२०८० पुष १७ गते १७:४४ सन्तोष रोकाया
काठमाडौं । बैंकिङ क्षेत्रमा अधिकांशले सुनेको, बुझेको र प्रेरणाकोरूपमा लिने नाम हो रत्नराज बज्राचार्य । उमेरको उत्तरार्धमा पनि आफूलाई सक्रिय बनाएर सफल बैंकरको छवि बनाएका बैंकर बज्राचार्य हाल ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरिरहेका छन् । पाँच दशक बढी बैंकिङ अनुभव भएका सीईओ बज्राचार्यको अहिलेसम्मको सक्रियता र कामप्रतिको इमानदारिताले धेरैलाई उत्प्रेरणा र उर्जा मिल्छ ।
यो परिचर्चा, प्रशंसा र प्रख्यातिभित्र ठूलो परिश्रम लुकेको छ । ललितपुरको एउटा सामान्य परिवारमा जन्मेका रत्नराजले कलेजको पढाईसँगै काम पनि गर्न थाले । जहाँ उनले जागिर गर्ने योजना बनाए, त्यहाँ उनी सफल पनि बने । त्यसको एउटा कारण थियो, उनको संघर्ष । भनिन्छ नि- ‘जिन्दगीको यात्रामा जसले आफूलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ, उसले नै नयाँ सफलता हासिल गर्छ ।’ हो, त्यो सफलताको स्वाद रत्नराज बज्राचार्यले चाखेका छन् ।
विद्यार्थी जीवनमा पढ्दै गर्दाका ती संघर्षपूर्ण दिनहरू हुन् वा जागिरे जिन्दगीमा पनि बढुवाका लागि गरेको परिश्रम नै किन नहोस्, उनको मानसपटलमा सधैं अतित घुमिरहन्छ । उनका बुबा ललितपुरको मंगलबजारमै सानो व्यापार गर्थे । तर, त्यतिबेला पनि स्कूलमा खाजा खाने पैसाको पनि अभाव भएको स्मृति उनको मानसपटलमा अझै पनि ताजै छ ।
‘बुबा पसलमा जाँदा घरव्यवहार चलाउन आमालाई दैनिक तीन मोहोर दाम दिएर जानुहुन्थ्यो, म पाटनढोका क्याम्पसमा पढ्थेँ, क्याम्पसमा चिया खान मन लाग्थ्यो, पैसा हुन्थेन, आमासँग माग्दा दिनु हुन्थेन,’ विद्यार्थी जीवन स्मरण गर्दै उनले भने, ‘पैसा कमाउन भएपनि काम गर्नुपर्छ भन्ने पाठ त्यहाँबाट पनि सिकेँ ।’
उनले एसएलसी (हालको एसईई) पास हुने बित्तिकै काम सुरु गरे । पहिलो जागिर उनले पुनर्वास कम्पनीमा गरे । तलब थियो १५० रुपैयाँ । कम्पनीले उनलाई नेपालगञ्जमा खटायो । उनी भन्छन्, ‘जीवनमा पहिलो पटक जहाज पनि त्यतिबेला नै चढें ।’ उनी नेपालगञ्जमा ६ महिना काम गरेर काठमाडौं फर्किए ।
रत्नराजसँग काम गरेकाहरुसँग एउटा ज्ञान हुन्छ । सीईओको टेबुलमा फाइल पुर्याउनु मात्र पर्छ, काम आजै हुन्छ । उनको यो कार्यशैलीले अरुलाई पनि आजको काम आजै गर्न प्रेरित गरेको हुन्छ ।
उनको इच्छा थियो पढ्ने । काठमाडौं आएर आइकममा भर्ना भए । त्यसपछि पुनः जागिर गर्ने सोच पलायो । कृषि विकास बैंकमा लेखापालमा नाम निकाले । तलब थियो २५० रुपैयाँ । बैंकले गौर पठायो । त्यहाँ पनि उनले ५/६ महिना काम गरे । उनले आइकम पास गरिसकेका थिए । थप पढ्नुपर्छ भन्ने योजना उनले बनाइसकेका थिए । उनले बैंकलाई काठमाडौं सरुवा मागेका थिए । काठमाडौं सरुवा नदिएपछि उनले कृषि विकास बैंक नै छाडे ।
उनले अब बिकमको पढाइसँगै जागिर गर्ने योजना बनाए । राष्ट्र बैंकमा आवेदन माग गरिएको थियो । आवेदन दिए । नाम निकाले । उनले वि.सं. २०२९ भदौ १ गतेबाट राष्ट्र बैंकमा सहायक तहको काम सुरु गरे । तलब थियो २४३ रुपैयाँ । उनका संघर्षका यात्राहरू जारी थिए । सुरुमा थापाथलीको कार्यालयमा जागिर गरेका उनले पछि बढुवा भएर हेड असिस्टेन्ट भएपछि बालुवाटार कार्यालयमा पुगे ।
त्यसपछि उनका दिनहरू थप संघर्षपूर्ण बन्दै गए । एमकम पढ्नु पर्ने थियो शंकरदेव कलेजमा । अफिस बालुवाटारमा । पछि कलेजले कीर्तिपुरमा क्लास सारेपछि उनलाई थप गाह्रो भयो । पढाइ र कामलाई सँगसँगै अगाडि बढाउनु पर्ने चुनौती थपियो ।
उनले अब नियमित कक्षा नलिने निणर्य गरे । ती दिनहरू स्मरण गर्दै उनले भने, ‘मलाई काम पनि गर्नु थियो, दिउँसो अफिस सकेर कीर्तिपुरमा पढ्न जान सक्ने अवस्था थिएन, त्यसपछि मैले सरसँग म नियमित कक्षामा आउन सक्दिनँ, क्लास टेस्टमा मात्रै आउँछु, हाजिर मिलाई दिनुहोला भनेर आग्रह गरें, सरले पनि मेरो आग्रहलाई स्वीकार गर्नुभयो ।’
त्यसपछि उनको नियमित कक्षा छुट्न थाल्यो । दिउँसो अफिसको काम भ्याएर साँझ शंकरदेवको लाइब्रेरीमा पुगेर पढ्नु उनको दैनिकी बन्यो । उनले एमकम पनि पास गरे ।
त्यतिखेर राष्ट्र बैंकका डेपुटी गभर्नर थिए केशबनाथ शर्मा । नेपाल राष्ट्र बैंकलाई त्यतिखेर चार्टर्ड एकाउन्टेन्ट (सीए)को आवश्यकता थियो । सोही कारण राष्ट्र बैंकले सीए पढ्न चाहनेलाई खर्चको व्यवस्था गरेर भारत पठाउँथ्यो । उनै डेपुटी गभर्नर शर्माले रत्नराजलाई पनि सीए पढ्न आग्रह गरे ।
अब रत्नराजले सीए पढ्न भारततर्फ लाग्नु पर्ने भयो । ‘मलाई राष्ट्र बैंकले नै सीए बनाएको हो, म राष्ट्र बैंकको हेड असिस्टेन्ट हुँदा नै सीए पढ्न गएँ, त्यसबेला राष्ट्र बैंकले प्राविधिक जनशक्ति बढाउनका लागि आफैंले सीए उत्पादन गर्नु पर्यो भनेर सीए पढाउँथ्यो,’ उनी भन्छन्, ‘म त्यतिखेर २३ नम्बरको सीए थिएँ ।’
उनीसँग अब एमकमसँगै सीएको योग्यता पनि भयो । राष्ट्र बैंकले विभिन्न जिम्मेवारी दिन थाल्यो । राष्ट्र बैंकमै हुँदा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत उनले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एकाउन्टिङ रेकर्ड सुधारको जिम्मेवारी पाए । त्यसले पनि उनलाई थप परिपक्व बनायो । अब उनी २० वर्ष राष्ट्र बैंकमा काम गरेर बिदा भए ।
यो बीचमा उनले कन्सल्टेन्सी पनि स्थापना गरेर काम गरे । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको नेतृत्व पनि गरे । त्यहाँ पनि उनले सफल नेतृत्व गर्दै अन्यलाई अवसर दिए ।
त्यसपछि निजी क्षेत्रमा प्रवेश
२० वर्ष केन्द्रिय बैंकमा काम गरेका रत्नराजले केही समय आफ्नै कन्सल्टेन्सी चलाए । त्यतिखेर सबैभन्दा बढी चलेको कन्सल्टेन्सी नै आफ्नो रहेको उनी दावी गर्छन् । केन्द्रिय बैंकमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेका उनी अब निजी क्षेत्रको बैंकिङमा प्रवेश गरे । त्यो प्रवेशको परिस्थिति पनि गज्जबको छ ।
तत्कालीन नेपाल बंगलादेश बैंक ‘बैंक रन’को अवस्थामा थियो । बजारमा नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई ‘टेकओभर’ गर्ने हल्ला थियो । त्यहीबेला नेपाल बंगलादेश बैंकको बोर्डले उनलाई सीईओका लागि प्रस्ताव गरेको थियो । उनले सहमति जनाएर बैंकको बोर्डले माइन्युट पनि गरिसकेको थियो । उनी सोही समयमा विदेशको एउटा कार्यक्रममा गए । विदेशबाट फर्केपछि काम सुरु गर्ने दुवै पक्षबीच सहमति भइसकेको थियो ।
त्यहीबीचमा एनबी बैंकको नेतृत्व गर्न तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट नरेन्द्र भट्टराई गए । सो सुझाव उनै रत्नराजको थियो । त्यतिबेला नै राष्ट्र बैंकले एनबी बैंकलाई टेकओभर गर्यो । अब उनी एनबी बैंकमा होइन एनसीसी बैंकको नेतृत्व गर्ने भए । तत्कालीन एनबी बैंक र एनसीसी बैंक एउटै व्यवसायिक घरानाको थियो । त्यसैले पनि सो विषय सम्भव भएको रत्नराज बताउँछन् ।
राष्ट्र बैंक छोडेको साढे एक दशकपछि उनी निजी क्षेत्रको एनसीसी बैंकको सीईओ बने । जतिखेर एनसीसी बैंक पनि ठूलो समस्यामा थियो ।
‘म एनसीसीमा जानुअघि राष्ट्र बैंकले टेकओभर गर्ने हल्ला थियो, म गएपछि बैंकभित्रको सबै समस्या हल गरें, कसैको दबाब र प्रभावमा नरहेर बैंकलाई एउटा लयमा ल्याएँ, राष्ट्र बैंक पनि कामबाट सन्तुष्ट भयो, लगानीकर्ता र सेवाग्राही पनि खुसी भए,’ उनले भने ।
कडा स्वभाव रत्नराजको पहिचानको एउटा पहिचान हो । लिएको जिम्मेवारी पूरा गरेरै छाड्ने उनको अर्को खुबी हो । विभिन्न बैंकमा ४ पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिए । सबैमा ४ वर्षको कार्यकाल पूरा गर्नु, बैंकलाई थप उचाईमा पुर्याउनु, सञ्चालक समिति, कर्मचारी ग्राहक सबैलाई खुशी बनाउनु तर सोही संस्थामा कार्यकाल थप्न नमान्नु उनले छोडेको ट्रेन सेट हो ।
उनले एनसीसीमा चार वर्षको कार्यकाल सफलताका साथ पुरा गरे । एनसीसी बैंकमा काम गर्दा धेरै कुरा सिकेको उनी बताउँछन् । एनसीसी बैंकको सफल उडानपछि उनी ग्लोबल आइएमई बैंकमा नेतृत्व सम्हाल्न पुगे । त्यतिखेर राष्ट्र बैंकले मर्जरको नीति अघि सारेको थियो । उनै रत्नराजको रणनीति र योजनाले ग्लोबल आइएमई बैंक मर्जर तथा प्राप्तिमा आक्रमक बन्यो ।
‘मेरो कार्यकालदेखि ग्लोबल आइएमई बैंकमा मर्जर एक्विजिसनको नीति अगाडि सारेका हौं, क्रस होल्डिङका अधिकांश संस्था बैंकमा गाभिए, बैंकले ग्रो नै गर्ने हो भने मर्जर आवश्यक भएको भन्दै बैंकले मर्जरको नीति अघि सार्यो, ग्लोबलमा मेरो सफलता भनेको कर्मचारीबीच सिनर्जी उत्पन्न गर्ने र मर्जर गराउने नै हो,’ उनले भने ।
अर्को महत्वपूर्ण विषय भनेको त्यतिखेर २ अर्ब पुँजी रहेको ग्लोबल आइएमई बैंकले हकप्रदबिनै मर्जर गराएर ८ अर्बको पुँजी पुर्यायो । सेयरधनीले पैसा थप्नु परेन । हालसम्म करिब दुई दर्जन बढी संस्थाहरू ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् । जसको नेतृत्व उनै रत्नराजले गरे ।
उनले ग्लोबल आइएमई बैंकमा सीईओको ४ वर्षे कार्यकाल पुरा गरे । बैंकलाई एउटा उचाइ पनि दिए । त्यसपछि उनी सो बैंकबाट पनि बाहिरिए । त्यसपछि उनी सम्हाल्न पुगे तत्कालीन सनराइज बैंकको नेतृत्व ।
‘म सनराइज बैंकको सीईओ बनेर जाँदा बैंकले खासै राम्रो बिजनेस गर्न सकेको थिएन, त्यो बेला बैंक हायर पर्चेज, निर्माण क्षेत्रमा केन्द्रित थियो, पछि विस्तारै बिजनेस बैंकिङ सुरु गर्यौं, भूकम्पको प्रभाव रहेको बेला बैंकमा बिजनेस थिएन, त्यस्तो अवस्थामा पनि मैले सनराइजलाई बजारमा एक महत्वपूर्ण बैंकका रूपमा अगाडि बढाएँ, बजारमा सनराइज बैंकको हिस्सा बढ्दै गयो,’ उनले भने ।
सनराइज बैंकमा पनि एक किसिमको सफलता हासिल गरेपछि उनी अहिले पुनः ग्लोबल आइएमई बैंकको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डूसँग मर्जर गर्न सफल भयो । अहिले ग्लोबल आइएमई बैंक निक्षेप, कर्जा, पुँजी, जगेडा कोष, ग्राहक, शाखा संख्या, सरकारलाई बढी राजस्व दाखिला गर्ने लगायत सूचकमा नम्बर वान बनेको छ ।
‘म सीईओ बन्दै गर्दा संस्था कसरी चलिरहेको छ र कुन फाउन्डेसनमा चलिरहेको छ भनेर बुझ्छु, त्यसमा विश्वास पनि गर्छु, विस्तारै कर्मचारीहरूको काममा कुनै डिस्टर्ब नगरेर परिस्कृत गराउनका लागि रणनीतिक योजना अघि सार्छु, म व्यक्तिको स्वार्थभन्दा पनि संस्थालाई सेन्टरमा राखेर काम गर्छु,’ आफ्नो काम गर्ने स्वभाव सुनाउँदै बज्राचार्यले भने ।
कस्तो हुनुपर्छ व्यवस्थापक ?
हुन त आफूसँग धेरै खुबी नभएको बताउँछन् उनी । तर, आफूले गर्ने काम, कर्मचारी र संस्थाको विषयमा भने पूणर्रूपमा जानकार हुने बताउँछन् ।
‘एउटा व्यवस्थापकले आफूले गर्ने बिजनेसको विषयमा जानकार हुनु पर्यो, त्यो बिजनेसको विषयमा गहिरो ज्ञान हुनुपर्छ, ग्लोबल आइएमई बैंकमा अहिले ४ हजार कर्मचारी छन्, ती सबैको निगरानी त मैले एक्लैले गर्न सक्दिनँ । तर, त्यसको लागि सिस्टमको विकास गर्न सक्नु पर्यो,’ उनी भन्छन्, ‘कर्मचारीको कामबाट आफू सफल हुने हो ।’
उनको बुझाइमा एउटा अब्बल व्यवस्थापकमा दुइटा विषयको ज्ञान हुन आवश्यक छ । एउटा, कर्मचारीहरूलाई प्राविधिक ज्ञान सिकाउने, त्यो सकिन्न भने त्यो ज्ञान सिकाउने मान्छेलाई हायर गर्ने, संस्थाको व्यवस्थापकलाई यो कुरा अतिआवश्यक रहेको उनको भनाइ छ ।
व्यवस्थापकले सही ढंगले कम्युनिकेसन गर्न सकेन भनेपनि संस्थाले प्रभावकारीरूपमा पफर्मेन्स नपाउने उनको भनाइ छ ।
‘हरेक समस्याको समाधान हुन्छ, समाधान कसरी गर्ने त्यसमा म आफूलाई विश्वास गर्छु, त्यो क्षमता पनि छ जस्तो लाग्छ, कुनै समस्याको समाधान नहुन पनि सक्छ, समाधान नभएको समस्या नै होइन,’ उनी भन्छन्, ‘त्यो समस्या हो भन्दै टाउको नै दुखाउनु हुँदैन ।’
आफू कामको दबाबले टेन्सन लिने व्यवहारको मान्छे नभएको उनको भनाइ छ । उनी भन्छन्, ‘म टेन्सनमा बस्न कम रूचाउँछु, टेन्सनमा बसेर काम गर्नु हुँदैन ।’
लामो समय राष्ट्र बैंकमा काम गरेका उनको अनुभवले आफूलाई ‘क्विक’ र ‘बोल्ड डिसिजन’ गर्न सिकाएको उनी बताउँछन् । ‘म सीईओ भएर काम गरेको संस्थामा सकेसम्म राम्रो काम गरें जस्तो लाग्छ, संस्थालाई अब्बल बनाउनका लागि पनि आत्मविश्वास चाहिन्छ,’ उनले भने ।
उनका अनुसार एउटा व्यवस्थापकले सकेसम्म संस्थालाई बढी समय दिन सक्नुपर्छ । उनी अहिले बिहान ९ बजे अफिस पुगेर साँझ ८ बजे घर फर्किन्छन् । ‘हुन त मेरो संस्थामा म नभए पनि केही हुन्न भन्नेमा म विश्वास गर्छु, म जहाँ गएपनि टीमसँग सम्कर्पमा हुन्छु, सकेसम्म टीमलाई क्विक डिसिजन दिन रूचाउँछु,’ उनी भन्छन्, ‘आफूसँगै टीमलाई पनि ग्रो गर्दै जानु नै सफल व्यवस्थापकको कला हो ।’
सफल नेतृत्वकर्ता र व्यवस्थापकसँग क्विक डिसिजन पावर हुनु पर्ने उनको भनाइ छ । ‘कुनै विषय डिसिजनका लागि तपाईंको टेबलमा आयो भने त्यसलाई भोलि हेर्छु भनेर म पर्खिदिनँ, भोलि नयाँ कुरा आउला, कसैले केही भन्ला भनेर धेरैले कामलाई पेन्डिङ राख्छन् । तर, म त्यस्तो गर्दिनँ, तपाईंले कुनै बिजनेस डिसिजन लिनु भयो भने भोलि गर्छु भनेर सोच्नु हुँदैन, सकेसम्म आजै गर्नुस्,’ उनी भन्छन्, ‘म टीमका साथीहरूलाई पनि यही सल्लाह दिन्छु ।’
तपाईंको डिसिजन गर्ने आधार के हो ? जुन आधारमा डिसिजन लिने हो त्यसको प्यारामिटरहरू मूल्यांकन गर्नुपर्ने उनको धारणा छ । उनीसँग अहिलेसम्म कुनै डिसिजन भोलिका लागि गर्छु भनेर राखेको अनुभव छैन । आजको काम आजै गर्ने बानी रत्नराजको छ ।
रत्नराजसँग काम गरेकाहरुसँग एउटा ज्ञान हुन्छ । सीईओको टेबुलमा फाइल पुर्याउनु मात्र पर्छ, काम आजै हुन्छ । उनको यो कार्यशैलीले अरुलाई पनि आजको काम आजै गर्न प्रेरित गरेको हुन्छ ।
‘मैले अहिले बैंकमा ५० करोड रुपैयाँसम्मको कर्जाको फाइल सदर गर्छु, त्योभन्दा माथिको बोर्डले हेर्छ, बोर्डले त्यसमा सीईओ कन्फिडेन्स पनि हेर्छ, उहाँहरुको पनि आफ्नै किसिमको विज्ञता हुन्छ । ऋण प्रवाह हुन लागेको क्षेत्रको अवसर र जोखिमका विषयमा उहाँहरुले निणर्य गर्नुहुन्छ, कर्जा दिने संस्थाको प्रमोटर पनि हेरिन्छ, प्रमोटरको सस्टेनाविलिटी पनि हेर्ने हो, सोही आधारमा निर्णय लिने हो,’ उनले भने ।
बोर्डको अपेक्षाअनुसार काम नहुँदा, प्रभावकारी सेवा प्रवाह नहुँदा एकअर्काबीच आक्षेप हुन सक्छ । नियामकले पनि प्रश्न गर्न सक्छ । सेवाग्राहीले पनि गुनासो गर्छन् । सबै ठाउँबाट गुनासो आएपछि सीईओ बिचमै बाहिर जानु पर्ने बाध्य हुन सक्छ, एउटा असल व्यवस्थापकले ग्राहक, बोर्ड, कर्मचारी र नियामकसँगको सम्बन्ध पनि समधुर पार्नुपर्छ, आएको प्रश्नलाई ‘ट्याकल’ गर्न सक्नुपर्छ ।
शिक्षालयभन्दा कार्यालयमा बढी सिकिने रत्नराजको अनुभव छ । ‘डिसिजन मेकिङ क्षमता कसरी लिने भन्ने कुरा शिक्षालयबाट सिकिन्छ । तर, कार्यालयले कस्तो निणर्य लिने, के लिने भन्ने विषय सिकाउँछ,’ उनले भने ।
विश्वासिला बैंकर, तितो अनुभव
नेपाली बैंकिङ क्षेत्रमा रत्नराज बज्राचार्यको विषयमा आलोचना गर्नेहरू सायदै भेटिएलान् । बैंकिङ करिअरमा जसरी रत्नराजले सफलता प्राप्त गरेका छन्, ती भन्दा धेरै तितामिठा अनुभवहरूको स्वाद पनि चाखेका छन् ।
उनले अहिलेसम्म जुन संस्थामा काम गरे, पुरा कार्यकाल गरे । बैंकिङमा एउटा ठाउँमा रहेको सीईओ अर्को बैंकमा राम्रो अवसर पाउने बित्तिकै बिचमै काम छोडेको अभ्यास प्रयाप्त भेटिन्छन् । तर, रत्नराजले त्यस्तो कहिल्यै गरेनन् । जति संस्थामा काम गरे, मिठो छाप छोडे ।
‘बैंकको बोर्ड र व्यवस्थापकको चाहना संस्थामा राम्रो नै गरौं भन्ने हुन्छ, सोच र काम गर्ने कल्चर नै तपाईंको एसेट हो, दिएको टार्गेट पुरा नगरेर पनि कतिपयले बिचमै काम छोड्छन्, कहिलेकाहीँ सोचेअनुसार काम नहुन पनि सक्छ,’ उनी भन्छन्, ‘त्यसमा बोर्डले पनि बुझ्नुपर्छ, व्यवस्थापकले बुझाउन सक्नुपर्छ ।’
आफ्नो इमानदारिता नै सम्पत्ति भएको उनको धारणा छ । काम गर्दै गर्दा कहिले काहीँ असफल भइन्छ । भनिन्छ नि- ‘घोडा चढ्ने लड्छ ।’ हो, त्यो लडाइको अनुभव पनि रत्नराजले नराम्रोसँग गरेका छन् । हुनत बैंकको कर्जा डुब्ने भन्ने हुँदैन । बैंकले कर्जा दिँदा धितो पनि राखेको हुन्छ । तर, कहिले काहीँ यस्तो केस आउँछ, जसले बैंकको बोर्ड र व्यवस्थापकको पनि टाउको दुखाउँछ ।
एउटा यस्तै उदाहरण रत्नराजले सुनाए,- ‘नेपालमा लगानी रहेको भारतीय एउटा कम्पनीलाई बैंकले ऋण दिएको थियो, सो कम्पनीले सेजमा उद्योग चलाइरहेको थियो, केही समयपछि १०/१५ दिन कम्पनीले उद्योग बन्द गर्यो, श्रमिकलाई पनि भित्र प्रवेश गर्न दिइएन, पछि हामीले प्रहरीको रोहबरमा ताला फुटाएर हेर्दा भित्र कुनै सामान थिएन, ऊ नेपालबाट भागिसकेको रहेछ, सामान सबै भारत लगिसकेको रहेछ, त्यो ऋण असुल गर्न पछि ठूलो संघर्ष गर्नुपर्यो, त्यो व्यक्तिलाई इन्टरपोल पनि गर्यौं । तर, पक्राउ परेन ।’
यस्ता घटनाहरूले बैंकरलाई नमिठो पाठ सिकाउँछ । नेपालमा कर्जा असुलीको लामो प्रक्रियाले केही समस्या हुने गरेको उनको अनुभव छ । बैंकबाट कर्जा लिएर नतिर्नेहरूको धितो लिलाम गर्न खोज्दा पछि नातेदारबाट हक दाबी गराउने प्रवृतिप्रति उनी असन्तुष्टि व्यक्त गर्छन् ।
‘एउटा व्यवस्थापकले आफूले गर्ने बिजनेसको विषयमा गहिरो ज्ञान हुनुपर्छ । कर्मचारीको कामबाट आफू सफल हुने हो । ग्लोबल आइएमई बैंकमा अहिले ४ हजार कर्मचारी छन्, ती सबैको निगरानी त मैले एक्लैले गर्न सक्दिनँ । तर, त्यसको लागि सिस्टमको विकास गर्न सक्नु पर्यो ।’
उनी नेपाली बैंकिङ क्षेत्रबाट अन्य क्षेत्रले पनि धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राख्छन् । ‘वित्तीय क्षेत्रमा अनुशासन, पारदर्शिता र कर्पोरेट गभर्नेन्स छ, यसमा राष्ट्र बैंकको भूमिका पनि महत्वपूणर् छ, स्वतन्त्ररूपमा व्यवस्थापकलाई जिम्मेवारी दियो भने साँच्चिकै सुधार हुन्छ,’ उनी भन्छन्, ‘बैंकमा आफ्नै इन्टरनल कन्ट्रोल सिस्टम र इन्टरनल अडिट पनि हुन्छ, यो सबै क्षेत्रमा हुन आवश्यक छ ।’
४०० प्रतिशत लाभांश
नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा बढी चर्चाको विषय नाफा र लाभांश बन्छ । अझ कुन संस्थामा कसले नेतृत्व गरिरहेको छ । र, संस्थाको ब्यालेन्सिट कस्तो छ भन्ने विषयले पनि पछिल्लो समय प्राथमिकता पाउन थालेको छ । ग्लोबल आइएमई बैंक स्थापना भएको १७ वर्ष भयो । यो अवधिमा बैंकको सेयरधनीले हालेको पुँजीका आधारमा ४०० प्रतिशत लाभांश वितरण गरिसकेको सीईओ बज्राचार्य बताउँछन् ।
ग्लोबल आइएमई बैंकले सुरुको दुई/तीन वर्ष बाहेक नियमित लाभांश वितरण गरिरहेको छ । यो अवधिमा औसत २० प्रतिशत लाभांश सेयरधनीले पाइरहेका छन् ।
बैंकको सुरुको २ अर्बको पुँजीलाई आधार मान्ने हो भने बैंकले सेयरधनीलाई १० वर्षमा ४०० प्रतिशत लाभांश दिइसकेको छ, यो नराम्रो होइन, बिओके मर्जर भइसकेपछि बिजनेसको रिजल्ट देखाउन बाँकी छ,’ सीईओ बज्राचार्य भन्छन्, ‘यो वर्ष पनि २० प्रतिशतको हाराहारीमा लाभांश दिन सक्ने अवस्थामा छौं ।’
सुरुमा २ अर्ब पुँजी हालेदेखि बैंकका सेयरधनीले अहिलेसम्म पुँजी थप्नु परेको छैन । बैंकले मर्जर तथा प्राप्ति गरेर नै पुँजी बढाइरहेको छ । त्यसरी नै अहिले देशको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ अर्बको हाराहारीमा नाफा गर्ने देखिएपनि बढी प्रोभिजन गर्नु परेको कारण नाफा केही कम भएको उनको भनाइ छ । ‘अब यो वर्ष २० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा छौं, सोही किसिमले काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘संसारको कुनै पनि बैंकलाई २० प्रतिशतभन्दा बढी लाभांश दिन गाह्रो नै हुन्छ ।’
ग्लोबल आइएमई बैंक सम्पत्तिको हिसाबले मात्रै ठूलो नभई सरकारलाई बढी कर दाखिला गर्ने बैंकको रूपमा समेत नम्बर वान बन्नु आफैंमा गर्वको विषय रहेको उनको भनाइ छ । ‘अहिले ग्लोबल आइएमई बैंकको ४५ लाख ग्राहक छन्, सेवाको गुणस्तरको विषयमा सर्वेक्षण गर्ने तयारीमा छौं, सेवाको हिसाबमा पनि बैंकलाई नम्बर वान बनाउने योजना छ,’ उनले भने ।
सीईओ बज्राचार्य आफूभन्दा टीमको विषयमा बढी सोच्ने गरेको बताउँछन् । नेपाली बैंकिङ क्षेत्रका अनुभवी बैंकरको छबि बनाएका उनको पारिश्रमिकको विषयमा पनि धेरैको चासो हुन्छ । तर, उनी आफू तलबको लागि काम नगर्ने धारणा राख्छन् ।
‘मलाई तलब कम भयो भनेर कहिल्यै टेन्सन हुँदैन, मेरो तलब बढाउनुपर्छ भनेर बोर्डले महसुस नगरेको पनि होइन । तर, मैले सबैको बढाएपछि मात्रै बढाउनु अहिले बढाउनु पर्दैन भनेपछि मेरो तलब पनि बढेन, सबै साथीहरु सँगै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो,’ उनी थप्छन्, ‘मेरो तलब कम छ भनेर म कहिल्यै सोच्दिनँ, असल व्यवस्थापकका लागि तलब गौण विषय हो ।’
घुमघामका सोखी
सीईओ रत्नराज बज्राचार्यलाई विभिन्न ठाउँमा घुम्नु आदत नै बनिसकेको छ । उनका अनुसार उनी हालसम्म नेपालको अधिकांश जिल्ला घुमिसकेका छन् भने विभिन्न ७५ वटा देशमा भ्रमण गरिसकेका छन् । उनी वर्षको एक पटक विभिन्न देशमा घुम्नका लागि पुगेकै हुन्छन् । बैंकको फोर्स विदाको समयमा उनको घुम्ने सेड्युअल बन्छ ।
केही वर्षअघि उनीसँग घुम्ने उनको जीवन साथी हुन्थिन् । तर, पछिल्लो समय श्रीमतीको स्वास्थ्यको कारण उनी एक्लै घुम्ने गरेको बताउँछन् । ‘मेरो व्यक्तित्व निर्माणमा श्रीमतीको भूमिका महत्वपूणर् छ,’ उनी भन्छन्, ‘अहिलेसम्म उनलाई मैले रिसाएको देखाएको छैन ।’
रत्नराज घरको जेठो छोरा हुन् । उनको चार दाजुभाइ र दुई दिदीबहिनी छन् । त्यो समयमा पनि प्रेम विवाह गरेका उनले एमकम पास गरेपछि विवाह गरे । रत्नराज आफूले बैंकर नै बन्छु भनेर पढेको भन्दा पनि असल मान्छे बन्छु भनेर पढेको धारणा राख्छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.