बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट

  २०८० पुष २५ गते १६:५४     मञ्जरी पौडेल

काठमाडौं ।  दीपप्रकाश पाण्डे बीमा क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । बीमा क्षेत्रमा जीवनका तीन दशक बिताएका दीप उनकै शब्दमा ‘बाई डिफल्ट’ यो क्षेत्रमा प्रवेश गरेका थिए । बीमामा घुम्दा घुम्दै पाण्डे अहिले शिखर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भए । स्थापनादेखि लगातार दुई दशक कार्यकारी प्रमुख रहेका दीपले शिखर इन्स्योरेन्सलाई वास्तवमै शिखरमा पुर्‍याएका छन् ।

५६ वर्षअघि काठमाडौंको मध्यमवर्गीय परिवारमा जन्मिएका दीप पूर्वसचिव दुर्गा प्रकाश पाण्डेका छोरा हुन् । धेरैलाई थाहा छ भेट्रान बैंकर्स ज्योति प्रकाश पाण्डेको भाइ पनि हुन् दीप । उच्च माध्यमिक तह सकेर चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने सोच बनाएका उनी त्यसपछि विदेश जाने योजनामा थिए । त्यहीबेला घरमा उनको विवाहको कुरा चल्यो । त्यो समयमा जागिर नभएकालाई छोरी दिने चलन खासै थिएन । त्यही भएर उनले जागिर गर्दै त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरे । अनि लगत्तै बीमा क्षेत्रमा प्रवेश गरे ।

तत्कालीन एभरेष्ट इन्स्योरेन्स (हालको हिमालयन एभरेष्ट) बाट बीमा क्षेत्र प्रवेश गर्दा निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन, युनाईटेड, प्रिमियर र एभरेष्ट गरी ४ वटा मात्र निर्जीवन बीमा कम्पनी थिए । ती कम्पनीमा जनशक्ति सरकारी कम्पनी राष्ट्रिय बीमा संस्थानबाटै जान्थे । बीमा क्षेत्रमा अनुभवि जनशक्ति अभाव रहेकाले एभरेष्टले आफैं जनशक्ति विकास गर्दै जाने योजना बनायो । फाइनान्स एडमिनिस्ट्रेसनमा बसेका पाण्डे एकाएक टेक्निकल फिल्डमा गए । ‘सजिलो थिएन । तर पनि गर्दै गएँ, अनुभव बटुल्दै गएँ, सिक्दै गएँ,’ पाण्डे सुनाउँछन् । इन्स्योरेन्सको टेक्निकल फिल्डमा तीन पक्ष हुन्छ । अण्डरराइटिङ, रि-इन्स्योरेन्स र क्लेम (दाबी भुक्तानी) । पाण्डेले सुरुमा अण्डरराइटिङ बुझेकै थिएनन् । बुझे । सिके । र, विभिन्न कक्षासँगै बाहिर तालिम पनि लिए । यसपछि उनमा आत्मविश्वास बढ्दै गयो, अनुभव बटुल्दै गए ।

‘सही क्षेत्रमा आएछु भन्दा पनि यो क्षेत्रमा बाई डिफल्ट नै आएको हुँ, जागिर खाइहालौं, अनुभव बटुलौं भन्ने थियो । तर, ३२ वर्षको उमेरमा एभरेष्ट इन्स्योरेन्समा कार्यकारी प्रमुख भएँ । त्यतिबेला सीईओलाई महाप्रबन्धक (जीएम) भनिन्थ्यो । त्यो मेरो लागि जोखिमपूर्ण जिम्मेवारी थियो, लिएँ’ उनी थप्छन्- ‘पूर्ख्यौली सम्पत्ति नै जागिर नै हो भन्ने भयो । त्यसपछि कहाँ जानु ?’

बैंकको नियुक्ती अस्वीकार

‘विवाहभन्दा लामो समय भयो, २८ वर्षमा विवाह गरेको ३० वर्ष त बीमा क्षेत्रमै भइसक्यो,’ उनी हाँस्दै भन्छन्, ‘श्रीमतीभन्दा लामो सम्बन्ध इन्स्योरेन्ससँग छ ।’

विवाह गर्दा जम्मा तीन दिनमात्र अफिस बिदा लिएको हाँस्दै सुनाउँछन् पाण्डे । ‘दिनरात भनिएन । पूरै खटियो । चुनौती धेरै थियो । र, मनमा एउटै मात्र के थियो भने, जागिरमा सफल भइएन भने जिन्दगीको पाटो नै कता मोडिन्छ भन्ने डर थियो,’ पाण्डे स्मरण गर्छन् । त्यतिबेला उनका दाइ ज्योतिप्रकाश पाण्डे इन्भेष्टमेन्ट बैंकमा म्यानेजर थिए । दाइले बैंकमा राखिदिन्छु पनि भनेका थिए, तर दीपप्रकाशले मानेनन् ।

‘मैले अफिसर मागेको थिएँ, उहाँहरूले सुपरभाइजर दिनुभयो । तर, मैले नियुक्ति पत्र लिएर पनि फिर्ता गरिदिएँ । यहाँ म्यानेजर लेभलमा । त्यहाँ सुपरभाइजरमा फेरि फर्किएर त्यही पदमा जानुजस्तो नराम्रो केही लागेन । त्यसैले गइनँ,’ विगतका पल स्मरण गर्दै पाण्डे सुनाउँछन् ।

शिखरको सफलता

नेपालको एयरलाइन्स क्षेत्रका दुई हस्ती बीरेन्द्रबहादुर बस्नेत (बुद्ध एयर) र आङछिरिङ शेर्पा (यती एयरलाइन्स) ले पाण्डेलाई ‘केही गरौं, एउटा कम्पनी सुरु गरौं’ भनेपछि शिखर इन्स्योरेन्सको भ्रूर्ण पैदा भएको पाण्डे बताउँछन् । त्यसपछि एउटा मोडेलसँगै टीम बनाएर जाने योजना भयो । कसैले पनि १० प्रतिशतभन्दा बढी सेयर नराख्ने मोडेलमा लगानी जुट्यो । अरु बोर्डमा बसे । दीपले व्यवस्थापन समूहको नेतृत्व गरे ।

शिखर खुल्दा १५औं बीमा कम्पनी थियो । त्यसपछि दुईटा आयो । १७ भयो । फेरी ३ वटा आएर २० भएको हो । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड बनाउनु पर्छ भनेपछि १२ वटा कम्पनी मर्जमा गई ६ वटा भने र कुल संख्या १४ मा झरेको छ । १५ औं कम्पनीभित्र जन्मेको शिखर १२ वर्ष भित्रमा नम्बर वान कम्पनी बन्न सफल भयो ।

‘शिखर स्थापना भएको १२ वर्षमा हामी नेपालको नम्बर वान इन्स्योरेन्स कम्पनी बन्यौं’ पाण्डे भन्छन्- ‘बीमा कम्पनीलाई नम्बर वानमा पुर्याउने धेरै शीर्षकहरू छन् । सबैभन्दा पहिला २ सय ५० करोडको पुँजी पुर्‍याउने शिखर नै पहिलो हो । बिजनेशमा, नाफामा, लगानीको प्रतिफल वितरणमा, ब्राण्डिङ, नेटवर्किङमा, सर्भिसमा, रोजगारी सिर्जनामा, सेवाको गुणस्तरमा र नविनतामा । हेर्नुहोस् न, हाम्रो पोजिसन ।’

बुबा सचिव हुनुभयो । दाइ बैंकको सीईओ हुनुभयो । म पनि बैंकमा लागेको थिए भने सीईओ हुन्थे होला । तर समय धेरै लाग्थ्यो । ३२ वर्षमा नै बैंकको सीईओ हुन सक्दिन थिएँ होला ।

पुराना तथा नयाँ कम्पनीहरू मर्ज भएर ठूलो बन्दा र शिखर इन्स्योरेन्स मर्ज नगरिकन पनि अझै धेरै परिसूचकमा शिखर अब्बल छ, नम्बर वान मै छ । आजको दिनमा शिखरका १ सय १३ शाखा भइसकेको छ । थप ७ वटा खोल्ने तयारी छ । ६ सय ४० कर्मचारी छन् । लाखौं मानिसले सेयरमा लगानी गरेका छन् । उनीहरु सबैको विश्वासिलो नेतृत्व बनेका छन् दीप प्रकाश ।

यो सफलता सजिलै प्राप्त भएको होइन । ‘एउटा रहर, अर्को बाध्यता, अनि अर्को कम्पनीप्रतिको माया । कम्पनीको मात्र होइन, बीमा क्षेत्रकै माया छ,’ पाण्डेले मार्मिक कुरा सुनाए- ‘भन्न मिल्ला कि नमिल्ला । श्रीमतीलाई भन्दा बढी माया कम्पनीलाई गरियो ।’ हामीले पनि लेख्ने दृष्टता गर्यौं । उनी पुराना कुरामा अलि खुले । ‘शुरुका दिन मार्केटिङ गर्न जाँदा शिखर सानो कम्पनी हो भन्थे । यो ग्रुप तर त्यो ग्रुपको भन्थे, इन्स्योरेन्स र बैंक दुवै ग्रुप मिलेर गर्थे । सजिलो थिएन नि काम गर्न’ उनले भने ।

पाण्डे व्यवस्थापकमा मात्रै नभई मार्केटिङ्गमा पनि अब्बलरूपमा चिनिन्छन् । मार्केट क्रिएट गरेपछि आफै माकेटिङ्ग हुनेमा उनी विश्वस्त छन् । ‘मलाई बुढापाकाले भनेको जहिल्यै याद आउँछ, पोखरी खन न बाबु पोखरी खन्यो भने पानी त भरिइहाल्छ नि,’ उनी भन्छन्, ‘हामी पनि पोखरी खन्न थाल्यौं । हामीले किसानहरूको व्यवसाय बढ्ने खालको पूर्वाधार बनाइदियौं भने त्यसले मार्केट आफै बढाउने रहेछ ।’

एभरेष्ट इन्स्योरेन्सको त्यो गुन 

झन्डै एक दशक एभरेष्ट इन्स्योरेन्समा बिताएका पाण्डेले २० वर्षपछि पनि त्यसको गुन बिर्सिएका छैनन् ।

‘मलाई बीमा क्षेत्रमा चिनिन सक्ने मान्छे बनाएको नै एभरेष्टले हो । सायद, मैले मिहिनेत गरेँ होला, त्यो अर्को पाटो हो । तर, यो अवसर पाउनु भनेको मेरा लागि ठूलो कुरा हो’ उनले भने । मोहनगोपाल खेतान एभरेष्ट इन्स्योरेन्सको पहिलो अध्यक्ष थिए । उनी पाण्डेका गुरुजस्तै थिए । खेतानले ‘सक्ने काम त जसले पनि गर्छ । नहुने काम, अरूले गर्न नसक्ने काम सफलतापूर्वक गर्न सक्यो भने पो आफूलाई सक्सेस् लाग्छ’ भनेको पाण्डे सम्झिन्छन् ।

लक्की म्यान 

पाण्डे आफूलाई लक्की (भाग्यमानी) मान्छन् । उनी परिवारको कान्छो छोरा । त्यहीँबाटै आफ्नो लक सुरु भएको उनको बुझाइ छ । उनलाई बुबाआमाले कहिल्यै पनि होस्टलमा राखेनन् । माया बढी पाए । दाइले राम्रो गरेपछि उनी लक्की सावित भए किनभने दाइको नामबाट चिनिन्थ्यो । फलानोको छोरा, फलानोको भाइ भनेपछि लक्की भएको उनी बताउँछन् । पाण्डे आफ्नो सफलताको उचाइलाई लकसँग जोड्छन् ।

फाइनान्स एन्ड एडमिनिस्ट्रेशनमा म्यानेजर भएर सुरु गरेको, म्यानेजरबाट सिनियर म्यानेजर र तीन वर्षमा डीजीएमबाट कामु जीएम पाउनु लक नै भएको उनी सुनाउँछन् ।

‘बुबा सचिव हुनु भयो । दाइ बैंकको सीईओ हुनुभयो । म पनि बैंकमा लागेको थिए भने सीईओ हुन्थे होला । तर समय धेरै लाग्थ्यो । ३२ वर्षमा नै बैंकको सीईओ हुन सक्दिन थिएँ होला । बीमा क्षेत्रमा आएर नयाँ अनुभव भयो । राम्रो पनि गरेँ जस्तो लाग्छ ।’

छोटो कार्यकालले बीमा क्षेत्रमा असर 

आजको दिनमा बीमा कम्पनीलाई दीर्घकालीन लगानी पूर्वाधार क्षेत्रमा गर भनेर मार्गदर्शन गरिएको छ । तर, सीईओहरूले अल्पकालीन लगानी नै गर्न नसकेको पाण्डे बताउँछन् । सीईओको कार्यकाल ४ वर्षको हुन्छ । उनीहरु आफ्नै कार्यकालमा नाफा बढोस् भनेर प्रयास गर्छन् ।

नाफाको लागि सेयर बजारमा खेल्ने, बैंकमा राख्ने अभ्यास छ । नयाँ प्रडक्ट डेभलप गर्न रिसर्च गर्नुपर्छ । कर्मचारीलाई तालिम दिएर क्षमता विकास गर्नुपर्छ । कुनै पनि नयाँ प्रडक्टले तत्काल नतिजा दिँदैन । ‘चार वर्षमा संस्थामा कति नै काम गर्न सकिन्छ र ?’ उनले प्रश्न गरे ।

शिखरलाई नम्बर वानकै रेसमा राख्न सक्दो प्रयास गरिरहेका छन् दीप प्रकाश ‘नम्बर वानको रेस छोड्यो भने त नबसे पनि हुन्छ यो इन्डस्ट्रीमा । इन्डिकेट नै गर्ने हो भने सायद म रेस्ट गरेर बसेको पो छु कि,’ मुस्कुराउँदै उनले भने, ‘लङ डिस्ट्यान्स रेस गर्ने हो भने अलिकति रेष्ट गरेर पछि तुफान दौडिन्छु कि, के थाहा ?’

‘हाइड्रोपावरमा लगानी गरियो भने ४/५ वर्ष नभई रिटर्न आउँदैन, अझ बढी लाग्ला,’ उनी भन्छन्, ‘तर ४० करोड लगानी राख्दा १० प्रतिशतले मात्रै पनि ४ करोड नै भए पनि नाफा बढ्छ । ४ वर्षमा १७/१८ करोड कमाइन्छ । जलविद्युतमा लगानी गर्दा तत्काल नाफा देखिँदैन । त्यसैले सीईओहरुको ध्यान छिटो नाफा हुने क्षेत्रमा केन्द्रीत भएको छ ।’

नियम कानुन बनाउने काम रेगुलेटर (नियामक निकाय)ले अध्ययन गरेर ल्याउने हो । यसमा सीईओहरूले कुरा गर्दा स्वार्थको कुरा जोडिन्छ । तर, बीमाको बजार बढाउन नियामकले कम्पनीहरूको सीईओको कार्यकाल बढाउनु पर्ने उनी सुझाउँछन् ।

शिखरको उद्देश्य 

शिखर इन्स्योरेन्सको ४ वटा प्राथमिकता छन् । जनशक्तिको क्षमता विकास, बाहिर पैसा नपठाउने, लगानीकर्तालाई प्रतिफल र व्यावसायिक रुपमा ग्राहकलाई राम्रो सेवा दिने हो । व्यवसायिक ग्राहकलाई सर्भिस दिन नसके कम्पनीले ग्रोथ गर्न नसक्ने पाण्डे बताउँछन् । ‘ग्राहकको अपेक्षा भनेको बीमा गरिसकेपछि केही भएको अवस्थामा बीमाले हेरिदियोस् भन्ने हो,’ उनी भन्छन्, ‘बीमालाई दुःखको साथी भनिन्छ, तर दुःखमात्रै होइन अन्य अवस्थामा पनि बीमाको साथ आवश्यक हुन्छ ।’

इन्स्योरेन्स क्षेत्रमा जति बीमा दाबी तिर्यो उति नै बिजनेस विस्तार भएको अनुभव सीईओ पाण्डेसँग छ । बीमा दाबी तिर्यो भने बजार बढ्नेमा पाण्डे विश्वास गर्छन् । कारण बीमाले घाटा तिर्ने रहेछ भन्ने हो । त्यसमा कन्फिडेन्स आएपछि अरु जोखिम जहाँ जसरी पनि कम गर्न सकिने बुझाइ उनको छ ।

सहकर्मीका ‘नरिवल’ 

‘सहकर्मीहरुले मलाई नरिवल भन्छन् । बाहिरबाट हेर्दा कडा भित्र नरम । कडा हुन मलाई मेरो बुबाले सिकाउनु भएको हो । तर, परिवारिक संस्कृतिमा त्यो नरमपन पनि छ,’ उनी भन्छन्, ‘राम्रोसँग चिनेको मान्छेले मलाई यो नरिवल हो भन्छन् ।

मैले गाली गर्दा पनि कोही रिसाउँदैनन्, दीप सर हो पछि माया गर्छ भन्छन् । मसँग संगत गर्नेले यो मान्छे नराम्रो हो है भनेर कसैले भनेको जस्तो मलाई लाग्दैन ।’ इन्भेष्टर्सलाई आफू हार्ड वर्किङ, म्यान उथ इन्टिग्रिटी एण्ड डिटरमिनेशन वीथ डेलिभरको नामले चिनाउने पाण्डे भन्छन्, ‘आश छोड्नु हुन्न भन्छन् नि म त्यस्तै छु । आई एम अ भेरि गुड इन क्राइसिस् म्यानेजर ।’

नम्बर वानको ताज कायम गर्न त्यो दौड 

करिब ७/८ वर्षदेखि शिखर इन्स्योरेन्स विभिन्न इन्डिकेटरमा नम्बर वानमा छ । पछिल्लो समय कम्पनीहरू एक आपसमा मर्जरमा गएर एकदमै नजिकको प्रतिस्पर्धी भएर आएका छन् । यो अवस्थामा शिखरलाई नम्बर वानकै रेसमा राख्न सक्दो प्रयास गर्ने दीपको योजना छ । ‘नम्बर वानको रेस छोड्यो भने त नबसे पनि हुन्छ यो इन्डस्ट्रीमा । इन्डिकेट नै गर्ने हो भने सायद म रेस्ट गरेर बसेको पो छु कि,’ मुस्कुराउँदै उनले भने, ‘लङ डिस्ट्यान्स रेस गर्ने हो भने अलिकति रेष्ट गरेर पछि तुफान दौडिन्छु कि, के थाहा ?’

पाण्डे टिमवर्ककै कारण कम्पनी यो स्थानसम्म आइपुगेको बताउँछन् । ‘मलाई कहाँ कन्फिडेन्ट छ भने मैले जुन पोखरी खनेको छु, मेरो जुन टिम छ, सबै एउटै पाटोमा छन् । त्यसमा मलाई विश्वास छ । उहाँहरूले नै गर्दा कम्पनी आजको दिनमा यो स्थानमा छ । टिम एकदमै स्ट्रङ छ,’ दाबीका साथ उनी भन्छन्, ‘आई थिंक आई क्यान अफोर्ड टु डु द्याट । हाम्रो टाग्रेट लङ रेसकै हो । लङ रेसमा कोही आए भने कहिलेकाहीँ सँगसँगै दौडिन्छु होला, तर त्यो बेलासम्म मेरो थकाइ मेटिइसक्छ, म अगाडि दौडिन सक्छु जस्तो लाग्छ । गर्नुपर्छ भन्ने वातावरण पनि छ ।’

जति एक्टिभ, त्यति क्वालिटीको लाइफ 

५६ वर्षका उनी । ६० देखि ७० वर्षको उमेर प्रडक्टिभ हुन्छ भन्ने उनी पनि स्वीकार्छन् । ‘अबको जीवनशैली हेर्ने हो भने आफूलाई जति एक्टिभ राख्यो त्यति क्वालिटी अफ लाइफ मेन्टन हुन्छ की जस्तो लाग्छ मलाई,’ उनी भन्छन् ।

पाण्डेले अब रिटायर्डमेन्ट नभई अन्त नसोच्ने बताए । ‘आजको दिनमा मैले हेर्ने भनेको मेरो छोराछोरीको फ्युचर हो । मलाई मेरो बुबाले सिकाउनु भएको पनि त्यही हो,’ उनी भन्छन्, ‘हामीले कहिल्यै पनि लाउने खानेदेखि अन्य कुनै कुरामा कम्पर्माइज गर्नु परेन । मैले पनि आफ्नो छोरा छोरीमा त्यही गर्न खोजेको हो ।’

पाण्डेको श्रीमती सञ्जिता पाण्डे बैंकर हुन् । पाण्डेका छोराछोरी दुई जना छन् । छोरी डाक्टर हुन् । अहिले यूकेमा मास्टर्स गर्दै छिन् । छोराले पनि यूकेबाटै मास्टर्स गरेर आएका छन् । अहिले उनी स्टार्टअपमा फोकस छन् ।

‘मैले उनीहरूको फ्युचर हेर्न हो । अरु भनेको लाइफमा जति गरे पनि पुग्दैन । इच्छा चाहना बढ्दै जान्छ,’ उनी हास्दै सुनाउँछन्, ‘तर, आजको दिनसम्म परिवार लिएर घुम्न एकपटक मात्रै गएको छु । हेरौं रिटायर्ड भइयो भने घुमघामको लाइफ सुरु होला ।’ यद्यपि, पाण्डेले आफ्नो बाँकी जीवन पनि बीमा क्षेत्रमै बिताउने योजना बनाएका छन् । देशविकासबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.