२०८० कार्तिक २४ गते १०:५६ विकासन्युज
काठमाडौं । नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालय प्रवेश गर्ने वित्तिकै मनमोहक दृष्य देख्न पाईन्छ । ढकमक फुलेका रङ्गीविरङ्गी सयपत्री फुलको सुन्दरताले विद्यालयको गरिमालाई उचाईमा पुराएको छ ।
विद्यालय भवन वरपरका खाली जमिन बगैंचा बनाईएको छ । जसले खाली जमिनको सदुपयोगिता मात्र हैन विद्यालयको सुन्दरतालाई बढाएको छ । विगतका बर्षहरूमा वनमारा, कूरो र विभिन्न झारहरूले ढाकेको ठाँउहरूमा यो बर्ष ढकमक सयपत्री फक्रिएको छ । जनक माविमा अध्ययनरत कक्षा ८ देखि कक्षा १२ सम्मका १५ जना विद्यार्थीहरु फुलखेतीमा संलगन रहेको विद्यालयले जनाएको छ ।
विद्यालय परिसरको २ रोपनी क्षेत्रमा सयपत्री फूल रोपेका हुन । सयपत्रीका बिरुवा खरिदका लागि करिब ३० हजार रुपैयाँ विद्यालयले लगानी गरेको छ भने संघीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विद्यालयका परिसरमा रोपिएकका करिब १५ सय वोट फूलहरु विक्रीका लागि तयारी छन् । घटस्थापनादेखि नै विद्यालय बन्द भएपनि विद्यार्थीहरुले फूलबारीको रेखदेखमा व्यस्त छन् । उनीहरुले दैनिक बिहान र साँझ एक एक घण्टाको समय फुलको रेखदेखका लागि छुट्याएका छन् ।
नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोटमा रहेको जनक माविका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूलखेती गरेका हुन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउदै कार्यक्रम’ लागू गरिएको छ। विद्यालयले फूलखेतीलाई आम्दानीको स्रोत मात्र नभई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर रूपमा लिएको छ । तिहारलाई लक्षित गरी उत्पादीत सयपत्री फूल बिक्री गर्न थालिएको विद्यालयले जनाएको छ ।
तिहारको अवसरमा आवश्यक फुल खरीद गरी विद्यार्थीहरुमा हौसला थपिदिनका लागि विद्यालयले स्थानीयरुलाई अनुरोध गरेको छ । फुलखेती राम्रोसंग फस्टाएपछि कमाइ पनि राम्रै हुने अपेक्षा विद्यार्थीहरुले गरेका छन् । तिहारको अवसरमा फूल बिक्रि गरी करिब १ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन् । फुल बिक्रिबाट संकलित रकमबाट विद्यार्थीहरुले मुस्ताङ घुम्न जाने योजना बनाएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.