मध्यमवर्गले पनि लगाउन थाले है हिराका गहना !

  २०८० पुष ५ गते १०:१५      ऋतु

काठमाडौं । कुनै जमाना यस्तो थियो– ओहो ! हिराको गहना लगाएको ? त्यस्तो महँगो… धनीमानीले लगाउने त हो हिरा !

हिराका गहना धनाढ्य, व्यापारी, धनीमानी कुल खान्दानका महिला वा पुरुषले लगाउने गर्छन् भन्ने सर्वसाधारणको बुझाइ थियो । एक हिसाबले कुरा सही पनि थियो । किनभने, हिराका गहना लगाउन प्रशस्तै सम्पत्ति वा आम्दानी हुनुपर्थ्यो ।

तर, केही वर्षयता हिराका गहना लगाउने ‘ट्रेन्ड’ बिस्तारै सर्वसाधारणसम्म आइपुगेको छ । सर्वसाधारणको मतलब यो होइन कि बिहान कमाएर साँझ खाने र साँझ कमाएर बिहान खाने । यसको मतलब हो– मध्यमवर्ग ।

पछिल्लो समय नेपाली मध्यमवर्गमा पनि हिराका गहना लगाउने अभ्यास बढेको छ । हिराबाट बनेका फुली, औंठी, हार, टप, झुम्कालगायत गहनामा मध्यमवर्गको आकर्षण बढ्दो छ ।

संसारमै धेरै महँगो मानिने हिराजडित गहना सर्वसुलभ हुँदै गएको नेपाली बजारले पनि पुष्टि गर्छ । नेपालमा १४ क्यारेटको सुनमा हिरा राखेर गहना बनाउने गरिएको व्यवसायीहरू बताउँछन् ।

सुनका गहना बनाउँदा सतप्रतिशत २४ क्यारेटको बनाउनुपर्छ भने हिराका गहना बनाउँदा १४ क्यारेटमा बनाउने गरिएको छ । अहिले हिरामा प्रयोग हुने १४ क्यारेट सुनको भाउ तोलाको ५५ देखि ५६ हजार रुपैयाँसम्म पर्ने व्यवसायीको भनाइ छ ।

अहिले हिराका प्रमुख खरिदकर्ता धनाढ्य परिवार र विवाहको औंठीमा हिरा रुचाउने मध्यमवर्ग छन् । तर, धेरैको रोजाइमा भने सस्तो मूल्यमा उपलब्ध हुने मानव निर्मित कृत्रिम हिरा हो । प्राकृतिक हिराको मूल्य असाध्यै महँगो हुने भएकाले जोसुकैले खरिद गर्न सक्दैनन् ।

काठमाडौं विशालबजारको एक डाइमन्ड (हिरा) पसलमा भेटिएकी वीरगन्जकी दिप्ती शाह हिराको औंठीको विषयमा सोधिखोजी गर्दै थिइन् । उनी आउने माघमा विवाह हुन लागेको आफ्नो भाइकी दुलहीका लागि हिराको औंठी किन्न खोजिरहेकी थिइन् । पसल सञ्चालकले दुईवटा औंठी देखाए ।

उनले दुइटै हिराको औंठी मन परेजस्तो गरिन् ।

पसलेलाई सोधिन्, ‘कति पर्छ यो दुइटाको ?’

पसलेले झट्ट जवाफ दिए, ‘लगभग १० लाख रुपैयाँ !’

हिराको औंठी मनपरे पनि झट्ट खरिद गर्ने निर्णय भने उनले गरिहाल्न सकिनन् ।

‘सुनको मूल्य पनि निरन्तर उकालो यात्रामा छ, अरू गहना सुनकोे किने पनि औंठी भने हिराको किन्न खोजेका थियौं,’ उनले विकासन्युजसँग भनिन्, ‘तर, दुइटा औंठीकै लगभग १० लाख रुपैयाँ पो पर्ने देखियो त ! अब परिवारसँग फेरि एकपटक सल्लाह गर्नुपर्ने भयो ।’

हिरा पसल सञ्चालक (व्यवसायी) ले आफ्नो नाम र कारोबारका विषयमा भने खुलेर बोल्न मानेनन् ।

‘अहिले मन्दीको बेला पनि छ, हिराको गहनाको कारोबार सामान्य छ, यति परिमाणकै कारोबार हुन्छ भन्ने छैन, महिलाहरूमा हिराको गहनामा आकर्षण बढे पनि किन्ने धेरै हुनुहुन्न ।’

०००

नाम र कारोबार खुलाउन अस्वीकार गर्ने हिरा व्यापारीका कुरा छाडौं । हिरा व्यापारमा वर्षौंदेखि लागेको र यसबार खुलेर कुरा गर्ने व्यवसायीको पनि कमी छैन । न्यूरोडमा सुनसँगै हिराका गहना व्यापार गर्दै आएको मेरिगोल्ड ज्वेलर्सका सञ्चालक ज्योत्सना श्रेष्ठ पहिला–पहिला धनीमानीले मात्रै लगाउने भनिएको हिराका गहना अहिले मध्यमवर्गीय नेपालीले पनि लगाउन सक्ने भएको बताउँछिन् ।

‘एउटा सानो हिराको फुली अचेल ५ हजार रुपैयाँमा आउँछ, ५ हजारको फुली त जसले पनि किन्न (अफोर्ड गर्न) सकिहाल्छ नि,’ उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षसमेत रहेकी श्रेष्ठ भन्छिन्, ‘अहिले मान्छेले हिराबारे बुझ्दै पनि गएका छन्, जोकोहीले हिराका गहना लगाउन थालेका छन् ।’

पछिल्लो समय कम हिरा राखेर पनि गहनाका डिजाइन बनाउने धेरै ग्राहक उनको पसलमा आइरहेका छन् । ‘सानो औंठी नै लगाउने हो भने पनि ३०-४० हजार रुपैयाँमा पाइन्छ, सुनकै बनाए पनि त्यति मूल्य पर्छ नै,’ उनी थप्छिन्, ‘सर्वसाधारणको बुझाइ के छ भने सुनको जस्तो रिसेल भ्यालू (पछि बेच्दा मूल्य नआउने) हुँदैन कि भन्ने छ । तर, यसमा पनि रिसेल भ्यालू हुन्छ ।’

हिराको कन्सेप्ट बुझ्न थालेपछि अहिले एउटा औंठी भएपनि किन नबनाउने भनेर बनाउने धेरै मान्छे भएको श्रेष्ठ बताउँछिन् ।

‘विवाहमा सबै गहना सुनको बनाए पनि एउटा सानो औंठी चाहिँ हिराकै बनाउँछन् मिडियम क्लास (मध्यम वर्ग) ले पनि,’ श्रेष्ठ भन्छिन्, ‘हाई क्लास (उच्च वर्ग) ले सबै सेट हिराकै बनाउँछन् । केहीले नेक्लेस र चुरामात्रै पनि बनाउँछन् ।’

कहाँबाट ल्याइन्छ हिरा ?

नेपालमा विशेषगरी हिरा दक्षिणी छिमेकी देश भारतबाट आयात गर्ने गरिन्छ । हिरा कटिङ र पोलिसिङ भारतमा हुने हुँदा त्यहाँबाट आयात गर्न सकिने श्रेष्ठ बताउँछिन् ।

अहिले हिरा व्यवसायी आफैंले आयात गर्न पाउने श्रेष्ठ बताउँछिन् । ‘हामीले यहीँ डिजाइनअनुसार हिराका गहना बनाउने हो,’ उनी भन्छिन्, ‘आफ्नो पसलमा कति माग छ, त्यति नै आयात गर्ने हो ।’

कति पर्छ मूल्य ?

हिराको गहनाको मूल्य डिजाइन, रङ, गुणस्तर र तौलअनुसार फरक–फरक हुने श्रेष्ठ बताउँछिन् । ‘हिराको मूल्य धेरै किसिमको हुन्छ,’ उनी भन्छिन्, ‘त्यसको कलर, कटदेखि लिएर क्वालिटीअनुसार मूल्य निर्धारण हुन्छ, यति नै भन्ने हुँदैन, हजारौंदेखि दसौं लाख मूल्यका हिराका गहना हुन्छन् ।’

श्रेष्ठको मेरिगोल्ड ज्वेलर्समा झुम्का, टप, औंठी, हार, चुरा, चेन, मंगलसूत्रलगायत गहना हिराकै बन्छन् । त्यसको मूल्य भने गहना कस्तो बनाइन्छ भन्नेमा भर पर्ने उनको भनाइ छ ।

हिराकै गहना पनि नयाँ डिजाइन आउनासाथ बनाइ हाल्ने ग्राहक पनि आउने गरेको उनी बताउँछिन् ।

‘केही ग्राहक एकदमै सौखिन पनि हुनुहुन्छ। पैसा हुनेलाई त ठूलो कुरा भएन,’ श्रेष्ठ भन्छिन्, ‘तर, अहिले सुनको भाउ पनि एकदमै बढेको र आर्थिक स्थिति पनि जटिल भएका कारण व्यापार कम भएको छ । पहिला पहिला दसैँतिहारमा पनि सुनका गहना नयाँ लगाउने चलन थियो । अहिले आम्दानीको स्रोत खुम्चिँदै गएको र वस्तुको मूल्य बढ्दै गएकाले लगाउन नसकिने स्थिति छ ।’

अहिले आर्थिक मन्दीको प्रभावले विवाहकै सिजनमा पनि धेरै कारोबार गर्न नसकिएको उनी बताउँछिन् ।

अब कुरा सुनौं, हिरा व्यापार, हिराका गहना र ग्राहक ट्रेन्डबारे व्यवसायीहरूका छाता संगठनका अध्यक्ष माणिकरत्न शाक्यको ।

‘हिरा नेपालमा पाइने वस्तु होइन, भारतबाट आयात हुन्छ । पहिला राणाकालीन समयमा धेरै हिरा बाहिरबाट आउँथ्यो । पहिला हिरा आयातमा प्रतिबन्ध नै थियो । हिराबाट बनेका गरगहनामात्र ल्याउन पाइन्थ्यो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘२०६९ सालमा नेपालको ठूलो बजारमा हिराको सामान बढी देखियो, तब त्यो हिरा कहाँबाट आयो, त्ससको ट्याक्स (कर) तिरेको छ वा छैन भन्ने उत्सुकताले नेपाल सरकारबाट हिरामा अनुगमन भएको थियो ।’

त्यसपछि २७-२८ प्रतिशत कर तिरेर सरकारले हिरा आयात खुलाएको शाक्य सम्झिन्छन् । अहिले हिरा आयात गर्दा १ प्रतिशतमात्रै कर तिरे पुग्छ । हिरा खासगरी व्यवसायीले भारतबाट नै आयात गर्छन् ।

‘तर, यहाँ हिराकै व्यवसाय गर्ने भनेर सञ्चालन गरिएका पसल तथा शोरुममा सोध्ने हो भने उनीहरूले यति कारोबार भयो भनेर तथ्यांक पनि दिने गरेका छैनन्,’ शाक्य भन्छन्, ‘सुनकै मूल्यको कुरा गर्ने हो भने केही दिनअघि मात्रै तोलाको झन्डै १ लाख २२ हजार रुपैयाँ पुगेको थियो । अहिले १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।’

हिराको गुणस्तर कसरी थाहा पाउने ?

शाक्यका अनुसार सुनजस्तै हिरा पनि महँगो मूल्यमा नै कारोबार हुने रत्न हो । यसमा सुनको जस्तो अन्तर्राष्ट्रियरूपमा मूल्य तोकिएको हुँदैन । हिरामा पनि २४ क्यारेट, २२ क्यारेट, १८ क्यारेट र ९ क्यारेट जस्तै क्वालिटी हुन्छ । र, त्यसैअनुसार मूल्य निर्धारण हुन्छ । मूल्य सबै पसलमा फिक्स (एउटै) हुँदैन ।

क्यारेट, कलर, क्ल्यारिटी र कटिङ (तौल, रङ, पारदर्शिता र आकार) तथा फिल्टरिङ (हिराका कण छान्ने) को मात्राबाट हिराको मूल्य निर्धारण हुने शाक्य बताउँछन् । यसलाई चार वटा ‘सी’ भनिने र नेपालमा चार सीको मात्रा पत्ता लगाउने ल्याब नभएको उनको भनाइ छ । भारतबाटै या अन्य देशबाट नै यसको मात्रा पत्ता लगाएर आयात हुने गरेको उनी खुलाउँछन् ।

‘हिरा पारदर्शी वस्तु हो । यसमा विभिन्न रङ देखिन्छ । यसमा हलुका निलो, सेतो, कालो, पहेँलोजस्ता रङ देखिन्छ । पहेँलो राम्रो मानिँदैन । हलुका निलो वा सेतो सबैभन्दा राम्रो मानिन्छ,’ शाक्य थप्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा यी रङलाई ‘डि, ई, एफ, जी, एच, आई र जे’ गरी ७ वटामा व्याख्या गरिन्छ । यसमा डी सबैभन्दा गुणस्तरीय मानिन्छ र यो महँगो पनि हुन्छ ।’

आर्थिक मन्दीको चपेटामा हिरा व्यापार

आर्थिक मन्दीले हिराको व्यापार पनि नदेखिने तरिकाले सुस्त नै चलेको शाक्य बताउँछन् ।

‘सामान्य नेपालीलाई उकालो लागिरहेको मूल्यका कारण सुन लगाउन पनि गाह्रो छ, हिरा कसरी लगाउलान भन्ने हो,’ उनी भन्छन, ‘अलिकति आम्दानी बढी भएका मान्छेले सुनमा भन्दा हिरामा चाहना राखेको पाइन्छ । नेपालमा अहिले लगन सकिएको अवस्थामा १० देखि १२ किलो सुन दैनिक खपत भइरहेको छ । हिराको खपत कति छ भनेर ठ्याक्कै भन्ने अवस्था पनि छैन । सुनको जस्तै तथ्यांकमा पनि समेटिएको छैन ।’

पहिले अनुमानका भरमा हिरा किन्नुपर्थ्यो

आजभन्दा २०-२५ वर्षअघिसम्म हिरा नक्कली हो कि सक्कली भन्ने अनुमानका भरमा नेपाली बजार गएर किन्नुपर्थ्यो ।

‘मान्छेले विश्वासको भरमा हिरा किन्थे । जान्ने मान्छेले आँखाले हेरेर पनि अलि–अलि थाहा पाउँछन् । नजान्नेलाई हरेक चम्किने वस्तु हिरा हो भन्ने पनि लाग्न सक्छ,’ शाक्य भन्छन, ‘अब भने विज्ञान प्रविधिको विकासले गर्दा सक्कली हिराभन्दा पनि राम्रो हिराकै प्रतिनिधित्व गर्ने ‘आर्टिफिसियल’ म्याग्नेट हिरा पनि आइसकेको छ । त्यसैले नाङ्गो आँखाले जाँच्नै सकिँदैन । अहिले प्रतिस्पर्धामा त्यही सिबिडी हिरा छ । त्यसलाई सक्कली हो कि नक्कली छुट्ट्याउनै सकिँदैन ।’

शाक्यका अनुसार अहिले नेपाली बजारमा बिक्री हुने हिरा सक्कली हुन् वा नक्कली भन्ने छुट्ट्याउन पनि गाह्रो छ । अनि, ग्राहकले पनि अविश्वासका कारण त्यति धेरै किनेको पाइँदैन । समान्य मान्छे हिरा किनबेच गर्न डराउँछ । आज हिराको मूल्य यति छ, भोलि मैले बेच्दा यति पर्छ भन्ने नै हुँदैन । त्यसैले हिराको हिसाब निकै अस्पष्ट छ ।

‘आजभन्दा ६-७ वर्ष पहिले हिरा पसलेले दसैंतिहारमा हिराका गहनामा ४० प्रतिशत छुट भनेर विज्ञापन गरेका थिए,’ शाक्य सम्झिन्छन्, ‘त्यसैकारण त्यस्ता पसलमा अलिकति भिड पनि लागेको थियो । उनीहरूले त्यो घाटाको व्यवसाय त पक्कै गरेका होइनन् । छुट नदिँदा पनि नाफा त थियो । छुट दिँदा पनि नाफाको भाग राखेर नै दिएका होलान् ।’

नेपालको सन्दर्भमा हिराको गहना लगाउन सक्ने स्तरमा पुगेका मान्छे १ प्रतिशतमात्रै होलान् भन्ने अनुमान शाक्यको छ ।

‘९९ प्रतिशत मान्छे सुन लगाउनेमै पर्छन्, पैसा हुनेलाई भविष्यमा हिराको मूल्य फर्कोस्, नफर्कोस् मतलब छैन, सामान्य मान्छेले हिरामा पैसा हाल्न डर मान्छन्,’ उनी भन्छन्, ‘अब नियमन गर्ने विषय कानुनमा भए पनि कार्यान्वयनमा आउँदैनन् । महासंघको प्रयासले हिरामा १ प्रतिशतमात्रै भ्याट लगाउँदा पनि अवैधरूपमा भित्रिएको भन्ने सुन्नमा पनि आइरहेको छ । यसमा हामीले सक्ने प्रयास गर्ने नै छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.