२०८० मंसिर १३ गते ६:५५ विकासन्युज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् ।
अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामा समेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष २०८०÷८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ । बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो ।
ढिलो परीक्षा हुँदा चिकित्सा शिक्षा एमबिबिएस प्रवेश परीक्षासँग समय जुधेको र कतिपय विद्यार्थीले इञ्जिनियरिङ विषयमा अन्य विश्वविद्यालयमा भर्ना गरेकाले त्रिविको प्रवेश परीक्षामा २० प्रतिशत विद्यार्थी सहभागी भएनन् । विवादका कारण गत असोज १६ गते बोर्डका सबै पदाधिकारीले सामूहिक राजीनामा दिएपछि प्रवेश परीक्षा स्थगन भएको थियो । वार्ता र सहमतिपछि परीक्षा सञ्चालन भएको थियो ।
अध्ययन संस्थानका सहायक डीन तथा प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. सुशीलबहादुर बज्राचार्यका अनुसार यस वर्ष १० हजार विद्यार्थीले प्रवेश परीक्षामा आवेदन दिएकामा ८ हजार विद्यार्थीले मात्रै परीक्षामा भाग लिएका छन् । गत वर्ष ९ हजार ४ सयले आवेदन दिएका थिए भने त्यसको १० प्रतिशत मात्रै प्रवेश परीक्षामा अनुपस्थित भएका थिए ।
संस्थानको प्रवेश परीक्षा बोर्डबाट गत कात्तिक १४ गतेदेखि कात्तिक २० गतेसम्म सूचना प्रविधिका आधारमा यसवर्ष पहिलो पटक कम्प्युटर विधिमार्फत प्रादेशिकरुपमा पनि परीक्षा सञ्चालन गरिएको छ ।
त्रिविका सरकारी र निजी गरी १५ कलेजमा ४ हजार ३४४ विद्यार्थीले इञ्जिनियरिङमा उक्त तहमा पढ्नसक्ने क्षमता रहेको छ । त्यसमा ५ सरकारी (आङ्गिक) क्याम्पसमा ६ सय विद्यार्थीले पढ्न पाउँछन् । निजी (सम्बन्धन प्राप्त) मा विभिन्न समावेशीताका आधारमा ३१ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउँछन् । शुल्क तिरेर पढ्ने १ हजार ४ सय विद्यार्थी हुन्छन् ।
प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मङ्गलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ । आङ्गिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो । तत्पश्चात विद्यार्थीले पढ्न चाहेको क्याम्पसमा आवेदन दिएका छन् । ती क्याम्पसका लागि पहिलो चरणको योग्यता सूची पठाइएको र केही दिनमा भर्ना लिइने डा.बज्राचार्यले जानकारी दिए । बोर्डले तोकेअनुसार न्यूनतम् अङ्कभार तथा मापदण्ड पूरा गरी प्रवेश परीक्षामा सफल भएकालाई योग्यताक्रमअनुसार भर्ना लिइनेछ ।
पुल्चोक इञ्जिनियरिङ क्याम्पसका केमिकल इञ्जिनियरिङ विभागका प्रमुख प्रा.डा. हेमराज पन्त पनि परीक्षाको मिति सर्नु र चिकित्सा शिक्षाको परीक्षासँग मिति जुध्नुले सहभागी सङ्ख्या केही घटेको बताए । उक्त क्याम्पसका प्राध्यापक सङ्घका सभापति डा.पन्तका विचारमा नेपालमा अन्य विश्वविद्याय र त्रिविकै पनि अरु अध्ययन संस्थान र सङ्कायमध्ये इञ्जिनियरिङ अध्ययन संस्थान अग्रणी स्थानमा रहेको छ ।
पुल्चोक क्याम्पसका उपप्राध्यापक बाबुराम दवाडीको एक अध्ययनमा अनुसन्धानात्मक गतिविधिमा स्रोत साधनको कमी भए पनि पूर्णतया योग्यताक्रम (मेरिट)का आधारमा पारदर्शीरुपमा भर्ना लिइनु, परीक्षाका गतिविधिमा सूचना र प्रविधिको प्रयोग हुनु आदि कारणले त्रिविको इञ्जिनियरिङ शिक्षामा गुणस्तर कायम रहेको र संस्थानको भावि रणनीति कार्यान्वयन भएमा अझै सुधार हुने अपेक्षा व्यक्त गरिएको छ ।
त्रिविका ५ अध्ययन संस्थानमध्ये इञ्जिनियरिङ अध्ययन संस्थान एक मानिन्छ । यसको स्थापना मुुलुकमा नयाँ शिक्षा योजनासँगै विसं २०२९ मा भएको हो । स्थापनाकालमा यसले राष्ट्रिय आवश्यकताअनुरूपका मध्यम तथा उच्च तहका इञ्जिनियरिङ जनशक्ति अर्थात् ओभरसियर र इञ्जिनियर उत्पादन, विभिन्न तहका जनशक्तिलाई तालिम र देशको इञ्जिनियरिङ क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि एवं अनुसन्धान तथा परामर्श सेवा उपलब्ध गराउने मुख्य उद्देश्य राखेको थियो ।
हाल इञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत केन्द्रीय क्याम्पस, पुल्चोक, थापाथली क्याम्पस पूर्वाञ्चल क्याम्पस, धरान र पश्चिमाञ्चल क्याम्पस, पोखरा छन् । उच्च शिक्षामा निजी तथा समुदायको भूमिकालाई पनि परिचालन गर्ने सरकारको लक्ष्यअनुरुप इञ्जिनियरिङ शिक्षा प्रदान गर्न त्रिविबाट सम्बन्धन प्राप्त गरेका अन्य १० वटा कलेज यस संस्थानअन्तर्गत सञ्चालनमा रहेका छन् ।
त्रिविका अतिरिक्त काठमाडौँ विश्वविद्यायल, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्याय, मध्यमाञ्चल विश्वविद्याय, लुम्बिनी–बौद्ध विश्वविद्याय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायमा गरी प्रतिवर्ष करिब १० हजार विद्यार्थी पढ्नसक्ने क्षमता रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.