हिरा आयात १४८ प्रतिशतले बढ्दा चाँदी ९५ प्रतिशतले घट्यो

  २०८० पुष १८ गते १३:०५     ऋतु

काठमाडौं । नेपालमा सुनचाँदीको कारोबार सदाबहार हुने गर्छ । यो सबैलाई थाहा भएकै विषय हो । तर, एक यस्तो बहुमूल्य वस्तु छ, जसको कारोबारबारे व्यापारीबाहेक सरकारलाई पनि खासै थाहा हुँदैन । त्यो हो– हिरा ।

नेपाली बजारमा सुनचाँदी कारोबार बाह्रैमास भइरहन्छ, तर हिराका गहना व्यापार देखिने गरी हुँदैन । हिरा यस्तो वस्तु हो जसलाई धनाढ्यहरूले मात्र लगाउने गर्छन् भन्ने मान्यता स्थापित छ ।

तर, जुन वस्तुको कारोबार खासै भएको देखिँदैन र सर्वसाधारण उपभोक्ताले पनि प्रयोग गरेको देखिँदैन, त्यही हिराको आयात भने एक दशकमा झन्डै ३ सय प्रतिशतले बढेको तथ्यांक छ ।

उपभोक्ता नै नदेखिने हिराको कारोबार गुणात्मकरूपमा वृद्धि भएको छ । क्विन्टलका क्विन्टल चोरी पैठारीका घट्ना सार्वजनिक भइरहेको सुनको वैधानिक कारोबार पनि उच्च नै देखिन्छ । तर, हिरा र सुनको तुलनामा गुणात्मक बढी प्रयोगमा आउने चाँदीको वैधानिक कारोबार चाउरी पर्दै गएको छ ।

उपभोक्ता छैनन्, कारोबार गुणात्मक वृद्धि

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा हिरा आयात २ सय ८७ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ८७ करोड ५८ लाख ८६ हजार रुपैयाँको २५ हजार ६ सय ६७ क्यारेट हिरा नेपाल भित्रिएको थियो । जसबाट ८८ लाख २० हजार राजस्व संकलन भएको थियो ।

त्यस्तै २०७३/७४ मा १ करोड ९८ लाख १६ हजार रुपैयाँको ४ सय ८४.२४ क्यारेट हिरा भित्रिएको थियो । आव २०७२/७३ को तुलनामा २०७३/७४ मा हिरा आयात घटेको छ ।

तर, त्यसपछि भने हिरा आयातमा एक्कासि चमक आएको देखिन्छ । आव २०७४/७५ मा ३६ करोड ७ लाख ३ हजार रुपैयाँको ११ हजार १ सय ७०.२१ क्यारेट हिरा भित्रिएको थियो । जसबाट सरकारले ३ लाख ६१ हजार राजस्व संकलन गरेको थियो ।

त्यसैगरी आव २०७५/७६ मा १ अर्ब ३६ करोड ९३ लाख ७७ हजार रुपैयाँको ४५ हजार १ सय ४० क्यारेट हिरा आयात भएको थियो । जसबाट राज्यले १ करोड ३७ लाख ३ हजार ८ सय २० राजस्व प्राप्त गरेको थियो ।

त्यस्तै आव २०७६/७७ मा १ अर्ब ५ करोड १० लाख ४० हजार रुपैयाँको ६७ हजार १ सय ७३ क्यारेट हिरा आयात भएको थियो । जसबाट १ करोड ५ लाख १७ हजार राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३६ करोड ८५ लाख ९९ हजार रुपैयाँको ३६ हजार १ सय ११ क्यारेट हिरा नेपाल भित्रिएको थियो । जसबाट १ करोड ३६ लाख ९३ हजार राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा भने २ अर्ब ४७ करोड ३८ लाख २ हजार रुपैयाँको ६२ हजार ६ सय ६ क्यारेट हिरा आयात भएको थियो । जसबाट सरकारले २ करोड ४७ लाख ४९ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको थियो ।

यस्तै २०७९/८० मा २ अर्ब ९२ करोड ५४ लाख ४१ हजार ६ सय २० रुपैयाँको ६३ हजार ५ सय २५ क्यारेट हिरा आयात भएको थियो । जसबाट राज्यले २ करोड ९२ लाख ६७ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको थियो । यस्तै चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ७५ लाख ६ हजार ७ सय ३३ रुपैयाँ ७५ पैसाको १७ हजार ९० क्यारेट हिरा आयात भएको छ ।

आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७९/८० मा हिरा आयात परिणाममा १४८ प्रतिशतले बढेको छ । मूल्यको आधारमा २८७ प्रतिशतले बढेको छ ।

बजारमा खासै कारोबार भएको पनि नदेखिने र उपभोक्ताले पनि धेरै प्रयोग गरेको नदेखिने हिराको खास कुरा के हुन सक्ला ?

‘कसैले हिराको टप किनेर ल्याएको छ भने त्यसको मूल्य पसले र खरिदकर्ताबाहेक अरूलाई थाहा हुँदैन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिरत्न शाक्य भन्छन्, ‘मैले हिरा कारोबारको बिल र पछि बेच्दा यति मूल्य फिर्ता हुन्छ भन्ने अहिलेसम्म सुनेको छैन । त्यसैले गर्दा पैसा हुनेलाई हिरा हो अरूलाई किरा हो ।’

उनका अनुसार एक दशकको तथ्यांक हेर्दा नेपालमा हिरा आयात करिब ३ सय प्रतिशतले वृद्धि भएको छ । ‘सुनचाँदीको जस्तै मूल्य निर्धारण नगरी कारोबार हुने हिरा नेपाली बजारमा फस्टाउनुको कारण कति कारोबार हुन्छ भन्ने कसैलाई जानकारी नहुनु हो,’ शाक्य थप्छन् ।

नियामक निकायले पनि सुन तस्करी भइरहने हुँदा सुनलाई मात्रै प्राथमिकतामा राखेको शाक्य बताउँछन् । हिरा तस्करी भएर आउँदा पनि नियामक निकायको ध्यान नगएको उनको भनाइ छ ।

‘सुनचाँदीमा भन्सारदेखि राजस्वसम्मका निकायले दुःख दिन्छन्,’ उनी भन्छन्, ‘हिरामा अहिलेसम्म नियामक निकायले नियन्त्रण गर्ने कुनै संयन्त्र र कार्यक्रम बनाएका छैनन् ।’

सुनको कारोबार वैधानिक र अवैधानिक उस्तै

अब गरौं सुनचाँदीका कुरा । पहिला पछिल्लो एक दशकको तथ्यांक केलाऔं । जसको अवैैधानिक कारोबारमा भएको वृद्धिजस्तै वैधानिक कारोबारमा पनि वृद्धि नै देखिन्छ, मूल्यका आधारमा । सुनको तौलका आधारमा भने कारोबारमा उच्चदरको उचनिच रहेको छ ।

आर्थिक वर्ष २०७२/७३ देखि २०७९/८० सम्ममा सुनको आयात कम्तीमा १८ प्रतिशतदेखि ८४ प्रतिशतले बढेको छ । कोरोना महामारी फैलिएको वर्ष २०७६/७७ मा मात्र सुनको आयात ८ प्रतिशतले ऋणात्मक भएको छ । ८ वर्षको सुनको आयात औसतमा ४८ प्रतिशतले वृद्धि भएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा १६ अर्ब ७ करोड ९५ लाख १५ हजार रुपैयाँको ४ हजार १ सय ६५ किलो सुन नेपाल भित्रिएको थियो । गत आव २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँको २ हजार ९ सय १६ किलो सुन नेपाल भित्रिएको थियो । जसबाट राज्यले २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको थियो ।

त्यस्तै २०७३/७४ मा २३ अर्ब २३ करोड १६ लाख २९ हजार रुपैयाँको ५ हजार ४ सय ५० किलो सुन भित्रिएको थियो । आव २०७४/७५ मा ३१ अर्ब ७४ करोड ८७ लाख ६८ हजार रुपैयाँको ७ हजार २ सय ३२.२८ किलो सुन नेपाल भित्रिएको थियो । जसबाट सरकारले ३ अर्ब ३ करोड २१ लाख २८ हजार ३ सय ८० राजस्व संकलन गरेको थियो ।

त्यसैगरी आव २०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख १७ हजार रुपैयाँको ७ हजार ४ सय ९२.७५ किलो सुन आयात भएको थियो । जसबाट राज्यले ३ अर्ब २२ करोड ३६ लाख ३५ हजार ५० राजस्व प्राप्त गरेको थियो ।

त्यस्तै आव २०७६/७७ मा १३ अर्ब ४६ करोड ४ लाख ५० हजार रुपैयाँको २ हजार ४ सय किलो सुन आयात भएको थियो । जसबाट सरकारले १ अर्ब ५० करोड ७५ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँको ३ हजार ९ सय २४ किलो सुन नेपाल भित्रिएको थियो । जसबाट ३ अर्ब ३३ करोड ५८ लाख ३० हजार राजस्व संकलन भएको थियो ।

आव २०७५/७६ को तुलनामा २०७६/७७ मा सुन आयात ८ प्रतिशतले घटेको थियो । २०७६/७७ भन्दा २०७७/७८ मा सुन ह्वात्त बढेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३५ अर्ब ६१ करोड ९५ लाख २३ हजार ९ सय ४० रुपैयाँको ५ हजार ५३ किलो सुन आयात भएको थियो । जसबाट सरकारले ४ अर्ब २९ करोड ५० लाख ५६ हजार ३ सय ४० रुपैयाँबराबर राजस्व संकलन गरेको थियो ।

यस्तै २०७९/८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँको २ हजार ९ सय १६ किलो सुन नेपाल भित्रिएको थियो । जसबाट राज्यले २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको थियो ।

त्यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा ७ अर्ब ३५ करोड २० लाख ९३ हजार रुपैयाँको ९ सय किलो सुन आयात भएको छ । जसबाट १ अर्ब १० करोड २८ लाख २४ हजार राजस्व संकलन भएको छ ।

चाँदीको प्रयोग बढ्दो, आयात घट्दो

अब चाँदी आयातको तथ्यांक केलाऔं । पछिल्लो एक दशकमा चाँदी आयातमा ७६ प्रतिशतको भारी गिरावट आएको छ ।

आर्थिक वर्ष २०७०/७१ मा १२ अर्ब ७१ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको २ लाख ८ हजार ९२१ केजी चाँदी आयात भएको थियो । आर्थिक वर्ष २०७१/७२ मा ३२ अर्ब १२ करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको ५ लाख ७१ हजार १८९ केजी चाँदी आयात भएको थियो । त्यतिबेला बैंकहरूले चाँदी आयात गर्दथे ।

आर्थिक वर्ष २०७२/७३ मा ७ अर्ब १२ करोड २४ लाख ३७ हजार रुपैयाँको १ लाख ४० हजार ३ सय १६ किलो चाँदी नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो ७५ प्रतिशतले कम हो । यहि वर्षदेखि चाँदी आयात गर्न निजी क्षेत्रलाई खुला गरिएको थियो र बैंकले चाँदी आयात गर्न बन्द गरेका थिए ।

त्यस्तै २०७३/७४ मा ८ अर्ब ६० करोड ७८ लाख ५३ हजार रुपैयाँको १ लाख ४० हजार ६ सय ९१ किलो चाँदी भित्रिएको थियो ।

आव २०७४/७५ मा ११ अर्ब ९२ करोड ५५ लाख ३३ हजार रुपैयाँको २ लाख १६ हजार ९ सय ३५ किलो चाँदी नेपाल भित्रिएको थियो । जसबाट सरकारले १ अर्ब १३ करोड ३९ लाख ७० हजार राजस्व संकलन गरेको थियो ।

त्यसैगरी आव २०७५/७६ मा १६ अर्ब ८ करोड ६३ लाख ६३ हजार रुपैयाँको २ लाख ८८ हजार ४ सय ५५ किलो चाँदी आयात भएको थियो । जसबाट राज्यले १ अर्ब ६१ करोड ५३ लाख ७४ हजार ३ सय १० राजस्व प्राप्त गरेको थियो ।

त्यस्तै आव २०७६/७७ मा ९ अर्ब ४९ करोड ३० लाख ८० हजार रुपैयाँको १ लाख ४४ हजार २ सय ३ किलो चाँदी सुन आयात भएको थियो । जसबाट सरकारले ९६ करोड १२ लाख ६७ हजार ९ सय १० राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब ८८ करोड २२ लाख १३ हजार रुपैयाँको १ लाख ७ हजार २ सय १२ किलो चाँदी नेपाल भित्रिएको थियो । जसबाट ९१ करोड १३ लाख १ हजार राजस्व संकलन भएको थियो ।

आव २०७५/७६ को तुलनामा २०७६/७७ मा चाँदी आयात शतप्रतिशतले बढेको थियो । तर, २०७६/७७ भन्दा २०७७/७८ मा चाँदी आयात साढे ३४ प्रतिशतले घटेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ९४ करोड ९४ लाख ३७ हजार रुपैयाँको १ लाख ६७ हजार ७ सय ११ किलो चाँदी भित्रिएको थियो । जसबाट सरकारले १ अर्ब ५१ करोड ६५ लाख ९२ हजार रुपैयाँबराबर राजस्व संकलन गरेको थियो ।

तर, २०७९/८० मा २ अर्ब ७३ करोड ४ लाख २ हजार रुपैयाँको २८ हजार ३ सय ७५ किलो चाँदी नेपाल भित्रिएको थियो । जसबाट राज्यले ३२ करोड ६८ लाख ८९ हजार ६५ रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा ३२ अर्ब १२ करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको ५ लाख ७१ हजार १८९ केजी चाँदी आयात भएकोमा आर्थिक वर्ष २०७९/८० मा २८ हजार ३७५ केजी चाँदी आयात भएको छ जसको मूल्य २ अर्ब ७३ करोड ४ लाख २ हजार रुपैयाँ रहेको छ ।

चाँदीको परिणाम करिब ९५ प्रतिशतले घटेको छ भने मूल्यमाको आधारमा १५ प्रतिशतले कम हो । यसरी चाँदीको आयात घट्नु रहस्यमय रहेको व्यवसायीहरू बताउँछन् ।

चाँदीका तयारी समान तथा गरगहना भारतबाट अवैधानिक तरिकाबाट आउने भएकोले वैधानिक आयात कम भएको व्यवसायीहरू बताउँछन्।

सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष शाक्य भने चाँदीको कारोबारमा कुनै कन्ट्रोल नभएका कारण समस्या नभएको बताउँछन् । सुनको भने कोटा सिस्टम भएकोले अवैध कारोबार मौलाएको उनको तर्क छ ।

‘चाँदीँका धेरै सामान भारतबाट आउँछन् । खुला सीमाका कारण अहिले पनि चाँदी नेपाल भित्रिएकै छ’ शाक्य भन्छन्, ‘चाँदीका गहना तथा सामान यहाँ उत्पादन हुनेभन्दा पनि भारतबाट तयारी सामान नै आयात हुन्छन् ।’

चाँदीका हस्तकलाको निर्यात कम भएकाले पनि चाँदी आयात कम भएको उनको विश्लेषण छ । चाँदीका तयारी सामान र कच्चा पदार्थको रूपमा प्रयोग हुने चाँदीको भन्सार दरमा ठूलो अन्तर नभएकाले पनि चाँदीको हस्तकला उत्पादन र निर्यात महँगो बन्न पुगेको व्यवसायीहरू बताउँछन् ।

उनका अनुसार चाँदी पहिला खुला गर्दा बैंकले भन्दा पब्लिक सेक्टरले जथाभाबी झिकेर अपचलन र दुरुपयोग भएको पाइएको थियो । त्यो कुरा थाहा भएपछि चाँदीमा नियन्त्रण गर्न थालिएको हो ।

नेपाल राष्ट्र बैंकले चाँदीमा सीमा तोकेपछि नियन्त्रणमा आएको शाक्य बताउँछन् । यसरी सीमा तोकिँदा भने दसैंतिहारमा चाँदी अभाव भएको उनको भनाइ छ ।

‘तिहारमा भाँडावर्तन बनाउनलाई चाँदी नै किन्न पाइएन, त्यो अर्को समस्या हो,’ उनले भने, ‘हामीकहाँ नियमन निकायको ध्यान त्यहाँ पुगेन ।’

दसैंतिहार र लगनका बेला चाँदीमा फुक्का नीति अपनाउनुपर्ने उनी बताउँछन् । ‘अरूबेला अपचलन हुन्छ भनेर नियन्त्रण गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘तर, नियन्त्रण गरेको परिमाण सिजनका बेला पक्का गर्नुपर्ने हो । चाहिने बेलामा चाँदी नै भएन । नचाहिने बेलामा सामान भएर यूजफूल हुँदैन ।’

नचाहिने बेला सामान हुँदा त्यसको दुरुपयोग हुने शाक्य बताउँछन् । पूर्वपश्चिम सीमामा कडाइ छैन । अहिले पनि कारोबार खुला छाडेको पाइएको उनको भनाइ छ । उपभोक्तामा पनि महँगीले गर्दा उपभोग कमै भएको उनको तर्क छ ।

चाँदीको तुलनामा सुनको मूल्य र आयातमा निकै वृद्धि भएको शाक्य स्वीकार्छन् । ‘तीन वर्ष अगाडिको सुनको भाउ ६८ हजार र अहिले १ लाख २१ हजार निकै फरक देखियो,’ उनी भन्छन्, ‘सुन धेरै प्रयोग भइरहेको छ । सुनको तुलनामा चाँदी कम मूल्यको भएर त्यसको आँकडा नदेखिएको हो ।’

शाक्यका अनुसार पब्लिक सेक्टरले पहिलाको बजेट अगाडि चाँदी एकपटक मगाउँदा ४० हजार अमेरिकी डलरको मगाउन पाइन्थ्यो । त्यसो गर्दा थोरै मगाउनेको खर्च बढी पर्न जाने उनले बताए ।

‘४० हजार डलरमा नियमन गरेपछि मान्छेले चाँदी त्यति झिकाउन छाडे,’ उनले भने, ‘हामीले बजारलाई चाँदी पुगेन भन्दा–भन्दा त्यसलाई बढाएर ६० हजार डलर पुर्याइएको छ ।’

अब फेरि सुनका कुरा । सुनको मूल्यमा उच्च वृद्धि हुँदा अहिले सुनको कारोबार हुन नसकेको शाक्य बताउँछन् ।

‘काठमाडौंको सुन बजार अहिले घुम्न जाने हो भने व्यापारी र सेल्समेन गफ गरेर बसेको देख्न सकिन्छ,’ उनी भन्छन्, ‘पुस महिना त अफ सिजन नै भयो । गएको लगनको महिना पनि काम छ भन्नै नमिल्ने काम थियो । अहिले महँगी बढ्दो छ कमाइ घट्दो छ । सामान्य मान्छेलाई त हातमुख जोड्नलाई गाह्रो छ सुन किन्ने त आकासको तारा छुने जत्तिकै भयो । सुनचाँदी व्यवसायीले पनि अर्को विकल्प खोज्ने बेला आइसक्यो ।’

सुनचाँदी आयातबारे भन्सार विभाग के भन्छ ?

भन्सार विभागका सूचना अधिकारी पूण्यविक्रम खड्का दरबन्दी बढाएकाले महँगो भएर चाँदी आयात कम भएको हुन सक्ने बताउँछन् ।

‘चाँदीमा हामीले महसुल दर बढाएका थियौं,’ उनले भने, ‘हामीले ८५ रुपैयाँबाट महसुल दर बढाएर १ सय ७ रुपैयाँ बनाएका थियौं, एउटा कारण यो पनि होला अनि चोरी पैठारी पनि हुन नसक्ने भएपछि आयात कम भएको अनुमान छ ।’

नियामक राष्ट्र बैंकको कुरा यस्तो छ । राष्ट्र बैंक स्रोतका अनुसार चाँदीको सम्बन्धमा राष्ट्र बैंकले केही रेगुलेट गर्दैन । चाँदी आयातको कुनै पनि कोटा छैन । चाँदी एकपटकमा कति एलसी खोल्न पाउँछ भन्नेमात्रै हो । चाँदीको रेगुलेसन राष्ट्र बैंकले गर्दैन ।

‘यसमा डिमान्ड र सप्लाइकै कुरा आउँछ । सुनको डिमान्ड घट्दैन । चाँदीको घट्न सक्छ । किनभने, सुन हाम्रो संस्कृतिसँग जोडिएको हुनाले यसको माग घट्दैन, चाँदी महँगो भयो भने यो नलगाए पनि हुन्छ भनेर माग घट्न सक्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

मध्यमवर्गले पनि लगाउन थाले है हिराका गहना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.