायण गोपालपछि यम बराललाई हेर्ने गरिन्छ । उहाँको गायन क्षमता पनि उत्कृष्ट छ । पाश्र्वगायक उहाँले नेपाली सांगीतिक क्षेत्रमा २ हजार बढी गीत गाइ सक्नुभएको छ । उहाँका गीतहरू साँच्चिकै सान्दर्भिक छन्, अहिलेका युवापुस्तादेखि वृद्धसम्म उहाँलाई सुन्न रुचाउनुहुन्छ । यस समयमा उहाँ उचित पात्र पनि हो भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.