रोयल इन्फिल्ड मिटिओर ३५० को तीन मोटरसाइकल सार्वजनिक, कुनको मूल्य कति ? 

  २०८० पुष ११ गते १५:३२     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्डको तीन नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएका छन् । रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गत ‘अल्फा अटोमोटिभ प्रालि’ ले बुधबार एक कार्यक्रम गर्दै ‘मिटिओर ३५० सीसी’ को तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा मोटरसाइकल सार्वजनिक गरेको छ । मोटरसाइकल सार्वजनिक गर्ने क्रममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइले उक्त मोटरसाइकल सबैको रोजाइमा पर्ने विश्वास लिएको बताए ।

‘नयाँ मोटरसाइकल सार्वजनिक गर्दा खुसी छौं, यो मोटरसाइकल आम मास बिच लोकप्रिय हुने विश्वास लिएका छौं, आधुनिक विशेषता सहित आएका यी मोटरसाइकल धेरैको रोजाइमा पर्ने आशा छ,’ उनले भने ।

कम्पनीका अनुसार मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । उक्त मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड, इलेक्ट्रोनिक फ्युल इंजेक्शन रहेको छ ।

मोटरसाइकलमा जडान भएको इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र चार हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यसमा डुअल डिस्कब्रेक दिएको पनि बताइएको छ ।
कम्पनीका अनुसार उक्त तीन मोटरसाइकलामा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० कि।मि। माइलेज दिने छ ।
इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुब स्पाइन फ्रेम, आगाडी – चौडा टुबलेस टायर (९१०० / ९० – १९-५७पी), पछाडी चौडा दुबलेस टायर (९१४०/७०-१७“-६६पी) जस्ता फिचरहरू रहेको बताइएको छ ।

नयाँ डिजाइन र आकर्षक लुक्ससँगै आधुनिक विशेषता भएको ३५० सीसीको मिटिओर फायरबल पहेलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध रहेको छ । त्यस्तै, ३५० सीसीको मिटिओर स्टेलर कालो, निलो र रातो रंगमा उपलब्ध भने मिटिओर सुपरनोभा मोटरसाइकल खैरो, निलो र रातो रंगमा उपलब्ध रहेको छ । उक्त मोटरसाइकल रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

कम्पनीले मिटिओर फायरबलको मूल्य पाँच लाख ५० हजार, मिटिओर स्टेलरको पाँच लाख ५५ हजार र मिटिओर सुपरनोभा मोटरसाइकलको मूल्य पाँच लाख पैसठी हजार रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार सबै भेरियन्टको बुकिङ समेत खुल्ला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.