मिटरब्याजी हिसाबले बक्यौता आयो, उद्योग बेचे पनि तिर्न सकिँदैन : अध्यक्ष थापा

  २०८० पुष १३ गते १८:०४     विकासन्युज

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता मिटरब्याजी हिसाबले आएको बताएका छन् । उनले प्राधिकरणबाट मिटरब्याजी हिसाबले आएको बिल उद्योगीले तिर्न नसक्ने बताएका हुन् ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौताको विषयलाई छिटै टुङ्गाएर उद्योग सञ्चालनको लागि सहजीकरणको वातावरण मिलाउनु पर्ने उनको भनाइ छ । ‘भक्त बहादुर पुनको पहिला ४ अर्ब रुपैयाँ देखाएकोमा पछि ६ अर्ब हुँदै २२ अर्ब हुँदै गएर चार गुणा हुन लागि सकेको छ । ब्याजको ब्याज, ब्याजको स्याज जोडिएर आएको बिल मिटर ब्याजको भन्दा पनि छ खण्ड भयो,’ उनले भने ।

प्राधिकरणले लाइन काटेपछि उद्योग सञ्चालन गर्न समस्या भएको उद्योगीहरूले बताउँदै आएका छन् । ‘महँगो बिलको रकम उद्योगीले अहिलेसम्म बुझाएका छैनन्,’ उनले विकासन्युजसँग भने, ‘उद्योग नै बेच्दा पनि प्राधिकरणको बिल तिर्न नसक्ने अवस्था छ, कसरी तिर्ने ?’ विद्युत् प्रयोग गरेको महसुल बुझाउन व्यवसायीहरू तयार रहेको पनि उनको भनाइ छ । उनले प्राधिकरणले यो समय यति तिरेको, यति तिर्न बाँकी भनेर व्यवसायीलाई स्पष्ट पारे उद्योगीले बक्यौता रकम तिर्ने बताए ।

‘कसैले विद्युत् चलाएका होलान् कसैले नचलाएका होलान् त्यो म भन्न सक्दिन, त्यो प्रमाण हेरपछि मात्र थाहा हुने विषय भयो, विद्युत् नचलाएको व्यवसायीलाई यति तिर्नु पर्यो भन्दा कसरी तिर्ने ? त्यो तिर्न सक्दैनन्, त्यसैले विद्युत् चलाएको बाँकी बक्यौता तिर्छौं भनेर उद्योगीले भनी रहेका छन्,’ उनले भने ।

बक्यौता रकम तिर्न परेको खण्डमा व्यवसायीहरू रकम बुझाउन तयार रहेको उनको धारणा छ । यस्तै, उनले प्राधिकरणले उद्योगको बिजुली काटेकै कारण निर्माण सामग्रीमा मूल्य वृद्धि नभएको पनि बताए ।

‘उद्योगीले सिमेन्ट बिक्री नभएपछि प्रतिबोरो १००/१५० रुपैयाँसम्म घाटा खाएर पनि बेचेका छन्, तर अहिले सिमेन्टको माग बढेको कारण कसैले २०/३० रुपैयाँ बढाएको होला, तर उद्योगमा लाइट काटेकै भएर सिमेन्टको मूल्य बृद्धि भएको छैन,’ उनले भने । निर्माणको सिजन भएकाले सिमेन्टको माग बढेको र मूल्य सामान्य वृद्धि हुनु स्वभाविक रहेको उनको भनाइ छ ।

प्राधिकरणले बक्यौता नतिर्ने जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको लाइन काटिदिएको छ । बक्यौता नबुझाउने उद्योगहरूको क्रमिक रूपले लाइन काट्दै जाने भन्दै प्राधिकरणले बक्यौता रकम तिर्न उद्योगीलाई ताकेता गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.