२०८० पुष २ गते ११:५५ विकासन्युज
काठमाडौं । एउटा लेखकलाई लेखेर बाँच्न कति सहज छ ? यो प्रश्नको जवाफ लेखक स्वंयमलाई दिन मुस्किल छ । त्यसैले हुनुपर्छ एउटा गन्तव्यमा हिँडेका उनले अर्कै गन्तव्य रोज्नुपर्यो । अर्थात्, हिँडिरहेको बाटोले अर्कै मोडमा पुर्यायो । मोड थियो घरदेश र परदेश । अन्ततः उनले परदेश नै रोजे, अनि लेखे, ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो, जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’
हुन त उनी जस्तै धेरै व्यक्तिको जीवनमा यो गीत मेल खान्छ । रहर वा बाध्यताले परदेशिनेहरूको पीडा फरक हुन्छ । यो गीत ठ्याक्कै उनकै जीवनमा मेल खाए पनि उनले परदेशी फिल्मको लागि लेखेका थिए ।
नेपाली साहित्यको पोको बोकेर हिँडेका उनी अहिले सात समुन्द्र पारी छन् । भन्न त उनी भन्छन्, ‘मैले बिरानो भूमिबाट नेपाली भाषा साहित्यलाई थप मजबुत बनाएको छु ।’ उनले भनेजस्तै परदेशबाट भएपनि उनको कलम नेपाली साहित्यकै लागि चलिरहेको छ ।
वि.सं २०५४ सालमा नेपाली साहित्यबाट लारी स्वर्णपदक पाएका लालगोपाल सुवेदी नेपाली साहित्यका एउटा खम्बा हुन् । आज हामीले उनलाई खोज्दा उनी त्रिभुवन विश्वविद्यालयको प्रोफसर वा लेक्चरको रुपमा भेटिनुपर्थ्याे वा कुनै कलेजको प्रिन्सिपलको रूपमा भेट्नुपर्थ्याे । तर, बिडम्बना उनलाई सामाजिक सञ्जालमा खोज्नु पर्छ ।
उनले नेपालमै अवसर नपाएको पनि होइन । व्याकरण, समालोचना, कविता लेखेर पनि भात खान पुगेकै थियो । तर, यतिले परिवार पाल्न प्रयाप्त थिएन । उनले नेपालका विभिन्न विद्यालय कलेजमा पनि पढाए । नेपालमा सामान्य जीवन बिताइरहेका उनी अहिले सबैको सपनाको देश अमेरिका पुगेका छन् ।
‘भाग्य भनौं वा मिहिनेत अचानक अमेरिकाको चिठ्ठा पर्यो, उतै हानिएँ,’ उनले भने ।
साहित्यमा रूची
एउटा-एउटा प्रतिभा सबैमा हुन्छ । तर, कसैले आफ्नो प्रतिभालाई चिन्न सक्दैनन् । लालगोपालले आफूमा भएको प्रतिभामात्र चिनेन्, प्रतिभामै जीवन खोजे । पहाडी जिल्ला स्याङ्जाको क्याक्मीमा जन्मेका लालगोपाल सुवेदीलाई गाउँको सम्झना त्यति छैन । उनी कक्षा ४ पढ्दै काभ्रे आइपुगे । काभ्रेमा होस्टेलमै बसेर पढाइ सुरु गरे । बाआमासँग खेतबारी गर्दै विद्यालय जानेबेला उनी एक्लै बसेर पढ्न थाले । पढाइको लागि काभ्रे आएपनि बाल मस्तिष्कमा गाउँ घुम्थ्यो ।
उनी पढ्ने विद्यालयमा हरेक साता अतिरिक्त क्रियाकलापहरू हुन्थ्यो । कहिले गीत गाउने, नाच्ने, कहिले कवीता लेख्ने, कहिले निबन्ध लेख्ने । यस्ता कार्यक्रममा उनी सधैं भाग लिन्थे । बालापन सम्झदै उनले भने, ‘मलाई निबन्ध, गीत लेख्न खुब मन पर्थ्यो, सधै भाग लिन्थेपनि र मैले भाग लिएको कार्यक्रममा सधै पहिलो नै हुन्थें, जसले गर्दा मलाई झन बढी रूची लाग्थ्यो ।’
लाल गोपालले ११ वर्षको उमेरमा ‘आमा’ शिर्षकको कविता लेखेका थिए । त्यो कविता २०४१ सालमा बालक भन्नेपत्रिकामा छापियो । उनको विद्यालयमा भित्तेपत्रिकामा निस्कन्थ्यो । त्यतिबेला नै उनी निबन्ध, गीत रचनाहरू लेखेर छाप्ने गर्थे ।
‘नेपाली साहित्यप्रतिको सानैमा झुकाव थियो । तर, लेखकमाथिको सम्मान भने बुझदै गएपछि थाहा पाएँ,’ उनले भने ।
एक मोहर पाउँदा
लालगोपाल कक्षा ४ मा पढ्दा विद्यालयमा कविता वाचन प्रतियोगिता भयो । प्रतियोगितामा कक्षा ८ सम्मका विद्यार्थीले भाग लिए । उनले कितावमा रहेको एउटा कविता वाचन गरेर सुनाएका थिए । कविता राम्रो वाचन गरेकोमा १ मोहर पुरस्कार पाएका थिए ।
‘जानी नजानी सुरु गरेको साहित्य यात्रामा विस्तारै प्रेम बस्यो, यस्तो प्रेम कि सात समुन्द्रले पनि हाम्रो सम्बन्धलाई तोड्न सकेन,’ उनले भने ।
उनी कक्षा १० पढ्दा राष्ट्रिय स्तरको बालकवी गोष्ठी भयो । त्यसमा उनी द्धितीय भए । उनले सुरुमा रानी ऐश्वर्यको हातबाट पुरस्कार पाए । त्यसपछि उनको लेखनले गति लिँदै गयो, राष्ट्रिय स्तरमा हुने हरेक साहित्य कार्यक्रममा उनी भाग लिन थाले ।
वि.सं. २०४७ सालमा राष्ट्रिय कविता महोत्सव प्रतियोगिता भयो । त्यो बेला राजाले नै कविताको शीर्षक दिने चलन थियो । उनले छन्द कविता प्रस्तुत गरे । त्यसका लागि निकै मिहिनेत गरे । स्कुलमा हुने कार्यक्रमदेखि नै मैले जित्नुपर्छ भन्ने मान्यता उनमा थियो ।
उनले भने, ‘त्यसका लागि दुई हरफ थानकोट गएर लेखेँ , दुई हरफ धुलीखेल गएर लेखेँ, ती लेखेका मध्ये उत्कृष्ट हरफ छनोट गरर प्रस्तुत गरेँ पछि द्धितीय भएँ ।’
त्यो बेला देशभित्र बाहिरबाट १४ सय बढी प्रतियोगी थिए । त्यसमा उनी तृतीय भए । उनले राजा विरेन्द्रको हातबाट पुरस्कार थापे । पुरस्कारमा दुई हजार थियो । ‘मेरो विद्यार्थी जीवनको खर्च प्रतियोगिताका पुरस्कारले चलाएको हुँ ’उनले भने ।
प्लस टु पछिको पढाई
रूची साहित्यमा भएपनि उनले काठमाडौं आएर कमर्श पढ्न थाले । साहित्यमा रूची राख्ने मान्छे किन कमर्श लाइनतिर जानुभयो ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने, ‘त्यो बेला कमर्श, साइन्स लिएर पढ्ने विद्यार्थीहरूको पहिचान छुट्टै हुन्थ्यो, धेरै साथीहरूले पनि यही भने, मैले पनि त्यही पढेँ ।’
एसएलसीपछि उनी शंकरदेव विद्यालयमा भर्ना भए । पढ्दै गर्दा पनि राष्ट्रिय स्तरमा भइरहेका हरेक कार्यक्रममा भाग लिन्थे ।
उनको पढाइ पनि राम्रो थियो । पढाइ राम्रो भएका कारण उनले वि.सं २०५४ सालमा नेपाली विषयबाट त्रिभुवन विश्व विद्यालयबाट लारी स्वर्ण पदक प्राप्त गरे । अहिले उनी नेपाल संस्कृत विश्वविद्यालयबाट माधवप्रसाद घिमिरेका गीति नाटकमा मानवतावाद विषयमा पीएचडी गर्दै छन् ।
लाल गोपालले वि.सं २०४८ सालमा दिपेन्द्र प्रहरी स्कुलमा प्रावि तहमा अध्यापन गराएका थिए । त्यसपछि पनि उनले विभिन्न विद्यालयमा पढाए । पहिले उनलाई राम्रो स्कुल खोज्नुपर्थ्यो भने, त्रिविबाट स्वर्ण पाईसकेपछि काम खोज्न परेन ।
‘पहिले मैले जागिर खोज्नु पर्थ्याे, गोल्ड मेडलिस्ट हुँदा त मलाई जागिर खोज्दै आयो, त्यसपछि युनाइटेड एकाडेमीमा पढाउन सुरु गरें,’ अध्यापनका दिनहरू स्मरण गर्दै उनले भने ।
साहित्यका १८ वटा कृति
लालगोपालको मुल विधा कविता हो । तर, उनी कथा बाहेक अरु विधामा पनि कलम चलाउँछन् । गिती नाटक, व्याकरण, निबन्ध समालोचनामा बढी कलम चलाउँछन् । उनले गीत पनि लेखेका छन् । उनले लेखेका गीतमध्ये सबैभन्दा चलेको गीत परदेशी फिल्मको ‘बिछोडको करौंतीले काट्नु मनै काट्यो’ हो ।
उनले लेखेका करिब २० वटा गीत रेकर्ड छन् । ‘आजभोलि गीत लेख्नेहरूले नै पैसा दिएर गीत रेकर्ड गर्न लगाउँछन्, नयाँ नयाँहरूले बढी पैसा दिन्छन्, उनी भन्छन्, ‘जसले गर्दा गीतको गुणस्तर पनि खस्कन थाल्यो, साथीहरूको पनि बाध्यता थियो होला ।’
‘फूलको देशमा छन्द्ध’ (कविता संग्रह), ‘नेपाली कविताको सिद्धान्त र विकासक्रम’ (समालोचना), ‘पुतलीलाई जामा’ (बालकथा संग्रह), ‘देवता जस्तै नेपाली, मन्दिर जस्तै मान्छे’ लगायतका १८ बढी कृति प्रकाशन भएका छन् । यतिका कृति लेखेर कति पैसा कमाउनुभयो ? भनेर सोध्दा उनले भने, ‘धेरै हैन, नढाटेर भन्दा लाख जति कमाएँ, जसले मलाई भात खान सक्ने बनायो ।’
कामको सम्मान अवार्डमा
साहित्यमा जति लालगोपालले योगदान पु¥याए उति नै उनलाई देशले सम्मान पनि दियो । उनले पाएका अवार्डले उनको घरका भित्ता रंगिएका छन् । उनि भन्छन, ‘बच्चादेखि पुरस्कार र सम्मान थाप्ने बानी परेको मलाई राष्ट्रले पनि उत्तिकै सम्मान दिएको छ, यही सम्मानले मलाई अहिलेपनि यो क्षेत्रमा जीवित राखेको छ । ’
लालगोपालले २०६० सालमा नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार, २०५९ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपाल, प्रज्ञाप्रतिष्ठान लगायत विभिन्न संघसस्थाबाट अवार्ड पाएका छन् ।
अमेरिकाको बसाइँ
वि.सं २०६६ सालमा चिट्ठा परेर उनको परिवार अमेरिका गयो । त्यहाँ अहिले उनी एउटा ठूलो अपार्टमेन्टमा म्यानेजमेन्टको रुपमा काम गर्छन् । काम गरेवापतको पैसा पनि राम्रै आउँछ । अहिले नेपालको जस्तो भात खान मात्र हैन, भोलिलाई बचत गर्न पनि सकिएको छ । त्यो भन्दा बाहेकको अरु काम उनको अहिले पनि लेखनमै बित्छ ।
‘देशभित्र भन्दा बाहिर रहँदा देशको माया लाग्दो रहेछ, अहिले म अमेरिका गएर पनि नेपाली साहित्यकै चिन्तन गरिरहेको हुन्छु,’ उनले आफ्नो अनुभव सुनाए ।
नेपालमा उनले गर्ने काम र अहिले विदेशमा बसेर गर्ने काम धेरै फरक छ । यहाँ लेखर खाने उनी अमेरिका एउटा भवन म्यानेजमेन्टको काम गर्छन् । नेपालको प्रज्ञा प्रतिष्ठानजस्तै त्यहाँ अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल भन्ने संस्था छ । त्यो संस्थाले अन्तरदृष्टि साहित्य पत्रिका त्रैमासिक रुपमा निकाल्छ भने अनलाई संस्करण पनि छ । लालगोपाल अहिले त्यो पत्रिकाको प्रधान सम्पादकको रूपमा पनि काम गरिरहेका छन् ।
पठन संस्कृति घट्यो
साहित्यको मुल उद्देश्य भनेको आनन्द र शिक्षा सँगसँगै दिनु हो । एकताका थियो, खोजीखोजी पुस्तकहरु पढ्ने । तर, अहिले त्यस्तो छैन । उनी थप्छन्, ‘अहिले इन्टरनेटको जमाना आयो, मान्छेलाई जान्न सुन्न मन लागेको कुरा सहजै मोबाइलबाट हेर्न मिल्छ, त्यसैले पनि पछिल्लो समय पठन संस्कृति घटेको हुनुपर्छ ।’
यो नेपालको मात्र नभई विश्वकै समस्या भएको उनी बताउँछन् । पछिल्लो समय नेपालका अनलाईन संस्करणमा लेखिएका लेखहरु हुन् या कुनै पुस्कार पाएका राम्रा पुस्तक हुन् पहिलेको तुलनामा अहिले बिक्री हुन छोडको उनी बताउँछन् । एकताका हातमा मोबाइल नहुँदा काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिपत्रिका पढ्नलाई मरिहत्ते गर्थे । तर, अहिले यस्तो छैन । समग्ररुपमा हेर्दा अहिले पठन संस्कृति घटेको सुबेदी बताउँछन् । उनी नेपाली भाषाको मात्र नभएर विश्कै भाषाको पठन संस्कृतिमा यस्तो समस्या देखिएको बताउँछन् ।
विश्वका लेखकहरूलाई हेर्ने हो भने लेखेरै करोडौँ, अरबौँ कमाउनेहरू पनि छन् । नेपालमा पनि लेखेर कमाएका केही व्यक्तिहरु छन् । त्यो भित्र लालगोपालको नाम पर्दैन । कविताका पाठक सीमित हुन्छन् । साहित्यका विभिन्न विधाका पाठक फरक-फरक हुन्छन् ।
लालगोपालले लेखेका निबन्ध, व्याकरणहरू विभिन्न विद्यालयमा पढाइ हुन्छन् । उनको विद्यालयका लागि सिर्जना गरिएका किताबबाट आर्थिक हैसियत बढ्छ ।
स्वदेश फर्किने मन
लालगोपालका श्रीमती, दुईजना छोरा गरि चारजनाको परिवार छ । स-परिवार अहिले विदेशमै छ । उनलाई फेरि पनि आफ्नै देश फर्कन मन छ । ५३ वर्षको उमेरमा आइपुग्दा सुवेदीको आधा, नेपाल र आधा बाहिरको बसाइँ रह्यो ।
‘देश आफुलाई प्यारो हुन्छ, अहिले सबैजना काम गरिरहेका छौँ, अब पछि फर्कने भनेको नेपालमै हो,’ उनी भन्छन् ।
लालगोपाल आफू विदेश गएर बस्नुलाई अवसरको सदुपयोग गरेको बताउँछन् । ‘यो अवसर हो, यसको सदुपयोग गरेको हुँ, अब नेपाल फर्केर बस्ने मन छ,’ उनी भन्छन्, ‘स्वदेश-परदेश जता भएपनि नेपाली भाषा र साहित्यको चिन्ता लाग्छ, मेरो शरीर जता भएपनि मन नेपाल र नेपाली भाषा साहित्यमै छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.