२०८० पुष १ गते १६:३५ विकासन्युज
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका(७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले अरु क्षेत्रमा गरेको लगानी मासिने, आगलागी हुने र बाढी पहिरोले बगाउने तर शिक्षाको लगानी कसैले खोस्न नसकिने बताएका छन् ।
‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’ उनले भने, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
‘०४६ सालपछि नुवाकोटमा विस्तारै विकास सुरुवात भएको हो । ककनीको बाटो काठमाडौं बिजुली लैजान बनाएको हो । ०४६ पछि पुल, सिँचाई, विजुली विस्तार भयो । हामी विकासप्रेमी हौं, पार्टी भनेर विभेद गर्दैनौं’ मन्त्री डा. महतले भने, विकास हुनुपर्छ, विकास सबैका लागि हो ।’
‘म अप्ठ्यारो समयमा अर्थमन्त्री भएको छु, बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौं, उनले भने, समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेका छौं । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’
काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्न थाल्ने छ । लगानी भित्रिएर जग्गाको मूल्य वृद्धि हुनुका साथै स्थानीयको आम्दानी बढ्ने उनको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.