त्रिविमा शीतकालिन कक्षा सञ्चालन, विद्यार्थीको बौद्धिक क्षमताको विकास हुने

  २०८० मंसिर २१ गते १३:२२     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शीतकालिन कक्षा सञ्चालनमा आएको छ । बिहीबारदेखि त्रिभुवन विश्वविद्यालयमा शीतकालिन कक्षा सञ्चालनमा आएको हो ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (चाइनिज एकेडेमी अफ साइन्सेस–त्रिभुवन विश्वविद्यालय) र एकिकृत अन्तरराष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा शितकालिन कक्षा सञ्चालन २०२३ आरम्भ गरेको छ ।

रिमोट सेन्सिङ प्रविधिको माध्यामवाट हिउँ र हिमनदीको स्थलगत अध्ययन पश्चात राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका २५ जना विद्यार्थी सहभागी भएका छन् । शितकालिन कक्षामा हिमनदीमा देखिएका तत्कालिन एवम् दीर्घकालिन प्रभाव, समग्र मौसम परिवर्तनमा देखिएको परिवर्तन, हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विभिन्न शीर्षकमा कक्षा सञ्चालन हुने जनाइएको छ । मंसिर २१ देखि पुस १ गते ११ दिन सम्म कक्षा सञ्चालनमा आउने छ ।

सहभागी विद्यार्थीहरु मध्ये ९ जना सगरमाथा क्षेत्रको खुम्वु क्षेत्रमा रहेको हिमनदीहरुको तत्कालिन अध्ययन गरी फर्किएका हुन । शीतकालिन कक्षामा भारतका २, पाकिस्तानका १, भुुटानका १ र थाइल्याण्डका १ विद्यार्थीहरु समेत संलग्न रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले अन्तरराष्ट्रिय शैक्षिक सहकार्य मार्फत विद्यार्थीहरुको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन यो कक्षा सञ्चालन गरेको बताउँदै कक्षाबाट अन्य विभागहरु समेत प्रोत्साहित हुनुपर्ने बतए ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा. विनिल अर्यालले अन्तरदेशीय शैक्षिक सहकार्य मार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तरराष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात सञ्चालन गरि कक्षाबाट विद्यार्थीहरु थप लाभान्वित हुने बताए ।

विज्ञान र वैज्ञानिकहरु सधै खोज र अनुसन्धानका लागि क्रियाशिल रहनुपर्ने भन्दै उनले मौसम परिवर्तन र हिमनदीमा देखिएका जोखिमपूर्ण परिवर्तनको वास्तविक अध्ययन मार्फत भविष्यमा हुनसक्ने विश्वसंकटबाट जोगाउन शीतकालिन कक्षासञ्चालन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी) का प्रतिनिधि डा.प्याट्रिक वागनोन र डा. एडिना राकोभिटानु ले विद्यार्थीहरुलाई कक्षामा आफ्नो उत्सुकता सम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गरेका छन् । डा. प्याट्रिकले ४ बर्षे आफ्नो नेपाल बसाईमा उच्च हिमालीय क्षेत्रको विस्तृत अध्ययन गरी धेरै कुराहरु सिक्न पाएको बताए ।

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दिपक अर्यालले शीतकालिन कक्षा सञ्चालनले विद्यार्थीहरुमा अध्ययन र अनुसन्धान प्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययन मार्फत बौद्धिक क्षमताको विकास गराउन समेत सफल भइरहेको बताए ।

विद्यार्थीहरुलाई निरन्तर अवसरहरु उपलब्ध गराइरहने र उनीहरुलाई उत्कृष्ट अध्ययन/अनुसन्धान गर्ने वातावरण निर्माणमा विभाग लागिरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.