मर्जर तथा एक्विजिसनका लागि एनसीएचएल र नेप्सेले गरे समझदारी

  २०८० पुष ९ गते १८:५०     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले मर्जर तथा एक्विजिसन गर्नको लागि समझदारी गरेका छन् । एनसीएचएलको १५औं वार्षिकोत्सवको अवसरमा दुई संस्थाबीच समझदारीपत्र आदान प्रदान भएको हो ।

उक्त समझदारीपत्र दुबै कम्पनीका मर्जर तथा प्राप्ति समिति संयोजक र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा आदान प्रदान गरिएको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा २०६५ पुस ८ गते एनसीएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको थियो । एनसीएचएल पब्लिक फाइभट पार्टनरसिप मोडेलको अवधारणमा नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु तथा एससीटीको ९ करोडभन्दा कमको पुँजीबाट शुरु भएको हो । एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल इसीसीको शुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको छ ।

विगत १५ वषको यात्रामा, एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचल आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आईपीएस, कपोएरेटपे, कनेक्टआरटीजीएस, नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई) र नेपालपे क्यूआर कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ । हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड योजना कार्यान्वयन गर्ने क्रममा रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यारत आफ्ना सात कर्मचारीहरूलाई उनीहरूको एनसीएचलएल प्रतिको समर्पणको लागि “लंग सर्भिस अवार्ड” प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र एनसीएचएलका अध्यक्ष रामु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

एनसीएचएलले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र प्राविधिक सदस्यहरूबाट पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, मुक्तिनाथ विकास बैंक लिमिटेड, गुडविल फाइनान्स लिमिटेड र खल्ती प्राइभेट लिमिटेडलाई “हाइएस्ट डिजिटल ट्रान्जेक्शन” अवार्ड प्रदान गरी सम्मान गरिएको थियो । त्यसैगरी, नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरिएको थियो ।

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको इजाजत प्राप्त संस्था हो । । यसको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर-बैंक संस्थाहरू छन् । एनसीएचएलको प्रणालीहरुबाट रकमको आधारमा नेपालको ८५ प्रतिशत भन्दा बढी खुद्रा नन-क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.